गर्मीका कारण पसिनाले शरीर लुछुप्पै भिजेको थियो । भदौको १५ गते, शनिवार साँझको चार बज्दैथियो । घुम्ने किताबकी सरिताले कार्यक्रम ढिला सुरु भएकोमा क्षमायाचना गरिन् । समयमै कार्यक्रम गर्ने भन्यो–केके कुराले ढिला गराउँछ पत्तै हुन्न-उनले भनिन् । सन्दर्भ १७ औं पुस्तकालय दिवसको थियो । कार्यक्रममा प्रसङ्ग थियो–पुस्तकालय कसरी चलायमान गराउने ?
पाठक मञ्चका रामचन्द्र श्रेष्ठले कार्यक्रमको औचित्यमाथि पुष्टि गर्न खोजे । आफ्नो लूज फोरम पाठक मञ्चले १० वर्षदेखि बुटवलमा पठन संस्कृतिका बारेमा विमर्श गर्दै आइरहेको, लेखक र पुस्तकका बारेमा परिचर्चा गरिएको र साहित्यिक गतिविधि एवम् रचनावाचन गर्दै आइरहेको बताए । बुटवलमा सार्वजनिक विषयमा बहस नभएको, चिन्तन कम तर चिन्ता बढी भएको, त्यसैले पनि पुस्तकालयका बारेमा सबैलाई जानकारी दिन खोज, अध्ययन र अनुसन्धान गरी अघि बढ्न आजैदेखि काम थालेको बताए ।
उनको लयात्मक अभिव्यक्तिपछि ज्ञानज्योति पुस्तकालयका ग्रन्थपालक प्रकाश सुवेदीले नेपालमा कसरी पुस्तकालयको सुरुआत् भयो भन्ने कुराको संक्षिप्त इतिहास, आफ्नो पुस्तकालयमा रहेका विभिन्न विषयका पाँच हजार बढी पुस्तक, एक दर्जन कम्प्युटर, नेट सेवा लगायतका बारेमा जानकारी दिए । आफ्नो पुस्तकालयमा सरदर महिनामा ३५ जना पाठकको उपस्थिति हुने बताउँदै गर्दा सो पुस्तकालय साँझ पाँच वजेदेखि साढे सात वजेसम्म खुल्ने कुरा पनि जानकारी दिए ।
मागीमागी छोरीको विहे भनेजस्तै सो पुस्तकालयले भवन बनाउन सहयोग, कुर्ची किन्न अनि माइकधरी मागेर काम चलाउनु परेको पीरै नमानी प्रकाशले सुनाए । २०४३ साल बैसाख १० गते स्थापना भएको उक्त पुस्तकालयमा धेरै पाठकहरुलाई कसरी ल्याउने भन्ने कुरा उनको जिज्ञासा थियो । पाँच धूर जग्गामा बनेको आफ्नै भवन, मिलनचोकमै छ । प्राइभस्थानमा रहेको यो पुस्तकालयले सहकारीलाई कोठा भाडामा दिएर समेत केही आर्थिक उपार्जन गरेको सुनियो । ११ जनाको कार्यसमिति रहेको यो पुस्तकालयलाई तत्कालीन नगरप्रमुख भोजप्रसाद श्रेष्ठले उद्घाटन गरेका रहेछन् ।
हामीले भन्ने पारि बटौलीमा महावीर पुस्तकालय छ । २००४ सालमा पाँचजना शिक्षाप्रेमीहरुले शैक्षिक एवम् राजनीतिक जागरण ल्याउन खोलिएको पुस्तकालय थियो यो । करीव सात हजार पुस्तक रहेपनि पढ्न आउने पाठक संख्या भने न्यून रहेको सहनशील लिगलले सुनाए । पाँच कठ्ठा आठ धूर जग्गा भएको सो पुस्तकालयले भाडाबाट पैसा कमाएको सुन्न पाइयो । पुराना कितावहरु धमिराले खाएको, धूलो लाएको अनि ब्याण्डिङ्गको अभावमा ऐतिहासिक पुस्तकहरुलाई जोगाउन मुस्किल भएको गुनासो लिगलले सुनाए ।
साहित्यकारहरु र पुस्तकालयका सञ्चालकहरुकाबीच समन्वयको अभाव,पुस्तकालयमा आउने पाठकहरु कम भएको, प्रविधिले पुस्तकालयमा आउने बानी हटेको लगायत समस्याका बेलीबिस्तार लगाई रहँदा आर्थिक अभाव नभएपनि पाठकलाई पुस्तकालयसम्म ल्याउने योजनाको अभाव भेटियो । पुस्तक त छ तर पठनसंस्कृति नभएको सुनाए । ओमशंकर र सत्यलाललाई पुस्तकालय खोलेकै कारण राणाहरुले थुनेको कुरा इतिहास भएपनि सो पुस्तकालयको वर्तमान परिवेश बुझ्न त्यतै जाँदा उत्तम हुनेछ ।
भूपी शेरचन साहित्यकार हुन् । उनकै सम्झनामा बुटवलमा भूपी स्मृति पुस्तकालय बनाइएको कुरा अध्यक्ष शिवप्रसाद शेरचनले बताए । उनी आफू लाहुरे भएपनि अक्षरको खेतीमा तल्लीन भएको सुनाए । गफ मारेर बस्नभन्दा पुस्तक पढेर बस्न र आफ्नो जातका मानिसहरुलाई शैक्षिक जाँगरण ल्याउन पुस्तकालय उत्तम भएको बताए । प्रत्येक पुष १० गते भूपी स्मृति दिवस मनाउँदै आएको सुनाउने उनले थकालीहरुलाई थाक्न दिन नहुने भएकैले पुस्तकालय खोलेको प्रष्ट्याए । २०७५ सालदेखि पुस्तकालय खोलेर चलाएपनि कति पुस्तक छन् भनेर भनेनन् । बरु उनले भने-बुढोपाटी भेला हुने चौपारी पुस्तकालय बनेको छ ।
निरन्तर शिक्षाका लागि पुस्तकालय १७ औं पुस्तक दिवसको नारा रहेको पुस्तकालय सम्बन्धि अध्ययन गरेर आएकी अम्बिका पाण्डेयले सुनाइन् । उनले पुस्तकालय सञ्चालनका बारेमा छोटो बताइन् । आशा गरेजति सुनाइन भ्याइनन् । केही पुस्तकालयका गतिला कुरा सुनाइन् पनि । अध्येयता माधवकुमार पौडेलले नेपालमा पुस्तक पढ्नेका संख्या ५ देखि ७ प्रतिशत् रहेको सुनाउँदै पढ्न पनि गाह्रो कुरा रहेको सुनाए । सिर्जना र उद्यमलाई जोडेर जानुपर्नेमा उनको तर्क थियो । उनले थपे–पुस्तकालय, सधैं खुल्ने वातावरण मिलाउनुपर्छ ।
८८ वर्षका जंगबहादुर बा घरमा पुस्तकालय हुनुपर्ने कुरामा जंगिए । उनले आफ्नो घरमा रहेका दुई हजार तीनसय बढी पुस्तकहरुमध्ये ८० प्रतिशत् पढेर तुरेको सुनाए । दलबहादुर गुरुङले भनेको धमिराले किताव खाएपनि विद्धान हुन नसक्ने कुरालाई उनले च्वाट्टै काटेर भने-म त्यस्तो धमिराजस्तो हैन । रुचीको पुस्तक नहुँदा अहिले पुस्तकालय चल्न नसकेको सुनाए । बरु महावीर पुस्तकालय पारि बुटवल नै पाइपर्ने ठाउँमा सारेर भएपनि व्यवस्थित तरिकाले चलाउन सकेमा जाती हुने कुरा बताए । बुढेसकालमा विस्मृति उपहार भएको सुनाउँदै पुस्तक नै संसार हेर्ने आँखीझ्याल रहेको सुनाए ।
इन्द्रीयहरुसँगै सुवासिला विचारहरु पनि जीर्ण हुन्छन्भ-र्तृहरिको भनाइ साहित्यकार ऋषिराम भुसालले सुनाए । उनले भने हार्डबुकका अघि सफ्टबुकहरु त्यति वैधानिक हुन सकिरहेका छैनन् । मुद्रित पुस्तकहरुले नै सन्दर्भ सामग्रीका रुपमा काम पाइरहेको सुनाए । उनले पुस्तकालयहरु चलायनमान हुनका लागि पुस्तकालयहरुका आफ्नै अभ्यास र नियम हुनुपर्नेमा जोड दिए । मलाई सम्झना आयो दार्शनिक उम्बर्टोका भनाई । उनले भनेका थिए– भौतिक कितावको अन्त्य कहिल्यै हुँदैन ।
मैले पनि पुस्तकालयले पुस्तक किनेरमात्र नहुने बरु पाठकलाई पुस्तकालयसम्म ल्याउने आकर्षित कार्ययोजना हुनुपर्नेमा जोड दिएको थिएँ । पुस्तकालयले पाठक खोजिरहेको वर्तमान अवस्थामा पाठकले पुस्तकालय खोज्ने योजना अघि सार्न अनिवार्य रहेको बताएँ । धमिरा,धूलोले पुस्तकालयलाई ठूलै धक्का मारेको सुनाएँ ।
सबैका कुरा सुनिसकेपछि निष्कर्षको खोजीमा हामी सबै थियौं । आखिर किन पुस्तकालयहरु विघटनको अवस्थामा पुगिरहेका छन् ? रुपन्देही जिल्लाभरि रहेका १२ वटा सार्वजनिक पुस्तकालयहरुको दयनीय अवस्था कसले बुझ्ला ? स्थानीय,प्रदेश र संघीय सरकारले पुस्तकालयलाई हेर्ने दृष्टिकोण के हो ? पुस्तकालयलाई आर्थिकमात्र अभाव हो कि भौतिक अवस्थाको कमजोरी पनि हो ? त्योभन्दा पनि ठूलो कुरो पाठकविहीन पुस्तकालयको परिकल्पना कसरी गर्न सकिन्छ ? पुस्तक हुनु र संरक्षित हुनुमात्र पनि ठूलो कुरा होइन बरु पुस्तकालयमा रहेका पुस्तकहरुमा पाठकका नजर पर्नु,हातहरुले स्पर्श गर्नु र सिकाईले अग्रगामी बनाउनु महत्वपूर्ण कुरा हुन सक्छन् ।
पुस्तकालयमा श्रव्य,दृश्य सामग्रीका माध्यमबाट पुस्तक अध्ययन गर्न सकिन्छ ? श्रवण शक्ति वा दृश्य शक्ति कमजोर भएका व्यक्तिहरुलाई यतिबेलाका हाम्रा पुस्तकालय उपयोगी हुन सक्लान् ? पुस्तकालयमा शारीरिक रुपमा अपाङ्गता भएका ब्यक्तिहरुले शौचालय पुग्ने प्रवन्ध छ ? ह्वील चियर जाने र्याम्प छ ? पुस्तकालयमा अध्ययन गर्र्ने छुट्टै कोठा छ ? वातानुकूलित कक्षहरु छन् ? सामयिक पुस्तकहरु छन् ? कितावका कारेमा ग्रन्थपालले पूरै जानेका छन् ? पुस्तकहरुको क्याटलग छ ? पाठकले खोजेका पुस्तकका बारेमा जानकारी दिन सक्ने हैसियत ग्रन्थपालमा भेटिन्छ ?
पुस्तकालयलाई अभिलेखालय बनाउन सकिन्छ ? फोटोकपी मेसीन,बाइण्डिङ्ग गर्ने साधनहरु पुस्तकालयमा छन् ? यो सीप र दक्षता भएका ग्रन्थपालक छन् ? आम्दानीसँग पुस्तकालयलाई जोड्ने कुनै आर्थिक योजना छ ,पुस्तकालय व्यवस्थापन वा सञ्चालक समितिहरुसँग ? पुस्तकालय नजिकै चिया पसल वा क्यान्टीन छ ? घण्टौं बस्न रुचाउने स्कलर्सहरु तपाइँका पुस्तकालयमा बस्न आरामदायी फर्निचरहरु छन् ? पिउनेपानीको प्रवन्ध छ पुस्तकालयमा ? सहयोगीहरु छन् पुस्तकालयमा ? आखिर हामी सबैले पुस्तकालयलाई चलायमान कसरी गराउन सकिएला ? गतिलो निष्कर्षको खोजीमा छौं ।
पुस्तकालय जाँदा पुस्तकहरु देखेपछि भन्न मन लाग्छ–नपढिएका किताव भनेका बाँच्न बाँकी जीवनजस्तै हो ।
प्रतिक्रिया