साउने संक्रान्ती देखी नै तिज लाग्दथ्यो । तिजको लहर आयो बरिलै भन्ने बोलको गीतले अहीले पनि अतीतको तिजको झल्को आइरहन्छ । बेलुकीपख खाना खाएर वल्तिर पल्तिरका दिदीबहिनी जम्मा भई गीत गाएर नाच्दा कति रमाइलो हुन्थ्यो ।
आफ्ना पिर व्यथा, सुख दुखका अनुभवहरू, कतै घटेका घटनाहरू टपक्क टिपेर गीतको माध्यमबाट पोख्नुहुन्थ्यो । रनजु रनजु गाइका खुर लर्के भन्ने गीत गाएर आमाहरू खुट्टा लर्काउँदै नाचेको मेरो मानसपटलमा अहिले पनि घुमी रहन्छ । तिजको राम(मेला)मा कहिले बारीको मकैमा झुन्डिएको त कहिले मल्खाताको झिक्रोमा झुन्डिएको काँक्रो सिङ्गो क्र्याम क्र्याम खादै तिजको डाँडोमा गइन्थ्यो।
पोखरी, पिपलधारा, खनदहमा तिजको राम हुन्थ्यो । पाकुमदुम पाकुमदुम मादलको साथमा उत्साह र ऊर्जाले भरिएर गाइएका मिठा मिठा स्वरले सज्जीएका गीतमा कहिले एकल त कहिले जोर (दुई जना) नाचको प्रतिस्पर्धा नै हुन गर्दथ्यो ।
सयौँ महिलाहरू विभिन्न बस्त्रअलंकार, गरगहना, नयाँ लुगा लगाएर तिजको मेलामा जाने हतार गरेको याद आज पनि झलझली आउँछ । गाउँका चेलीहरू माइती सम्झेर वर्ष दिनमा बाबाआमा भेट्न आउने, आफ्ना पुराना समकालिन साथीसंगी भेट्ने, तिजका रमाइला गीत गाउने नाच्ने गर्दा गाउँ नै उल्लासमय हुन्थ्यो । तिजको पञ्चमीको दिन खनदहमात्र राम हुन्थ्यो, पञ्चमीको पूजा सकिएपछि हस्याङफस्याङ गर्दै तिजको राम हेर्न गइन्थ्यो ।
मेलामा पाकेको जेरीले बास्नाले तनक्क तान्थ्यो । नयाँ राम्रा लुगा लगाएर दिदि बहिनीहरु जान्थे । रातो साडीले होला, मेला राताम्मे देखिन्थ्यो । लालु मै…पालु मै…धुर्व तारा यस्तै यस्तै विभिन्न थेगोवाला तिजका गीतहरू गाइगन्थे ।
बहुदल आएपछि अलि बढी राजनीतिका गीतहरू गाइगन्थे । गीतका माध्यमबाट आफ्नो पार्टी र नेताको अलि बढी नै देवत्व गर्दथे भने विपक्षी पार्टीको खैरो खनिन्थ्यो । राजनीतिले त्यति बेला पानी बाराबार भयो भन्ने हामी सुन्थ्यौ। दलका धेरै युवाहरू डनको भूमिका गर्थे । कहिलेकाहीँ तिनै डनले तिजको राममा वितण्डा मच्चाउँथे । भाग दौडले बुडाबुडी र केटाकेटीको बिचल्ली हुन्थ्यो । बुद्धि भन्दा बल र डाङ्गडुङ्ग बढी नै चल्थ्यो । जे होस तिजको राम(मेला) छुटाइन्नथ्यो कहिले पनि ।
तिज वास्तवमा नारी जागरण र सशक्तीकरणको एउटा बलियो अभियानको रूपमा नेपाली समाजमा जरा गाडेको छ। तिजका गीतले आम महिला, आमा, दिदीबहिनी, छोरी चेलीको आफ्नो भोगाइ मात्र नभएर आफ्नो घर परिवार, समाज, सिङ्गो मूलक र विश्वव्यापी अवस्था, परिस्थिति बारे तत् तत् अवस्था र देश काल समयको खुल्ला रूपमा उजागर गर्छ।
तिज गीतका शब्द, हरफ, शैली, भेषभुसा, लवाइखवाई, कलाकौशल, अभिनयले त्यो बेलाको समय, सन्दर्भ, परिवेश ,पहिचानको प्रतिबिम्ब गर्दछ। समाज रूपान्तरणका आयामहरु र त्यसका लागि सो समयका पुस्ताले खेलेको भूमिकाको बारे पनि गीत, भिडियोबाट जानकार हुन्छौ ।
बर्सेनि तिज आउँछ, जान्छ । छोरी चेलीलाइ घर माइत गराउँछ। यसले घर र माइत दुई घरको संस्कारलाइ जोड्छ। त्यति मात्र होइन दुई समाजलाई अन्तर घुलन बनाउँछ। समाजलाई जोड्छ। देशलाई जोड्छ। नाताको सन्जालले समाजमा आत्मीयता, सहिष्णुता, सम्मानलाई अझै विस्तार र विकास गर्छ । पूर्व-पश्चिम उत्तर-दक्षिण सबै तह र तप्काका मानिसमा सहअस्तित्व, बन्धुत्वको भावना, जनजन बिचको सम्बन्धलाई थप उचाइमा पुर्याउछ।
तीजलाई अझै सभ्य, अझै भव्य र विश्वव्यापी बनाउन यसका विकृति र विसङ्गतिलाई निरुत्साहित गर्दै यसको अर्ग्यानिक मौलिकतालाई प्राथमिकता राखेर उत्साह, उमङ्ग, उल्लासमय तवरले तिज पर्व एक अभूतपूर्व उत्सवको रूपमा मनाउनुपर्छ।हरितालिका तिजको तपाई सबैलाई शुभकामना !!
प्रतिक्रिया