ताजा अपडेट »

लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

बुधबार, १९ भदौ २०८१, १८ : ५७
92 Shares
बुधबार, १९ भदौ २०८१
92 Shares

भैरहवा । लायन्स क्लब अफ भैरहवा लिगेसीले सम्मान तथा तीज मिलन कार्यक्रम गरेको छ । क्लबले सिद्धार्थनगर क्षेत्रमा रहेका सरकारी कार्यालय, अस्पताल र सामूदायिक विद्यालयमा सेवारत कार्यालय सहयोगी र सरसफाई कर्मचारीहरुका लागि सम्मान तथा तीज मिलन कार्यक्रम गरेको कार्यक्रम संयोजक तथा क्लबका द्वितीय उपाध्यक्ष नारायण प्रसाद कोइरालाले बताए ।

उनले क्लबले आफ्नो स्थापना दिवस फरक ढंगले मनाउने प्रयास अनुसार हरितालिका तीजको अवसरमा यो कार्यक्रम गर्ने बताए । क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले दिदीबहिनीहरुको हौसला प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्ने जमर्को गरेको बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले मानिसले मानिसलाई सेवा गर्नुपर्छ भन्ने लायन्सको पवित्र उद्देश्य भएको बताए । उनले भने, ‘लायन्सले के भन्छ भने तपाई सम्मानित हुन चाहनुहुन्छ भने अरुलाई सम्मान गर्नुहोस् । लायन्स क्लब अफ भैरहवा लिगेसीले स्थापनाकालदेखि नै उत्कृष्ट कार्य गर्दै आएको उनले बताए । डिष्ट्रिक गभर्नर प्रधानाङ्गले भने, ‘यो क्लबले अझ राम्रो काम गरोस् ।’

त्यस्तै एरिया चिफ कोर्डिनेटर अभिनव मयूर कसौधनले लायन्स भैरहवा लिगेसीले स्थापनाकालदेखि नै नौलो कार्यक्रम गर्दै आएको बताए । उनले क्लबले मेला–महोत्सवको आयोजना समेत गरिसकेको स्मरण गरे । लायन्स भैरहवा लिगेसी वर्ष २०२४र०२५ का अध्यक्ष राजन शुक्लाले भने, ‘यो कार्यक्रमको आयोजना गर्ने प्रेरणा दिने क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायलाई धन्यवाद दिन चाहन्छु ।’ उनले सरकारी कार्यालय, अस्पताल र सामूदायिक विद्यालयमा सेवारत कार्यालय सहयोगी र सरसफाई कर्मचारीहरुलाई सम्मान गर्न पाउँदा खुसीको अनुभुति भएको बताए । उनले मानव भएपछि मानवतालाई बचाइराख्नुपर्नेमा जोड दिए ।

भीम अस्पतालमा कार्यरत दुर्गा पन्थीले कार्यव्यस्तताले माइत जान नपाएको अवस्थामा कार्यक्रममा सहभागी गराएको भन्दै लायन्स क्लब अफ भैरहवा लिगेसीप्रति आभार व्यक्त गरिन् । उनले भनिन्, ‘यो कार्यक्रममा सहभागी भएर विभिन्न कुराहरु सिक्ने अवसर पाएँ ।’ लायन्स भैरहवा लिगेसीका सचिव गोविन्द उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।