ताजा अपडेट »

अर्घाखाँचीका कृष्ण युएईमा मृत भेटिए, शव नेपाल ल्याउन आर्थिक अभाव

शुक्रबार, १४ भदौ २०८१, ०७ : २५
2.65K Shares
शुक्रबार, १४ भदौ २०८१
2.65K Shares

काठमाडौं । अर्घाखाँचीका २४ वर्षीय कृष्ण प्रसाद पाण्डे युएईमा मृत भेटिएका छन् । उनलको शवलाई नेपाल ल्याउन आर्थिक अभाव भएपछि परिवारले सहयोगका लागि अपिल गरेका छन् ।  

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ घर भएका पाण्डे दुई वर्षअघि भिजिट भिसामा युएई पुगेका थिए । उनी गत भदौ ९ गते आबुधाबी शहरमा मृत फेला परेका थिए । युएईको प्रहरीले सडक छेउँ फेला परेको उनको शव आबुधाबीको अस्पतालमा बुझाएको थियो । उनको मृत्युको कारण भने खुलेको छैन । अहिले विदेशबाट शव फिर्ता ल्याउन एक लाख रुपैयाँ आवश्यक परेको मृतकका दाइ नाता पर्ने शशिधर पाण्डे बताए । परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएकाले पैसा जुटाउन समस्या भएको उनको भनाइ छ । ०७२ सालको भूकम्पमा घर भत्किएपछि कृष्णको परिवार भारतमा मजदुरी गरेर बसिरहेको छ ।मृतक पाण्डेका बुबा–आमा र श्रीमती भारतमा छन् ।

मृतकका दाइ शशिधरका अनुसार शुरुमा शव फिर्ता ल्याउन दुई लाख हाराहारी लाग्ने भनिएको थियो । तर कृष्ण कार्यरत रेष्टुरेष्टले एक लाख रुपैयाँ सहयोग गरिदिने भएपछि बाँकी पैसा परिवारले व्यहोर्नुपर्ने भएको छ। अहिले आफूहरु शव ल्याउन आर्थिक संकलन गर्न लागेको उनले बताए । यसका लागि उनले आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।

शव झिकाउन भनेर युएईस्थित नेपाली दूतावासलाई निवेदन दिइएको छ । शव झिकाउन आवश्यक पैसा जुटेमा आउने हप्ताभित्र शव नेपाल ल्याउने तयारी छ । श्रम स्वीकृति लिएर विदेश पुगेर मृत्यु भएका श्रमिकको हकमा सरकारले शव झिकाउनेदेखि मृतक परिवारलाई क्षतिपूर्ति समेत दिने गरेको छ । तर श्रम स्वीकृति विना भिजिट भिसामा विदेश गएर मृत्यु भएकाले कृष्णप्रसादको शव झिकाउन लाग्ने खर्च उनकै परिवारले ब्यहोर्नुपर्ने भएको छ । यस्तै मृतकको परिवारले सरकारबाट पाउने क्षतिपूर्ति समेत नपाउने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।