ताजा अपडेट »

पाँचथरमा ग्रिनेट विस्फोट हुँदा २ बालबालिकाको मृत्यु, २ घाइते

थप विस्फोटक पदार्थ भेटिएपछि सेनाको टोली जाँदै

शुक्रबार, १४ भदौ २०८१, ०७ : ०८
160 Shares
सांकेतिक तस्विर
शुक्रबार, १४ भदौ २०८१
160 Shares

काठमाडौं । पाँचथरमा ग्रिनेट विस्फोट हुँदा एकैघरका दुईजना बालबालिकाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।

फालेलुङ गाउँपालिका वडा नम्बर-५ डाँडागाउँमा बिहीबार दिउँसो ग्रिनेट विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारीले जानकारी दिए। 

स्थानीय आइतराज केरुङको घर नजिकै आँगनमा बिहीबार दिउँसो शंकास्पद बस्तु विस्फोट हुँदा चारजना बालबालिका घाइते भएका थिए । सोही ठाउँका दिलिप साँवाका २ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिपशनको विस्फोटमा परेर मृत्यु भएको हो। विस्फोटमा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि झापाको बीएण्डसीअस्पताल लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको डीएपी भण्डारीले जानकारी दिए। 

घाइते बालबालिकालाई जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि थप उपचारको लागि राति बीएण्डसी अस्पताल लगिएको थियो। विस्फोटमा परेर स्थानीय ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते छन्। घाइतेमध्ये पवनको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ। दिपशनको स्थानीय स्वास्थ्य चौकीमै उपचार गरिएको छ। ‘उनीहरु खतरा मुक्त छन्,’ डीएसपी भण्डारीले भने। 

प्रहरीले ‘होममेड ग्रिनेट’ विस्फोट हुँदा उनीहरुको मृत्यु भएको अनुमान गरेको छ।  तर नेपाली सेनाको टोलीले त्यसको पुष्टि गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

नेपाली सेनाको टोली सदरमुकामबाट घटनास्थलतिर जाँदैछ। त्यो ठाउँमा अझै केही विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ । त्यो विस्फोटक पदार्थ त्यहाँ कसले र किन राखेको थियो, खुल्न बाँकी रहेको बताइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।