ताजा अपडेट »

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

शुक्रबार, २१ भदौ २०८१, ०७ : २३
38 Shares
शुक्रबार, २१ भदौ २०८१
38 Shares

काठमाडौँ । धर्म शास्त्रीय रूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।

व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधू पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् बताउँछन् ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरी घाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदान विपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । 

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियfको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् भट्टराईले सुनाए ।  

“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ”, उनले भने । “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्म शास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ । स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिए । श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका उनले बताए । 

“अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरूले असल वर र बधू प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”– उनले भने । नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरूको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्त्व छ ।

व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्म शास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्म शास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्म शास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई सङ्कुचित अर्थमा लिन नहुने पनि उनले बताए । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो ।  

पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घर लगायत धर्म कर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्म कर्मका काम महिलाले नै गर्छन् ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले आइतबार व्रतालुहरूले मीठा मीठा परिकार दरका रूपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेष गरी माइती एवं दाजुभाइले छोरी चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।

महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तक भडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको  छ ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीहरूले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा तोकिएको छ । आइतबार दर खाएपछि औपचारिक रूपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्त ऋषिको पूजा गरी तीज समापन हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।