ताजा अपडेट »

रुपन्देही व्यापार संघलाई बदमासी आरोप : १ करोड ३८ लाख रुपियाँ नदिएको भन्दै मुद्दा

विहीबार, २० भदौ २०८१, १७ : ३७
330 Shares
विहीबार, २० भदौ २०८१
330 Shares

बुटवल । सम्झौता बमोजिमको एक करोड ३८ लाख रुपियाँ नदिएको भन्दै रुपन्देही व्यापार संघविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।बायोमेड इन्टरनेश्नल काठमाडौंले संघविरुद्ध सम्झौता बमोजिमको रकम पाउनुपर्ने माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

रुपन्देही व्यापार संघले भने रुपन्देहीमै मुद्दा चल्नुपर्ने भन्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलाशमा निवेदन दिएको छ । रुपन्देही व्यापार संघले २०७८ साउन २६ गते लुम्बिनी प्रादेशिक अस्पतालसँग ब्लड बैंक स्थापनाका लागि सम्झौता गरेको थियो । रुपन्देही व्यापार संघको लगानी तथा लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक एवं भौतिक व्यवस्थानमा अस्पतालमा ब्लड बैंक स्थापनाको सम्झौता भएको थियो ।

सम्झौता पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालकातर्फबाट तत्कालीन अध्यक्ष सुर्य बहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र तत्कालिन मेसु डा. राजेन्द्र खनाल तथा रुपन्देही ब्यापार संघका तर्फबाट तत्कालीन अध्यक्ष यमलाल लोहनी, महासचिव दयानिधी भण्डारी र कोषाध्यक्ष दिपक अधिकारीले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार ब्लड बैंकका लागि आवश्यक पर्ने लगानी व्यापार संघले गर्ने उल्लेख थियो ।

सोही अनुसार व्यापार संघले सामान आपूर्तिको लागि बायोमेड इन्टरनेश्नल काठमाडौंसँग १ करोड ५८ लाख रुपियाँको सम्झौता गरेको थियो । सम्झौता अनुसार संघले बायोमेड इन्टरनेश्नलसँग ब्लड बैंकका लागि आवश्यक उपकरण खरीद गर्यो । ती उपकरण अस्पतालमा स्थापना समेत गरिएको बायोमेड इन्टरनेश्नलका प्रमुख कार्यकारी अधिकृत श्रीप्रसाद गेलालले जानकारी दिए । “ती उपकरण अस्पतालमा इन्स्टलेशन पनि भयो, इन्स्टलेशन रिपोर्टमा हस्ताक्षर पनि भयों, तर पछि सम्झौता कार्यान्वयनमा नआएपछि उपकरण के कसो भए, थाहा भएन”–उनले भने । उपकरण खरीद बापत संघले २० लाख मात्र रकम दिएर बाँकी रकम दिन बेबास्ता गरेपछि सप्लायर्शले अदालत गुहारेको हो । यता, खरीद गरिएका उपकरण संघले हालसम्म अस्पतालमा हस्तान्तरण समेत नगरेको अस्पताल स्रोतले बतायो ।

व्यापार संघले यसका लागि लगानी जुटाउने क्रममा लुम्बिनी प्रदेश सरकारबाट १५ लाख र बुटवल उपमहानगरपालिकाबाट १० लाख रुपियाँ ल्याएको थियो । दुई ठाउँबाट ल्याएको २५ लाख मध्ये २० लाख रुपियाँ संघले सप्लायर्शलाई दिएको थियो ।

यता, अस्पतालमा भएको नेतृत्व फेरबदलसँगै उक्त सम्झौता अलपत्र पर्यो । राजेन्द्र खनालपछि डा. इन्द्र ढकाल, सुदर्शन थापा हुँदै अहिले फेरि डा. इन्द्र ढकाल मेडिकल सुपरिटेण्डेन्ट भए । अस्पतालको नेतृत्वले उक्त सम्झौतामा त्रुटी देखाउँदै कार्यान्वयन गर्न नसकिने निष्कर्षसहित सम्झौता कार्यान्वयन अगाडि बढाउन चाहेन । “सम्झौतामा ब्लड बैंकका लागि कर्मचारी भर्ना समेत व्यापार संघले गर्ने उल्लेख थियो, त्यस्तै ब्लड बैंक अस्पतालका कर्मचारीले सञ्चालन गर्न सकिने अवस्था पनि थिएन, देशभरका अस्पतालमा कहीं कतै ब्लड बैंक स्थापना गरिएको छैन”-अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. ढकालले भने ।

एक कार्यक्रमको आयोजना गरी संघले उपकरण हस्तान्तरण गरेर अस्पतालले सुरक्षित साथ राख्ने र अस्पताल भवन निर्माण सम्पन्न भएर १२ सय शैयामा रुपान्तरण भएपछि ब्लड बैंक सञ्चालन गर्न नसकिए पनि यहीबाटै रक्तदानको व्यवस्थापन गर्न सकिने गरी अगाडि बढ्न सकिने उनले बताए ।

यता, रुपन्देही व्यापार संघले भने अस्पतालले सम्झौता तोडेको आरोप लगाएको छ । “ब्लव बैंक सञ्चालनका लागि गरिएको सम्झौता अस्पतालले नै एकतर्फी रुपमा तोडेको हो”–संघका अध्यक्ष दीपक अधिकारीले भने ।तीन वर्षअघि भएको सम्झौतामा अस्पतालको हाताभित्र स्थापना हुने ब्लड बैंकका लागि भौतिक संरचना अस्पतालले बनाउने र त्यसलाई आवश्यक पर्ने उपकरण रुपन्देही ब्यापार संघले उपलब्ध गराउने सम्झौतामा उल्लेख थियो ।

ब्लड बैक सञ्चालनका लागि ७ सदस्यीय सञ्चालक समिति गठन गर्ने जसमा रुन्देही व्यापार संघका तर्फबाट ३, अस्पताल विकास समितिबाट २, स्थानीय सरकार बुटवल उपमहानगरपालिकाबाट १ र जिल्ला प्रशासनबाट एक जनाको प्रतिनिधित्व रहने सम्झौतामा उल्लेख थियो । यसैगरी अस्पताल प्रशासन र लेखा शाखाबाट १-१ जना अनिवार्य आमन्त्रित सदस्य राख्ने व्यवस्था सम्झौतामा गरिएको थियो ।

सो परियोजनाबाट आर्जन हुने आय सोही परियोजना सञ्चालन, मर्मत संहार र विकासका लागि खर्च गरिने पनि सम्झौतामा उल्लेख थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।