ताजा अपडेट »

नारीहरुको पर्व हरितालिका तीज

मंगलबार, १८ भदौ २०८१, १६ : ५७
124 Shares
मंगलबार, १८ भदौ २०८१
124 Shares

तीजको सुरुवात यती नैे बेलादेखी प्रारम्भ भयो  भन्ने एकीन मिति निर्धारण भएको पाइदँैन । तथापी भारत वर्ष भित्रको उत्तरी भेगमा पौराणीक कालदेखी नै चलनचल्तीमा यो संस्कार रहेको संस्कृतविद  तथा यसका जानकारहरु बताउँछन् ।

नेपाली समाजमा यो पर्वको  थालनी सनातन रुपमा विकास भएको हुनाले तीज विशुद्ध नेपाली महिलाहरुको पर्व हो भन्न सकिन्छ । नेपाली जनजीवनको सामाजीक, आर्थिक, धार्मिक र सांस्कृतिक पहिचान आदि व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरुको इतिहासलाई वोकेको छ । 

सामान्य अर्थमा यो नारीवादी, श्रीङ्गारमुखी र प्रकृतिवादी पर्व पनि हो ।  धार्मिक कथन अनसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत वसेकी र उनको व्रत पुरा भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरुले हरितालिका तीजको रुपमा मनाउँदै आएका छन् । यही मान्यतालाई अनुसरण गर्दै विवाहित महिलाहरु आफ्ना श्रीमानको दिर्घायु र अविवाहित महिलाहरु सुयोग्य वर पाउँ भनी तीजको व्रत वस्ने प्रचलन छ । 

तीज हरेक वर्ष भाद्र शुक्ल तृतियाका दिन पुजाआजा नाचगान तथा विविध कार्यक्रम गरी  मनाईन्छ । अघिल्लो दिन अर्थात द्धितिया तिथीका दिन दर खाने र भोलीपल्ट तीजका दिन व्रत वस्ने चलन छ । त्यसै गरी तेस्रोदिन अर्थात ऋषीपञ्चमीका दिन व्रतालु महिलाहरुले विहानै उठी ३६५ वटा दतिवनले दाँत माजी शरीरमा माटो लेपन गरी स्नान गर्ने प्रचलन रहेको छ ।  हिन्दुदर्शनमा उल्लेख भए अनुसार हाम्रा सप्तऋषि मध्य  अरुन्धती, कश्यप, अत्री, भारद्धाज, विश्वामित्र, गौतम, जमदग्रितथा वशिष्ठ ऋषिको  पुजा आरधाना गर्ने गरिन्छ । यो दिनमा दत्तचित भई ब्रत बसेमा रजश्वलाका बखत भए गरेका सम्पुर्ण दुष्कर्महरु नष्ट हुने धार्मिक विश्वास रहि आएको पाइन्छ ।  

तीजमा महिलाहरुले लगाउने वस्त्र तथागहना र पहिरनको आफ्नै महत्व रहि आएको छ । तीजका दिन लगाउने रातो सारी सुख समृद्धि एवं सहासको प्रतिक मानिन्छ । त्यसैगरी गलामा लगाउने रातो पोतेले आनन्द प्रदान गर्दछ भने निधारमा लगाउने रातो टिका सौभाग्यको प्रतिकको रुपमा मानिन्छ । स्वच्छ हृदय लिएर तीजको व्रत वसे आ–आफ्नो मनोकाक्षां पूर्ण हने धार्मिक विश्वास रहि आएको पाईन्छ । 

तीज पर्वले समाजमा घटेका घटनाहरुलाई स्वतन्त्र रुपमा व्यक्त गर्ने  वातावरण सृजना गर्नका साथै आपसी प्रेम र सत्भाव वढाउने कार्य गर्दछ । विवाह भएर टाढाटाढा पुगेका छोेरीचेली लाई लिन माइतीबाट बुवा वा दाजुभाई गएर सकेसम्म लिएर नै फर्कने प्रचलन अझै पनि पहाडी भूभागतिर रहि आएको छ भने शहरी भेगमा  सुचना र संचारको असाधरण बिकासका कारण यो प्रचलन हराउँदै गएको छ । 

वास्तवमा हिजोका चलनचल्तीका कैयौ संस्कार, संस्कृतिले माईती र चेलीको सुमधुर सम्वन्धलाई प्रतिविम्वीत गर्ने गरेको पाका पुराना मान्छेले बताउँदै आएका छन्  । आ–आफ्नो कर्म घर पुगेका दिदी वहिनीहरु विच भेट गराएर यो पर्वले दुखदुःखका कुराहरु साटासाट गरी मनको वह पोख्ने र मन हलका पार्ने अवसर समेत जुटाउँने गर्दछ । नेपालमा रहेका हिन्दु महिलाहरुले मात्र मनाउने तीज पर्व आजकाल विभिन्न समुदायका महिलाहरुले पनि मनाउने गरेको पाइन्छ । 

यसले हाम्रा धार्मिक चाढपर्वको महत्व र गरिमा वढाएको छ । कामवाट केहि समय विश्राम  लिएर घर परिवार साथीभाई, ईष्टमित्र जमघट भई नाचगान गरी मनाईने यो पर्वको महत्वपुर्ण विशेषता हो । पहिलाका मौलीक तीज गीतहरुमा छोराछोरी बिचको विभेद, छोरीले पराईघरमा भोग्नपरेका पिडा, सासुवहारी विचको झैझगडा, समाज र देसमा घटेका विभिन्न घटनाहरु आदी विषयहरु समावेश गरिन्थे भने आजकाल रेडियो, मोबाईल, टेलिभिजन लगाएतका श्रब्यदृश्य सामाग्रीहरुको पहुँच र उपलब्धताका कारण आधुनिक शैलीका गीत र नृत्यहरु गुञ्जीन  थालेको पाईन्छ  । 

कतिपय संघ संस्थाहरुले महिनौ अगाडी वाट नै तीज गीत प्रतियोगीता र दर खाने कार्यक्रम आयोजना गर्ने गरेको पाइृएको छ यसले तीजको खास अर्थ र महत्वलाई मात्र मारेको  छैन मौलीक संस्कार र संस्कृति बोकेको यस पर्वलाई अवमुल्यन र अनादार  समेत गरेको छ । आफुलाई आधुनिक र सभ्य भन्नेहरु होटेल र पार्टी प्यालेसमा भेला भएर पाटी आयोजना गरी मदिरामा लठ्ठिने गरेको पनि यदाकदा सुन्ने गरेको पाईएको छ ।

स्थानीय सरकारले विभिन्न संघ संस्थाका लागि भनी बजेट रकमान्तर गरी दुरपयोग गर्ने गरेको पाईएको घटना अखबारहरुमा पढ्न समेत पाइन्छ ।  यस्ता कार्य तीजका नाममा भित्रीएको सवैभन्दा दुर्गन्धित पक्ष हो । तीज को बहानामा पुरुषवर्ग पनि मदिरा सेवन गरी तिजलाई बिकृतमय बनाउन उदेलित रहेको पाइन्छ ।  चाड पर्वलाई आजकलका महिलाहरु गरगहना र कपडा लगाउने नाममा प्रतिस्प्रर्धा गरिरहेका छन यो दुर्वल पक्ष हो । यस्ता चालचलन रबैया र गलत आचरणले  तीज जस्तो मौलीक सांस्कृतिक महत्व बोकेको  पर्वलाई ओझेलमा पार्ने निश्चत छ । आजका शिक्षीत र सभ्य मानिएका नारी तथा महिलाहरुले तीजलाई  संस्कारयुक्त वनाउँन पहल गर्नुपर्दछ ।

अन्त्यमा पौराणिक कालदेखि मनाउँदै आएको यो पर्वलाई  समानताको दृष्टिकोण बाट परिमार्जन गर्न जरुरी छ । समाजमा सांस्कृतिक र सांगितिक रुपमा देखिएका विकृति र विसंगतीहरुलाई हटाउँदै सभ्य र संस्कार युक्त पर्वको रुपमा विकास गर्नु पर्दछ । तिजलाई परम्परागत मान्यता र मौलिक विधी नमर्ने गरी परिस्कृत र परिमार्जन गर्न सके मात्र समाज रुपान्तरणमा महिलाहरुको योगदान उपयुक्त ठहर्नेछ । तसर्थ हाम्रा कला , संस्कार , संस्कृति र चाडपर्व को संरक्षण र प्रर्वद्धनका लागी सामुहिकतामा हातेमालो गर्नको विकल्प छैन । 

                                
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।