बुटवल । पाल्पा पालुङ्ग मैनादी रुपन्देही सम्पर्क समाजले हरितालिका तीजको पूर्व सन्ध्यामा बुटवलमा शनिबार तीजमिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष पदम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी मधुकला कुँवरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै कुँवरले तीज पर्व महिला दिदीबहिनीहरुको महत्वपूर्ण पर्व भएकाले महिला दिदीबहिनीहरुलाई एकै ठाउँमा जम्मा गरेर दुःखसुख साटासाट गर्ने अवसर समाजले जुटाईदिएकोमा धन्यवाद व्यक्त गर्दै भखैरै बनेको समाजको टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिन् । उनले तीजका नाममा महिनौसम्म दरखाएर फजुल खर्च गर्ने प्रचलन बढेकोले यसलाई सबैले रोक्नुपर्ने बताईन् ।
कार्यक्रममा पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी धुव्र कुँवरको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष अशोक कुँवरले समाजको पृष्ठभूमिका बारेमा प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए । त्यस्तैगरी समाजका सल्लाहकार रण बहादुर कुँवरले आपसी सद्भाव र एकताबद्ध हुनका लागि सम्पर्क समाज आवश्यक भएकोले आगामी दिन समाजले अझै रचनात्मक कार्यक्रम गरी अगाडि बढ्ने बताए । त्यस्तैगरी समाजले ज्येष्ठ नागरिक सम्मानस्वरुप समाजका अग्रज तथा समाजसेवी व्यक्तित्व विभिषण कुँवर र रघुनाथ नेपाललाई सम्मान गरेको छ ।
साथै तीजमिलन कार्यक्रममा आर्थिक सहयोग गर्ने महानुभावहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा स्थानीय कलाकारका साथै उपस्थित दिदीबहिनीहरुले तीजका मौलिक गीतमा छमछमी नाचेर मनोरञ्जन प्राप्त गरेका थिए । कार्यक्रममा समाजका सल्लाहकारहरु कमल नेपाल, गोविन्द बहादुर कुँवर, कृष्ण बहादुर कुँवर, विष्णु आचार्यलगायतको सहभागिता रहेको थियो ।
अध्यक्ष पदम नेपालले बोल्दै तीज महिला दिदीबहिनीहरुको महान पर्व भएकाले जन्मघर पालुङ्ग मैनादी जान नसकेका दिदीबहिनीहरुलाई एकै स्थानमा राखेर दर खुवाउन पाउँदा र नाचगान गर्दा आफू र समाज अत्यन्तै खुसी भएको बताए । उनले आफ्नो कार्यकालमा थुप्रै रचनात्मक कार्यक्रम गर्दै जाने बताए । समाजका वरिष्ठ उपाध्यक्ष मिन प्रसाद नेपाल ९बिमल० को स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव शंकर विकेले गरेका थिए ।
प्रतिक्रिया