ताजा अपडेट »

अद्भुत क्षमताका दलबहादुर

शुक्रबार, २१ भदौ २०८१, ०९ : ४८
250 Shares
शुक्रबार, २१ भदौ २०८१
250 Shares

पाल्पा जिल्लाको तिनाउमा जन्मिएका दलबहादुर गुरुङ सरका बारेमा सोच्दै छु । झ्याप्प हेर्दा यो मान्छे  के नै होला र जस्तो लाग्ने तर बुझ्दै जाँदा एउटा अद्भुत पात्र । धेरै ठुला कुरा पनि छैनन्, लगाउने, खाने, अरूको अगाडि ठुलो मान्छे देखिनुपर्ने कुनै शौक पनि छैन । आफ्नै गाउँ ठाउँको परिवेशलाई  असाध्यै माया गर्ने आफ्नै वरिपरिका भुइँ मान्छेका पिर, व्यथा र सङ्घर्षका कथालाई आफ्ना कलमले सबैलाई चिनाउँछन् ।

यति मात्रै होइन, पाठकको खडेरी परेको आजको अवस्थामा लेखकका कृतिहरूको गहिरो अध्ययन गरी थोरै शब्दमा कृतिको सार समेट्ने कलाले लेखकको र पाठकको मन जितेका छन् । सलल बगेको लेखन शैलीले रोकिने मौका नै नदिई गन्तव्यमा ल्याई पुर्‍याउँछन् । 
वन,वातावरणमा अत्यन्तै रुची राख्ने दल सर सच्चा प्रकृति प्रेमी हुन् । वन र नदीको संरक्षण कसरी गर्न सकिन्छ भनेर यसको अध्ययन र अनुसन्धानमा सधैं कर्मशील देखिन्छन् । 

वातावरण संरक्षणमा आफ्नो रुची भएकै कारण दल सरसङ्ग चिनजान भयो । कार्यक्षेत्र एउटै भएका कारण दल सरलाई नजिकैबाट नियाल्दा एउटा अर्ग्यानिक मान्छे भन्न रुचाउँछु । मान्छेका दुःख सुखलाई नजिकैबाट नियालेर उनीहरूका भावना र पीडालाई नजिकैबाट बुझ्छन् । आफ्नो कामलाई सत प्रतिशत बनाउन कुनै कसर बाँकी राख्दैनन् ।

सादा जीवनशैली, सच्चा व्यवहार र कर्मशील सोचका धनी दल सर साँच्चिकै अद्भुत लाग्छन् । चौरासी वटा सामुदायिक वनको छाता सङ्गठन, सामुदायिक वन समन्वय समितिको नेतृत्व गरेका दल सर दिनरात आफ्नो काममा खटिरहेका भेटिन्छन् ।अँ साँच्चै उनी त नेपाली भाषा र साहित्यप्रति त्यत्तिकै  अनुराग भएका व्यक्ति पनि हुन् ।

दल सरका कविता पनि असाध्यै मीठा लाग्छन् । साहित्य उनको रुचिको विषय हाे ।नाटक,मुक्तक,कविता,यात्रा संस्मरण,चिठी,बाल गीत र सफलताका कथा समेटिएका किताबहरू करिब पौने दर्जन लेखेका छन् । उनले बाल अधिकार टेली फिल्मकाे कथा लेखेका छन्  । थुप्रै वृत्तचित्रमा स्क्रिप्ट लेखेका छन् । "दाइजो","भ्रष्टाचार","म फर्की आउने छु" जस्ता नाटक प्रदर्शन भइसकेका छन् । 

उनले शिक्षक भएर दुई दशक बढी सेवा गरेका छन् । स्कुले बालबालिकाप्रति विशेष चासो राख्छन् । सहकारी अभियान चलाएर  गाउँलेहरूको आर्थिक समृद्धिको काम गरेका छन् भने अहिले पनि सोही अभियानमा छन् । तालिम दिन्छन्, केही गर्नको लागि उत्प्रेरणा जगाउँछन् । पर्यापर्यटनमा लामो अनुभव छ । सुके ताल पर्यापर्यटन, हाेमस्टे र देशका धेरै पर्यटकीय गन्तव्यहरू चिनाएका छन् । 

दलबहादुर सर यति बेला पत्रकारिता र लेखनका काममा व्यस्त छन् । २०८१  सालभरिमा उनले ८१ वटा किताब पढ्ने अठोट गरेमध्ये आजका दिनसम्म २५ वटा किताब पढिसकेका छन् । पढेर समीक्षा लेख्छन् । स्टोरी लेख्न रुचाउँछन् । "संरक्षण यात्रा" ,"गाउँको डायरी" र "स्कुले जीवन" प्रकाशोन्मुख कृतिका पाण्डुलिपि हुन् । उनले वन,वातावरण ,शैक्षिक एवम् साहित्यिक पुरस्कारहरू समेत प्राप्त गरिसकेका छन् । प्रशंसा र सम्मान पत्रले चुर्लुम्मै डुबेका छन् आफै ।

आफ्नो कामले र कलमले सबै सामु चिनिएका दल सर आफ्नो ठाउँ बने देश बन्छ भन्ने कुरामा कटिबद्ध छन् । बनाउन खोजेका छन् त केवल आफ्नै गाउँ ठाउँ । उनीजस्ता अथक साधक र श्रमजीवी योद्धाको महत्त्वपूर्ण भूमिका समाज रूपान्तरणको पक्षमा सदासर्वदा भइरहने छ भन्ने कुरामा कुनै शङ्का छैन ।

गंगा पाेखरेल
लेखकको बारेमा
गंगा पाेखरेल
स्तम्भकार