ताजा अपडेट »
चलचित्र नमेटिने घाउ

चलचित्र नमेटिने घाउ हलमा टिकेन, रमित भन्छन् नेताहरू खेलाएकै कारण दशर्कले बहिस्कार गरे ।

सोमबार, १७ भदौ २०८१, २३ : २०
168 Shares
सोमबार, १७ भदौ २०८१
168 Shares

काठमाडाैं । अभिनेता रमित ढुंगानाले निर्माण तथा  निर्देशन गरेकाे चलचित्र  'नमेटिने घाउ'  साेचे अनुसार चल्न सकेन । नामजस्तै उनका लागि यो चलचित्र कहिले नमेटिने घाउ बन्न पुगेको छ । २ करोडमा लागतमा निर्माण भएको चलचित्र हलमा दुई दिन पनि राम्ररी चलेन । राम्राे कथा उठान गरेर चलचित्र बनाएकाे भएपनि नेताहरूलाई अभिनय गराएकै कारण चलचित्र असफल भएकाे निर्माण पक्षकाे दाबी रहेकाे छ । 

यो चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई समेत अभिनय गराएका थिए।

गत भदौ ७ गते देशब्यापी रिलिज भएको यो चलचित्र यतिबेला अधिकांश जसो हलबाट उत्रिसकेको छ। चलचित्रले  लगानीको सानो हिस्सा समेत हलबाट उठान सकेन। एसिड आक्रमणमा परेकाहरूकाे सत्य घटनामा  निर्माण गरीएकाे  यस चलचित्रलाई  सुरूवात बाटै पोष्टरमा नेताहरुकै ठुला तस्विर राखेर तमझम का साथ  प्रचार प्रसार समेत गरीएको थियो ।

ट्रेलर र पोस्टर सार्वजनिक भएदेखि सामाजिक सञ्जालमा नेताहरूका कारण फिल्म बहिष्कार अभियान चलेको थियो । तर, रमितले यसलाई सामान्य रुपमा लिएका थिए । बरु फिल्मको चर्चा भइरहेकोमा दंग थिए । तर, जब चलचित्र रिलिज भयाे  हलमा दर्शकहरु आइदिएनन्, त्यसपछि भने उनले बहिष्कार शब्दको शक्ति थाहा पाए । यतिबेला रमित नेतालाई खेलाएकै कारण चलचित्र नचलेको निष्कर्षमा पुगेका छन् ।

चलचित्रका निर्माता एवं निर्देशक ढुंगानाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै  आफ्नाआफ्ना चलचित्र फिल्म हलमा सफल हुन नसकेको स्वीकारे। उनले नेताहरूलाई अभिनय गराएकै कारण आफ्नो चलचित्र दर्शकबाट बहिष्कारमा परेको समेत दाबी गरेका छन्।

Untitled-2

'यो सफा मनले निर्माण गरिएको चलचित्र हो, आगामी दिनमा यस्ता प्रकारका घटना नहोस् भनेर अवेयरनेशका लागि बनाएको चलचित्र हो। एसिड आक्रमणमा परेकाहरूले जो–जो पात्र भन्नुभयो। उहाँहरूलाई खेलाएका थियौं,' उनले भने, 'तर नेताहरूलाई खेलाएका कारण बहिष्कारमा पर्यो।' उनले लेखेका छन ।

उनले आफूले नेताहरूलाई अभिनय गराएकै कारण चलचित्र नहेर्ने भनेर सोही खालका थुप्रै प्रतिक्रियाहरू सामाजिक संजालमा आएको बताए।  उनले भने, 'दर्शकहरूले नेताहरूलाई किन फिल्ममा राखेको हामी नहेर्ने भनेर कमेन्ट गर्नुभएको छ। राजनीतिक दलका सदस्यले हाम्रो मात्रै नेतालाई राखेको भए हुन्थ्यो। त्यो नेतालाई किन राखेको भनेर प्रतिक्रिया दिनुभएको छ। मलाई आएको कमेन्टका आधारमा यसो भनिरहेको हुँ।'

यस चलचित्र प्रति सामाजिक संजालमा देखिएका प्रतिकृया हेर्दा यूवा पुस्तामा नेताहरूप्रति युवामा रहेकाे  वितृष्णा कतिरहेछ भन्ने थाह हुन्छ। नेताहरूकै कारण चलचित्र असफल भएको निर्माता निर्देशक रमित ढुंगानाको आरोप छ।  चलचित्र बनाउँदा भने आफूलाई आत्मसन्तुष्टि मिलेको उनि बताउँछन्।

'व्यवसायिक हिसाबमा चलचित्र जे-जस्तो भए पनि म सन्तुष्ट छु। नेपाली चलचित्र क्षेत्रमा यस प्रकारको फिल्मको सुरुआत गरेकाे छु। भविष्यमा मूल्याङ्कन हुनेछ भन्ने लाग्छ,' उनले भनेका छन , 'आगामी दिनमा पनि सत्य घटनामा आधारित रहेर चलचित्रहरू बनाउनेछु।'

ढुंगानाका अनुसार ५८ दिन लगाएर याे चलचित्रको छायाङ्कन गरिएको थियो भने चलचित्रमा एक सय २५ जना कलाकारहरूले अभिनय गरेका थिए। चलचित्रमा दुई करोड रूपैयाँ हाराहारी लगानी भएको थियो। चलचित्रको कलेक्सन कति भयो भन्नेबारे पनि आफूले वितरकसँग नबुझेको ढुंगानाले बताए। 

चलचित्रकाे च्यारिटी शो गर्नेः

चलचित्र हलमा  सोचेजस्तो सफल नभए पनि यसलाई च्यारिटी शो गरेर बढीभन्दा बढी दर्शकमाझ पुर्‍याउन प्रयास गर्ने ढुंगानाले बताए। 'स्कूल कलेज लगायतका क्षेत्रमा च्यारिटी गर्ने तयारी छ,' उनले भने। 'प्रधानमन्त्री सहितका नेताले खेलेको चलचित्र भनेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा  पनि नाम लेखाउने तयारीमा रहेको उनले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।