ताजा अपडेट »

तीज पर्वमा: विकृतिहरु हट्दै जाने र समृद्धिको ढोका खुल्दै जानेछन्

विहीबार, १३ भदौ २०८१, १६ : २०
84 Shares
विहीबार, १३ भदौ २०८१
84 Shares

गाउँघर, सहरबजार सबैतिर तीजले छपक्कै छाइसक्यो । दर खाने दिन सुरु भइसक्यो । विभिन्न समाज, संगठन, टोल, समूहले आआफ्ना चेलीबेटीहरुलाई निम्त्याएर तीजको भेटघाट र दर खाने कार्यक्रम राखिसकेका छन् । राख्दैछन् । स्कुल, कलेज, सरकारी तथा गैरसरकारी कार्यालयहरुमा समेत दर खाने र खुवाउने दर यतिबेला ह्वात्तै बढेर गएको छ । परम्पराको रुपमा विकास हुँदैछ । 

भेटघाट गर्ने,कुराकानी गर्ने,दर खाने,खुवाउने र तीजका अनेक प्रकारका गीतहरुमा नाँच्ने गाउने कार्यक्रमहरु दैनिक रुपमा भइरहेकै छन् । यस्तो हुनु कति हदसम्म ठीक,बेठिक होलान् मूल्याङ्कनका तराजुमा तीज परेको छ । तीज पर्वमा हिजोका दिनमा हिन्दू महिलामात्र सहभागी हुने गरेका भेटिन्थे भने यतिबेला सबै जातजाति,भाषाभाषी ,लिङ्ग र वर्णका ब्यक्तिहरुको समेत सार्थक सहभागिता देखिन थालेको कुरालाई सकारात्मक रुपमा हेर्न सकिन्छ । पर्वले परतिर रहेकालाई समेत वरतिर तान्दैछ । भावनाले कि भौतिक रुपमा ? मूल्याङ्कनको कसीमा छ । 

कलाकारहरुले दनादन गीत गाउने र नाँच्ने काम पाएका छन् । स्वदेश तथा विदेशमा कार्यक्रम गर्न भ्याएका छन् । मुद्रा आर्जनमा अग्रसर देखिएका छन् । हुँदा खाने कलाकारहरु हुने खानेमा दर्ज भएका छन् । आर्थिक मन्दीका बेलामा कलाकारहरुले आफ्नो जीविकोपर्जन राम्रो गरेका छन् । कतिपय कलाकारहरुले देशको राजधानीमा घरबास निर्माण गरी गाडी,घोडा समेत किन्न भ्याएका छन् । छोराछोरीलाई महँगा विद्यालय,कलेजमा भर्ना गरी पढाएका छन् । यो अर्थमा कलाकारहरुका निम्ति यो तीज पर्व उन्नतिपूर्ण भएको ठान्न सकिन्छ । 

पुरानो समयमा चेलीबेटीहरुले माइतीघरमा दुःख बिसाउनका लागि तीजपर्व प्रयोग गर्थे । घरमा  पाएका यातना,दुःख र पीडाहरुलाई माइतीघरको आगनीमा आएर अभिव्यक्त गर्दथे । गुनासो सुनाउँथे । पीरको पन्तुरो फुकाउँथे । हुने खानेहरुले कुहिनाबाट घ्यू चुहिञ्जेल खान्थे । मिठामीठा परिकार खाएर तीजलाई विदा गर्थे । त्यो पुरानो चलनको कुरा भयो ।  नहुनेहरुका कुरा त कसरी सुनाउने र ? नहुनेहरुका लागि तीजले पीडा थप्थ्यो । लाज ढाक्ने सारी किन्न नसकेको बेला फेसेनेवल सारी किन्न ऋण काढ्नु परेको कुरालाई कसरी भुल्न सकिएला ? गहना गुरिया देखाएर नाँच्नुपर्ने बाध्यकारी अवस्थालाई बयान गर्न पनि झ्याउ लाग्छ । 

गीत पनि उस्तै खालका गाउने गर्थे । गीतमा पनि स्वामी र सासुले दिएका दर्द र स्वभावका उल्लेख हुने गर्दथे । भेदभावका कुराहरुलाई उदाङ्गो बनाउँथे । जीवनका भोगाईलाई गीतका लयमा ढाल्थे र भावपूर्ण नृत्य प्रस्तुत गर्थे । घाँस,दाउरा गर्न जाँदा वनपाखामा गाउने गीतहरु तीजका लय,भाखामा उतारिन्थे । 

स्वामी मुख हेरुँ भने खुन खाएको बाघ झैं 
सासु मुख हेरुँ भने पोल्ने आगो झैं । 

यो गीतले तत्कालीन समयको अवस्थालाई उल्लेख गरेको भेटिन्छ । आज यो परिवेश फरक तरिकाले भेटिन्छन् । समस्या नै निमिट्यान्न भएका त होइनन् । समस्याले फरक रुप धारण गरेका भने छन् । समस्या आउँछन् ,जान्छन् । समाधान हुन्छन् । तर चुनौतीका रुपमा समस्या खडा हुन थाल्दा समाजले गति लिन गाह्रो हुन्छ । 

हिजोआज हाम्रा गाउँघर,सहरबजारतिर दरखाने यो चलनलाई विकृति भन्न हुँदैन । त्यसो भनिएमा अनेक प्रश्नोत्तर चल्छ । पुरुषले बाह्रै महिना,तीसै दिन,चौबीसै घण्टा भोज खाँदा केही नहुने महिलाहरुले वर्षमा एक महिनाजति तीजको दरखाने चलनलाई विकृति भन्ने भनेर दोहोरो शाब्दिक भीडन्त चल्न सक्छ । तीजका बेला भेट्नु, दर खानु,नाँच्नु र गीत गाउनुमात्र तीजको विकृति होइन । बरु तीजका दरखाने नाउँमा महिनाभरि नै काम, व्यवहार छाडेर कताकता दौड्नु, दरका नाममा अनेक नसालु चीज समेत खुवाइनु, छाडा गीत र भद्दा नृत्य गर्नुलाई विकृत भन्न सकिएला । यो नेपाली समाजका लागि पाच्य नहुन सक्ला । यदाकदा सामाजिक सञ्जालहरुमा देखिएका पनि छन् । 

पाटीप्यालेस ,होटलहरुमा कार्यक्रम गरिनुलाई अन्यथा मान्नु हुँदैन । धेरै जना जम्मा हुँदा स्थान अभाव हुनु हुँदैन । नाँचगान गर्ने स्थान ठूलो हुनुपर्छ । अनि आर्थिक मन्दीका कारण हावा खाएका होटल र पाटीप्यालेसहरु पनि त चल्नु पर्यो । उनीहरु पनि त आर्थिक रुपमा उकासिनु पर्ला नि ? व्यापार गर्ने थलोलाई धारे हात लगाउनु पनि अपराधै हो कि ? यस्ता कार्यक्रम गर्न सहरबजारमा खाली ठाउँ,चौर,मन्दिर र ओत लगाउने ठाउँ नहोलान् । खानपान गर्ने ठाउँको अभाव रहन सक्ला । व्यवस्थित नहोलान् भन्ने कुरालाई पनि आलोचना गर्ने साथीहरुले सोच्नु पर्ला कि ? 

तर होटल,पाटीप्यालेसमा गरिने तीजको दरखाने कार्यक्रम शालीन,भद्र र व्यवस्थित तरिकाले सञ्चालन गर्न सकिएमा तीज पर्वको मर्यादामा कुनै आँच आउँदैनथ्यो कि ? एकले अर्कालाई विकृतिको बिल्ला भिराउन पर्थेन कि ? आपसीरुपमा मनाउन सकिने तीज पर्वलाई भाइचाराको सम्बन्धमा थप परिभाषित गर्न सकिन्थ्यो कि ? स्नेहील पर्वका रुपमा लिन सकिन्थ्यो कि ? थप मर्यादित पर्वका रुपमा विकास गर्न पो सकिन्थ्यो कि ? 

महिलाहरु हिजोका जस्ता छैनन् । आजका महिला प्रविधिमैत्री छन् । भावनालाई अभिव्यक्त अनेक तरिकाले गर्न सक्ने क्षमता राख्छन् । मादल बजाएर अनि मुखलेमात्र गाएर तीज मनाउनुको साटो नयाँनयाँ विधि,प्रविधि प्रयोग गरेर तीजलाई संसारमाझ पुराउन सक्ने खुवी छ उनीहरुसँग । महिला एकता,समृद्धि,सुदृढीकरण र सम्पन्नताका कथा सुनाएर नयाँपनले तीज मनाउन सक्ने क्षमता आजका महिलामा छ । न कि पुरुषको बद्ख्याइँ गरेर,उनीहरुका कुरा काटेर,उनीहरुका दासत्व स्वीकार गरेर तीजमा बिलौना पोख्न आजका महिलाहरुलाई अनिवार्य छैन । फुर्सद पनि छैन । 

तीज पर्वलाई समृद्ध बनाऔं । सबै महिलाको पर्व हो भन्ने बनाउन आजका महिला अग्रसर हुनुपर्छ । समृद्ध तीजको परिकल्पना आजका महिलाहरुले गर्नुपर्छ । तीज पर्व दरखाने, नाँच्ने र गीत गाउँने पर्वमात्र होइन बरु यो पर्व त लैङ्गिक समानता, समावेशीकरण र समताका लागि ऐक्यवद्ध पर्व हो भनेर सन्देश प्रवाह गर्न सक्नुपर्छ । महिला हिंसाविरुद्धको पर्व बनाउनु पर्छ । सामाजिक,राजनीतिक,सांस्कृतिक अधिकारमात्र होइन आर्थिक अधिकारसहितको महिला अधिकार आजको आवश्यकता हो भनेर कम्मर कसेर लाग्नुपर्छ महिलाहरु । 
यो पर्वले एकतापूर्ण सन्देश दिन सकेमा विकृतिहरु हट्दै जानेछन् र समृद्धिको ढोका खुल्दै जानेछन् । 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार