ताजा अपडेट »

आत्महत्या : भ्रम र यथार्थ

आइतबार, १६ भदौ २०८१, १४ : ३३
86 Shares
आइतबार, १६ भदौ २०८१
86 Shares

डा. मनोज ढुङ्गाना (मनोरोग चिकित्सक)

आत्महत्या एक गम्भीर सामाजिक समस्या हो। जसले व्यक्तिको जीवनको अन्त्य मात्र होइन, परिवार, समाज र राष्ट्रमा गहिरो असर पार्छ। यो विषयलाई बुझ्नको लागि आत्महत्यासँग सम्बन्धित भ्रम र यथार्थलाई स्पष्ट पार्न आवश्यक छ।

भ्रम :
धेरैजसो मानिसहरू आत्महत्यालाई एक्लोपन, अवसाद, आर्थिक समस्या वा सम्बन्ध बिग्रिएको कारण मात्र मान्दछन्। मानिसहरूले यो पनि सोच्न सक्छन् कि आत्महत्या गर्ने व्यक्तिले आफ्नो समस्याबाट भाग्न खोजिरहेका हुन्छन् र यो एक क्षणिक आवेगमा लिइएको निर्णय हो।

यथार्थ :
आत्महत्या कहिल्यै एक मात्र कारणले हुने घटनामा सीमित छैन। यो विविध कारणहरूको संयोजनको परिणाम हो, जसमा जैविक, मानसिक, सामाजिक, र आर्थिक पक्षहरू संलग्न हुन्छन्। एक व्यक्तिलाई आत्महत्या गर्न प्रेरित गर्ने अवसाद, चिन्ता, मानसिक रोगहरू, नशा सेवन, पारिवारिक असन्तोष, र अन्य मानसिक तथा शारीरिक समस्याहरू समेत हुन सक्छन्। यसबाहेक, आत्महत्या गर्ने व्यक्तिहरूले आफ्नो जीवनमा गम्भीर पीडा अनुभव गरेका हुन्छन् । जसले गर्दा उनीहरू समस्याहरूको समाधान देख्न नसक्ने अवस्थामा पुगेका हुन्छन्।

भ्रम :
धेरैले आत्महत्याको बारेमा कुरा गर्दा यसले व्यक्तिलाई आत्महत्याको विचारमा प्रेरित गर्छभन्ने सोच्दछन्।

यथार्थ :
आत्महत्याको बारेमा खुलेर कुरा गर्नु अत्यन्त आवश्यक छ। यसले मानिसहरूलाई आफ्नो भावनाहरू व्यक्त गर्न, सहायताको लागि पुकार्न, र समस्या समाधानका उपायहरू खोज्न मद्दत पुर्‍याउँछ। आत्महत्याको बारेमा कुरा गर्न नपाउँदा व्यक्ति झन् एक्लो महसुस गर्न सक्छन् । र, समस्या थप गहिरो बन्न सक्छ।

भ्रम :
आत्महत्या गर्न चाहने व्यक्तिलाई बचाउन सकिँदैन भन्ने धारणा पनि समाजमा व्याप्त छ।

यथार्थ :
आत्महत्या रोकथाम गर्न सकिन्छ। व्यक्तिलाई समयमै सहायता, परामर्श, र उपचार प्राप्त गराउन सके आत्महत्याको जोखिम घटाउन सकिन्छ। आत्महत्या रोकथामका लागि परिवार, साथीभाइ, चिकित्सक, परामर्शदाता, र समाजको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ।

अन्त्यमा, आत्महत्या कुनै पनि समस्या समाधानको उपाय होइन। यो स्थायी समाधानको अस्थायी प्रयास हो । जुन हामी सबैले बुझ्न आवश्यक छ। व्यक्तिहरूलाई भावनात्मक, मानसिक, र सामाजिक समर्थन प्रदान गरी आत्महत्याको समस्या समाधान गर्न सकिन्छ। समाजमा आत्महत्या सम्बन्धी भ्रान्तिहरू हटाउँदै यथार्थ बुझ्न र बचावका उपायहरू लागू गर्न सबैले अग्रसरता देखाउनु जरुरी छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।