ताजा अपडेट »
सन्दर्भ : बाको मुख हेर्ने दिन

मेरा बा कम्तिका थिए र !

सोमबार, १७ भदौ २०८१, १२ : ५२
320 Shares
सोमबार, १७ भदौ २०८१
320 Shares

बाले २५ वर्षको उमेरमा २०१८ सालमा भागी विहे गरे । यो कुरा आमाले भनेकी थिईन् । नत्र कसरी थाहा पाउनु मैले । म अलि जिज्ञासु थिएँ सानैदेखि । प्रश्न गर्थे र कहिलेकाही वाक्क बनाउँथें । धेरै प्रश्न सोध्यो भनेर डस्टरले मेरो टाउकोमा ट्वाक्क हानेर टुटुल्को उठाउने मास्टर अझै जिम्दैछन् । 

कुरा बा दिवस (बाको मुख हेर्ने दिनको) कै हो । बालाई सम्झिने र सम्झाउने दिवसका अवसरमा मेरा बाका कुरा गर्दैछु । मेरा बा सानैमा भारी बोक्न भरियाका रुपमा भोटान (भुटान) गएका रहेछन् । उनले आफूभन्दा ठूलो भारी बोकेर उकालो चढ्नुको दुःख हामीलाई कहिले सुनाएनन् । त्यसैले बा भनेका दुःख, पिर लुकाउन सक्ने ब्यक्ति हुन् जस्तै लाग्यो । 

बाले भुटानबाट श्रम गरि पसिना बगाएर ल्याएको मोहोर, रुपैयाँले आमालाई टाप कसाएर पूर्वी काभ्रेबाट पश्चिम पाल्पा ल्याईपुर्याए । त्यसो भनिरहँदा बा भनेका हिम्मतवाला हुँदारहेछन् भन्ने पनि लाग्यो । नत्र अर्काकी छोरीलाई घरपरिवारसँग एकवार नसोधी नौडाँडा कटाएर फर्केरै नजाने गरि किन कसम खान्थे होलान् ? मेरा बाले लेख्न र पढ्न जानेको हेक्का छैन । तर, हामी ८ जना सन्तानलाई १० कक्षादेखि स्नातकोत्तरसम्म पढाउने उनै बाको कुरा बुझ्दा आफू नपढेपनि सन्तानलाई पढाउन पर्छभन्ने अठोट बोक्ने मान्छे रहेछन् बा जस्तो लाग्यो । 

मेरा बाले २०५५ मा जिभ्रो टोके । त्यतिबेला ६२ पुग्दै थिए । उनलाई क्यान्सर लागेको थियो । वीर अस्पतालले घर फर्काएपछि पनि बा बिस्तारामा सुतेनन् । नमरुञ्जेल करेसाबारीमा कम्मर कसेर काम गरिरहे । बिहान ६ वजेदेखि साँझ ६ बजेसम्म गैंटी, बेल्चा, कुटो, कोदालो चलाउँथे । त्यो वर्ष भान्टा फलेको देख्दा हामी तीनछक परेका थियौं । 

यो देखेपछि बा भनेका कर्मशील हुँदारहेछन् (बाँचुञ्जेल लाग्यो । २०३८ सालमा दोभान खोलाको बाढीले भूमिहीन बनेपछि बाँच्न मुस्किल भयो । बाले दोभान खोलामा जालले माछा मार्थे । कतिपय बेला जिलेटिन बम पड्काउँथे । २०४२ सालमा बम पड्काउँदा हातमै पड्केर बाको हत्केला र औंला नै उडाई दियो । तैपनि बाले माछा मारेर हाम्लाई दुःख, सुखपूर्वक दुई छाक खुवाईरहे । त्यो हेरेपछि मैले थाहा पाएँ बा भनेका आफूले जोखिम मोलेर पनि परिवार पाल्ने शाहसिक ब्यक्ति रहेछन् । 

मेरा बाले जहिलेपनि दौरासुरुवाल र आस्कोट लगाउँथें । पाल्पाली ढाका टोपीमा सजिन्थे । काम गर्दाबाहेक उनको पोसाक दौरासुरुवाल र ढाकाटोपी हुन्थ्यो । त्यसकारण उनले नेपाली कपडालाई माया गर्थे अनि चिटिक्क सजिन्थे । नेपालीपन उनमा थियो । त्यो हेरेपछि मैले बुझे नेपाली हुनु, नेपाली उत्पादनलाई पनि माया गर्नुरहेछ । राष्ट्रप्रति बफादार मेरो बाको कुरा बा दिवसमा सुनाईरहेछु । 

मेरा बाले नाँचगान विपत्ता मन पराउँथे। १२ वटा बेट्री जाने ठूलो टेपरिकर्डर थियो हाम्रो घरमा । गाउँमा हुने रमाईलो कार्यक्रममा बाले खोल लगाएको सो टोक्रो बोकेर जाँदा परैबाट सुनिन्थ्यो । गीतहरु क्यासेटमा रेकर्डिङ गर्थे । घरमा सुनाउँथे । बा, संस्कृतिलाई माया गर्ने मान्छे पनि रहेछन् भन्ने लाग्यो। पाईन खबर, पानको पातलगायतका गीत मैले त्यही टेपरिकर्डरबाट सुनेको थिएँ । 

मैले बासँग धेरै कुरा गरिनँ । बासँग कम कुरा मिल्थे मेरा । बालाई ठूल्दाइले फुर्का लगाउँथ्यो र पैसा फुस्काउँथ्यो । बासँग क्याम्पस पढ्न द्रव्य माग्दा उनले मलाई आफ्ना दाँत देखाएको ताजै छ । (दाँत उखेलेर पढ् भनेका रहेछन् । पछि बुझें ।) मैले बाको त्यो क्रियाकलाप हेरेपछि थाहा पाएँ क्याम्पस तहको आफ्नो पढाइ खर्च आफैले जुटाउनु पर्नेरहेछ । धन्य बा ! तिम्ले त्यी दाँत नदेखाई दिएका भए मेरा आँत कसरी बलिया बन्थे र ? नत्र मलाई पुग्ने शिक्षा कसरी ग्रहण गर्न सक्थें हुँला र  मैले आफै ! 

मेरा बा कहिलेकाही पीरले होला अग्निरस (ठर्रा) पिउँथे । रिसले चुर हुँदा उनीसँग सवालजवाफ गर्न हुन्थेन् । बाले एकपटक माछाको तातो झोलसँगै थाल मेरो अनुहारमा टाँसिदिएका थिए । त्यो दृश्य हेरेपछि थाहा लाग्यो (रीसको बेला मान्छेले वेद नपढ्दो रहेछ । बाबाट मैले सिकें) रीसको बेला मान्छेसँग सवालजवाफ गर्नुहुँदो रहेनछ अर्थात् चुप लाग्नुपर्ने रहेछ । 

बाबाट सिक्नुपर्ने धेरै र त्याग्नुपर्ने कम कुरा थिए । बामा आँट थियो । हिम्मत थियो । गर्छु भनेको काम गरेरै देखाउँथे । परिवारप्रतिको लगाव थियो । जिम्मेवारी थियो । दूधले नुहाएका र गोबरले पोतिएका बा थिएनन् मेरा । उनमा रावण र रामका गुण थिए । घरि राम देखिन्थे, घरि रावण भेटिन्थे मेरा बाभित्र । तैपनि मैले मेरा बालाई सधैं आदर्श पुरुष मान्छु । जन्माई, हुर्काई, पालनपोषण र शिक्षादीक्षा दिने मेरा बा कुन लोकका कुन भगवानभन्दा कम्तिका थिए र ! 

बाको पानीफोटो यतिबेला मसँग छैन।  तर खिस्स हाँसिरहने मेरा बा लालबहादुर गुरुङको अनुहार मस्तिष्कमा नाँचिरहनेछ म बाँचुञ्जेल ।

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार