ताजा अपडेट »
सरकार बालेन

कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउन प्रधानमन्त्री ओलीलाई बालेनकाे सुझाव

मंगलबार, १८ भदौ २०८१, ०७ : ३२
102 Shares
मंगलबार, १८ भदौ २०८१
102 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओली अरुको इशारामा चलेको आरोप लगाएका छन् ।  सोमबार सामाजिक सञ्जालमा मेयर शाहले लामाे स्टाटस लेख्दै  एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आफ्ना कार्यकर्तालाई सामन्य ज्ञान दिएर राजनीतिमा लगाउन आग्रह गरेका हुन ।

आईतबार साझ मात्रै पनि बालेनले लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्माको फोटो सेयरगर्दे प्रधानमन्त्री केपी शर्मा ओली लाई तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ । कहिले समाउने ? कि नसमाउने? भन्दै प्रश्न गरेका थिए ।

साेमबार पुनः अर्काे स्टाटस लेख्दै ‘ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला,’ बालेनले भनेका छन् । अहिले बजारमा सर्वोच्चको फैसलाको आधापाठ ल्याएर भ्रम छर्ने काम भएको  भन्दै सर्वोच्चको मुद्दा रेखा कुमारी र महानगर बीचको मुद्दा नभएको उनको भनाइ छ । बालिकाको बाबुले मेरो छोरी महानगरले अपहरण गर्‍यो भन्दै बन्दी बनाएको भन्ने रिट हालेको र उक्त रिट अदालतले खारेज गरेको बालेनले बताएका छन । अदालतले खारेज गरेपछि महानगरले गरेको उद्धार सही थियो भन्ने पुष्टि भएको कुरा छर्लङ्ग भएको उनी बताउँछन् ।

‘आमा बाबु भएका बालबालिकाको जैविक आमा बुबासँगै बस्न पाउने अधिकार हुन्छ,’ बालेनले लेखेका छन्, ‘सर्वोच्चले त्यसको बारेमा पनि बोल्दै बाबु आमाले समेत भेट्न पाउने गरी महानगरपालिकाले बालिकाको पालनपोषण ,शिक्षादीक्षा र स्वास्थ्यको प्रबन्ध गर्नु भनी परमादेश दिएको अवस्था छ ।’ आफूहरुको द्वन्द्व बालिकाको आमा बाबुसँग नभएको उनको भनाइ छ ।

‘बालिकाका बाबु आमाले बालिकालाई महानगरकै संरक्षणमा रहने गरी जिम्मा दिएका छन् । बालिकाको उद्धार त भयो तर बाबुआमा जीवित हुदाँहुदै बाबुआमाको काखबाट खोसेर यो हदसम्मको अन्याय र शोषण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छ कि पर्दैन ?’ उनले भनेका छन् ।

महानगरले जेठ १४ गते बालिकाको उद्धार गरेपश्चात् ३ चरणको काउन्सिलङ गरेको बालेनको भनाइ छ । सोही काउन्सिलङका क्रममा बालिकाले त्यहाँ आएदेखि नै विगत ८ वर्ष देखि आफ्नो जैविक बाबु आमा नभेटेको,घरमा पोछा लगाउने, करेसाबारीमा काम गर्ने, खाना पकाउने लगायतका काम गर्नुपर्ने, केही काम बिगार्दा घरधनी रेखा कुमारी शर्माले लट्ठी र पाइपले पिट्ने गरेको, तेरो मुख जलाइदिन्छु भनी धम्की दिने गरेको भन्ने खुल्न आएको बालेको आरोप छ ।

जेठ २५ गतेदेखि नै प्रहरीसँग अनौपचारिक कुरा गरी उद्धार भएका बालबालिकाको मुद्दा एकीकृत रूपमा अघि बढाउने गरी तयारी हुँदै गर्दा प्रहरीबाटै सांसदविरुद्ध जाहेरी पर्न लागेको भन्ने सूचना चुहाएर महानगरको जाहेरीभन्दा अगावै रेखा कुमारी शर्माको फन्डिङमा नै बालिकाको बाबुको नाउँमा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाल्न लगाएको आरोप बालेनले लगाएका छन ।

यसरी जेठ २७ गते रेखा कुमारी शर्माले बालिकाको बाबुलाई प्रयोग गरी महानगरका विरुद्धमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरिएपछि मात्रै प्रहरीले रेखा कुमारी शर्मालाई विपक्षी बनाइ बालबालिका सम्बन्धी एन २०७५ को दफा ६६ को बालबालिका विरुद्धको कसुरको उपदफा २(ङ) र मुलुकी फौजदारी संहिता एन २०७४ को दफा १६३ अन्तर्गतको दास बनाउन नहुने कसुरमा दायर गरेको जाहेरी दर्ता गरेको बालेनको भनाइ छ ।

प्रहरीले घटनास्थल मुचुल्का लगायत अनुसन्धानको काम गर्दै गर्दा रेखा कुमारी शर्मा निषेधाज्ञाको मुद्दा लिएर उच्च अदालत पाटन पुगिन् । अदालतले अन्तरिम आदेश जारी गर्दै प्रहरीलाई धरपकड नगर्नु (पक्राउ नगर्नु) भन्दै आदेश गर्‍यो । उक्त मुद्दाको बहस र बालिकाको बाबुको सर्वोच्चको मुद्दाको बहस दुवैमा वरिष्ठ अधिवक्ता टङ्क प्रसाद दुलाल र अधिवक्ता रेणुका सिटौलाले बहस गरेका थिए । यसले रेखा कुमारी शर्माकै डिजाइनमा बालिकाको बाबुले महानगरका विरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट हालेको देखिँदा उनको प्रत्यक्ष संलग्नता पुष्टि गर्ने बालेनको भनाइ छ । 

उच्च अदालतको अन्तिम फैसलाले रेखा कुमारी शर्माको निषेधाज्ञाको रिटको दाबी नपुग्ने भन्दै प्रहरीलाई अनुसन्धान गर्ने बाटो खोलेको छ । साउन २३ गते आएको उच्चको फैसला कार्यान्वयनका लागि प्रहरीलाई लिखित पत्र र मौखिक मार्फत पटक पटक ताकेता गरे पनि कुनै पनि जवाफ नआएको बालेनले उल्लेख गरेका छन् ।

‘रेखा कुमारी शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफैं सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै छिन र आफै हार्दै छिन,’ बालेनले लेखेका छन्, ‘महानगरले उनी विरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन, अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरानै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कसुर बमोजिमको कारबाही अघि बढ्नुपर्छ ।’

यस्तो छ मेयर बालेनको स्टाटस: 

status

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।