ताजा अपडेट »

धनकुटाका ग्रामीण पर्यटकीय ठाउँहरु

विहीबार, १३ भदौ २०८१, ०८ : ५७
160 Shares
विहीबार, १३ भदौ २०८१
160 Shares

फुर्पा तमाङ     
सानो छँदा रेडियो नेपालबाट प्रशारण हुने फोनिङ कार्यक्रम खुब सुनिन्थ्यो । कार्यक्रम पाण्डव सुनुवारले चलाउनु हुन्थ्यो । देशका विभिन्न ठाउँबाट स्रोताहरुले फोन गर्थे । गीत फर्माइस गरिन्थ्यो। धनकुटाबाट धेरैले फर्माइस गर्थे । रेडियो कार्यक्रम सुनेदेखि धनकुटा घुम्न जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो । विद्यार्थीकालमा रसुवादेखि धनकुटा जान सम्भव थिएन । झण्डै तीन दशक अघिदेखिको धनकुटा घुम्ने रहर बल्ल पूरा भयो । धनकुटाका पर्यटकीय गन्तव्यहरु सकेजति घुमेँ । पूर्वी नेपालको सुन्दर पहाडी शहर धनकुटा क्षेत्रका पर्यटकीय गन्तव्यहरु यसप्रकार रहेका छन् : 

old house bhedetar

पुराना शैलीका घरहरु :  मदन भण्डारी चोकदेखि भिमनारायण चोकको कुनासम्म बजार फैलिएको छ । सडकको दुईतर्फी पुराना शैलीका घरहरु लस्करै देखिन्छन्। काठको आँखी झ्याल, काठकै खम्बा, दलिन, बुट्टेदार झ्याल–ढोका छन् । घरहरुमा नेवारी सभ्यताको वास्तुकला झल्किन्छ । नेवारी खाजा घरहरु पनि छन् । कोशी प्रदेशको राजधानी विराटनगर तोकेपछि धेरैले घरहरु बन्द गरेर धनकुटा छोडेका रहेछन् । त्यसैले कुनैकुनै घरहरु संरक्षणको अभावमा भत्किन थालेका छन्। भीमनारायण चोकदेखि दायाँतिर जाँदा माथिल्लो कोप्चे र तल्लो कोप्चे टोल पुगिन्छ । दुवै कोप्चेमा असाध्यै सुन्दर पुराना घरहरु रहेका छन्। धेरैका घरको ढोकामा ताल्चा झुण्डिरहेकै देखिन्छन्। ठाउँठाउँमा विश्राम गर्ने वरपिपल चौतारो‚ मन्दिर र पाटीपौवा पनि छन् । साँझ-विहान पैदल हिँड्दा निकै रमाइलो हुन्छ।

ede49c1f-e453-4795-8fd6-7189b4f340a4

निशान देवी मन्दिर : यो मन्दिर धनकुटा बजारको मध्य भागमा रहेको छ। मन्दिरको छाना तामाका पाताले छाएका छन् । मन्दिरको मुल ढोकामा स–साना घण्टी जडित गरेर निर्माण गरेको एउटा विशाल घण्ट ठड्याइएको छ । विशाल त्यो घण्टले धेरैको ध्यान खिच्दछ । मूल ढोकानेरै पानीधारो नेवारीशैलीमा निर्माण गरेको छ । निशान देवीलाई पूर्वी नेपालको शक्तिपीठ मान्दा रहेछन् । नेपाली सेनाले मन्दिरको संरक्षण गरेको पाइन्छ । पृथ्वी नारायण शाहले राज्य एकीकरण गर्दाको बखत मन्दिरको स्थापना भएको बताइन्छ । मन्दिरभित्र रजस्वला भएकी महिलाहरु प्रवेश निषेध छन् । हरेक साँझ दियो बालेर मन्दिरमा आरती हुने गर्दछ ।  

विहीबारे हाट बजार : हाटबजारलाई पूर्वमा हटिया भन्दा रहेछन्। धनकुटाको माथिल्लो कोप्चेमा बिहीबारे हटिया लाग्छ । विहीबारमा बजार लाग्ने भएर बिहीबारे भनिएका हुन् रे । राणाकालदेखि लाग्दै आएको हटियाले निरन्तरता पाएको रहेछ । २०५० साल अघिसम्म हटिया लाग्ने दिन सरकारी अड्डा दिउँसो १ः०० बजे खुल्थ्यो रे । कारण कर्मचारीले किनमेल गरुन् भन्ने । हटियाको दिन बिहान सबेरैदेखि किसानहरु गाउँघरबाट आफूले उत्पादन गरेका अन्नपात, ताजा फलफूल, सागपात, तामा, खसीबोका, कुखुरा, घ्यू, मह, खुकुरी, हँसिया, कोदालो बोकेर ल्याई बेच्न राख्छन् । तराईमूलका बाठा व्यापारीले माछा, सिरक, डस्ना, लुगा बेच्न ल्याउँदा रहेछन्। ग्राहक र किसानबीच सीधा कारोबार हुन्छ । तरकारी बिचौलियाले नाफा नपाउने हुँदा हाट बजार किसानमैत्री देखिन्छ ।  

स्थानीय धार्मिक, साँस्कृतिक पर्व : धनकुटा बजारका नेवारहरुले आफ्नो समुदायको संस्कृतिलाई निरन्तरता दिएका छन् । दशैं–तिहार‚ सिठि‚ गठेमंगल‚ गाईजात्रा पर्व मनाउँछन् । मुखमा मुकुण्डो लगाएर बाजाबाजा बजाउँदै लाखे नाचेर बजार परिक्रमा गर्छन् । यसैगरी राई लिम्बूहरुले टुंडिखेलमा उभौली र उद्यौली पर्वमा जातीय पहिचानको पोशाक लगाएर साँस्कृतिक वाद्य बादन बजाएर गीत गाएर साकेला नाच्छन् ।   

nishan bhagwati mandir dhankuta

सल्लेरी र चुली वन : भीमनारायण चोकको कुनोदेखि सल्लेरी वन शुरु हुन्छ । खोटो सल्ला प्रजातिका रुखहरु भएकोले वनको नामै सल्लेरी वन राखिएको रहेछ । यो वनको फैलावट पातले खोलादेखि शिरमा कागतेसम्म फैलिएको छ । धनकुटा घुम्न जाने पर्यटक‚ कर्मचारी र स्थानीयहरु साँझ विहान टहल्न वनमा टहल्न पाएका छन् । मदन भण्डारी चोकदेखि करिव १५ मीनेट हिँडेपछि अर्को चुली वन पुगिन्छ । यो वन तमोर नदीको डाँडोमा चुलिएको हुनाले चुली वन नाम राखेको बताउँछन् । चुली वनको टुप्पोमा एउटा भ्यू-टावर निर्माण गरिएको छ । टावरबाट तलतिर हेर्दा अरुण र तमोर नदी बगेको देखिन्छ । परतिर हेर्दा भेडेटार र माथितिर हेर्दा हिले बजार देखिन्छ ।    

हिले बजार : धनकुटा पुगेपछि छुट्नै नहुने ठाउँ हिले बजार हो। हिले बजार उहिल्यैदेखि तोङ्बा र सुकुटीको लागि प्रख्यात ठाउँ हो । धनकुटा देखि हिलेसम्मको सडक दुरी ९ किमी छ। हिले बजारमा कहिल्यै गर्मी हुँदैन । वादल र घामको लुकामारी चलिरहन्छ। हिले प्रवेशमै चोकमा तोङ्बाको ठूलो आकृति÷तस्विर ठड्याइएको छ । त्यसले हिले बजार पुग्ने जोकोहीको ध्यान खिचेको हुन्छ र फोटो खिच्न बाध्य बनाई दिन्छ । शनिबारको दिन तोङ्बा खान र तोङ्बा चोकमा फोटो खिच्न भीड लाग्छन् । मीठो तोङ्बा पाउने भएकोले प्रतिकात्मक स्वरुप तोङ्बा चोक बनाइएको रहेछ । हिलेबाट अलिकति माथि गयो भने त्रिशूले डाँडा पुगिन्छ । डाँडामा हिमालय होराइजन होटल र २÷४ वटा स–साना होटलहरु छन् । गर्मी मौसममा तराईका आन्तरिक पर्यटक र भारतीय पर्यटकहरु समेत चिसो खान आउँछन् । त्रिशूले डाँडाबाट टाढाका गाउँहरु, महाभारत पर्वत शृङ्खला र मकालु हिमालको दृश्य अवलोकन  सकिन्छ । 

सुन्तलाको राजधानी : केही वर्ष अघिसम्म यो जिल्लालाई सुन्तलाको राजधानी भनेर चिनिने रहेछ । उत्तरपानी भन्ने ठाउँको हजारौं रोपनी जग्गामा सुन्तला खेती बारे व्यवहारिक ज्ञान दिने उद्देश्यले कृषि प्राविधिक शिक्षालय स्थापना भएको रहेछ । अहिले पनि त्यस ठाउँमा सुन्तलाको बगैंचा छँदैछ । छिन्ताङ आसपास पनि सुन्तालको खेती रहेकै छ । दाना सानो भए पनि स्वादिला र रसिला छन् । हाट बजारमा धनकुटे सुन्तला बेच्न राखिएका हुन्छन् । माथिल्लो कोप्चेलाई ओरेन्ज सिटि नामाकरण गरेर घरहरु सबै सुन्तला रङले पोतिएका छन् । 

62dc4dfe-b042-4ce7-bb4b-386106065beb

एभोकाडो पार्क : धनकुटा बजारको मध्य भागमा एभोकाडो पार्क निर्माण गरेको छ । पार्कमा एभोकाडो (नौनी फल) को अग्लो मूर्ति ठड्याइएको छ । धनकुटा घुम्न आउनेहरुलाई यो पार्कले पनि आकर्षण गरेको पाइन्छ । पार्कभित्र गएर फोटो खिच्न र टहल्न पाउँछन् । पार्क प्रवेशमा कुनै शुल्क लाग्दैन । स्थानीय सरकारले धनकुटालाई एभोकाडो फलको नमुना जिल्ला बनाउने घोषणा गरेका छन् । फल पाक्ने बेला प्रति केजी रु ५० मा एभोकाडो हाट बजारमा खरिद गर्न पाउँछ । 

छिन्ताङ जालपा देवी : छिन्ताङ जालपा देवीलाई पूर्वी नेपालको शक्तिपीठ मान्दछन् । यो मन्दिर धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिकामा पर्छ । हिले बजारबाट जिपमा चढेर डेढ घण्टामा छिन्ताङ पुगिन्छ । बाटामा राई बस्ती‚ बस्ती छेउछाउ सुन्तला, अम्रिसो, रायो, तोरी रोपिएका देखिन्छन् । वि.सं. २०३६ सालको छिन्ताङ विद्रोहमा शहिद भएकाहरुको सम्झनामा निर्माण गरेको शहिदपार्क बाटैमा पर्छ। छिन्ताङ देवीको मन्दिरमा रजस्वला भएका महिलाहरु प्रवेश निषेध छ। साँझ मात्र खुल्ने यस मन्दिरको पुजारी रैथाने राई छन् ।  स्थानीयका किवदन्ती अनुसार संखुवासभाको हम्बुङदेवी (धर्मदेवी) मा विहान र छिन्ताङदेवीमा साँझ पूजा हुन्छ। यी दुई देवीहरु दिदी–बहिनी हुन् । बिहान दिदीको पूजा गरेर हिँडेर आउँदा बहिनीकोमा आईपुग्दा साँझ भएकोले छिन्ताङ देवीमा साँझ पूजा गर्ने परम्परा चलेको बताइन्छ। 

कृषि अनुसन्धान केन्द्र, पाख्रीबास : ब्रिटिश सरकारको सहयोगमा स्थापना भएको पाख्रीबास कृषि अनुसन्धान केन्द्र चाख लाग्दो छ । पूर्वी नेपालको कृषि ज्ञान केन्द्रको रुपमा करिव ३ हजार रोपनी क्षेत्रफल जग्गामा फैलिएको छ । भिरालो गरा परेका कान्ला बारीमा लगाइएको चिया बगान सुन्दर छ । कृषि विज्ञान विषयको स्नातकतहसम्म व्यवहारिक ज्ञान सहितको पढाई हुने रहेछ । घरी घाम लाग्ने घरी वादल लाग्ने यो कृषि फार्ममा कृषिसँग सम्बन्धित विद्यार्थी, अनुसन्धानकर्ता र कृषकहरुका लागि अवलोकन भ्रमणको उपयुक्त ठाउँ रहेछ । 

948bfa17-b1ad-4a69-a952-c1be3217c6f7

यसबाहेक पनि यहाँ धेरै त्यस्ता ठाउँहरु छन् जहाँ पर्यटकले आफूलाई भुलाउन सक्छन् । पाख्रीबास बजारको मुनितिर एउटा सुन्दर कृतिम ताल निर्माण गरेको रहेछ । वरिपरि डाडाँमा चियाबगान छ । सानो मिनि चिडियाखानमा मृग‚ कालिज र बाँदर पालेका रहेछन् । शुल्क तिरेर तालमा डुंगामा सयर गर्न पाइँदो रहेछ । पाख्रीबास बजारदेखि अलि माथि राम्चे डाँडामा अग्लो भ्यू–टावर छ । भ्युटावरबाट मकालु हिमाल, संखुवासभा र भोजपुरका धेरै भूभागहरु देख्न सकिन्छ। पाख्रीबासमा शनिबार हाट बजार लाग्छ। शनिबार लाग्ने भएर शनिबारे हटिया भन्दा रहेछन् । हाटबजारमा कृषि उत्पादन जस्तै, चामल‚ कोदो‚ मकैको च्याँख्ला‚ दाल‚ आलु‚ फर्सी‚ सुन्तला‚ केरा‚ एभोकाडो‚ कुखुरा‚ परेवा‚ बंगुरको पाठापाठी‚ सुर्ती‚ मह‚ घिउ आदि बेच्न राखिएका हुन्छन् । कृषिमा प्रयोग हुने औजारहरु जस्तै कुटो, कोदाली, हँसिया, खुकुरी, फाली, वन्चरो आदि बेच्न राखिएका हुन्छन्।  

भेडेटारदेखि ३-४ किमी टाढा साँगुरीगढी छ । महाभारत पर्वत श्रृंखलाको डाँडोमा युद्ध लड्न बनाइएको किल्ला छ। हाम्रा वीर पूर्खाहरुले यही किल्लाबाट अंग्रेजहरुलाई माथि उक्लिन नदिएको भन्ने युद्ध कथा रहेको छ ।  धरानबाट १५–२० मिनेट गाडीमा चढेर उकालो लाग्दा भेडेटार पुगिन्छ । महाभारत पर्वत श्रृङ्खला अन्तरगत पर्ने यो शितल डाँडा पर्यटकीय गन्तव्यको रुपमा उदाउँदो छ । यहाँ थुप्रै होटल–लजहरु संचालनमा छन् । तराईको गर्मी छल्न जो पनि भेडेटार जान चाहन्छन् । गर्मी मौसममा भेडेटारको होटल/लजहरु खचाखत भरिन्छन् । 

भेडेटारबाट १०/१५ मिनेटमा नाम्जी गाउँ पुगिन्छ । यो गाउँलाई होमस्टे बनाइएको छ । पर्यटकहरुलाई स्थानीयको घर÷घरमा पाहुनाको रुपमा राखिन्छ । स्थानीयले फलाएका खानेकुरा खुवाइन्छ । होटल÷लजहरु भन्दा होमस्टे सस्तो भएकोले थोरै बजेट हुनेहरु नाम्जी जान रुचाउँछन् ।  भेडेटारबाट करिव १ घण्टामा जैतुन पार्क पुगिन्छ । चिहान  डाँडालाई सुन्दर पार्कमा परिणत गरेको रहेछ । अग्लो डाँडामा रहेकोले पार्कबाट तराईको समथर भूभाग र पहाडी भूभाग दुवै देख्न सकिन्छ। गुराँस फुल्ने समयमा निकै रमाइलो हुने रहेछ। घुम्न आएकाहरुका लागि चिया नास्ता र खाने व्यवस्था पार्कमै छ। पार्क प्रवेश शुल्क रु. ५०/-तिर्नु पर्छ। 

4b6e0e62-5e04-404e-b945-36e40dffe96b

जैतुन पार्कबाट जिपमा जाँदा करिव आधा घण्टामा राजारानी ताल पुगिन्छ। यो ठाउँ चिस्यान (सिमसार क्षेत्र) भएकोले गर्मी मौसममा जानु उपयुक्त हुन्छ। रानीतालमा डुंगा चढेर सयर गर्ने सुविधा छ। बजारनेरको राजा ताल भने लगभग सुकिसकेको अवस्थामा रहेछ । धनकुटा जिल्लाको अर्को पर्यटकीय स्थान नमस्ते झर्ना हो । भेडेटारबाट ओरालो झरेपछि केही छिनमै नमस्ते झरना पुगिन्छ । जंगलको बीचमा होटल(लजहरु संचालनमा छन् । जंगलको बीचबाट उत्तरतर्फ फर्किएको सुन्दर झरनाले गर्दा पर्यटकहरुले खुब मन पराउँछन् । गर्मी याममा झरनामा आउनेहरुको ठूलो भीड लाग्ने गर्छ । झरना हेर्न आउनेहरुले प्रवेश शुल्क रु. ५०/- तिर्नु पर्छ ।  

धनकुटाबाट हिँडेर डेढ घण्टामा याक्चना घाट पुगिन्छ । यो ठाउँ तमोर नदीको किनारमा पर्दछ । तमोरका ताजा माछा खान त्यहीं जाँदा सस्तो पनि पाइन्छ । मूलघाट भेडेटारबाट ओरालो लागेपछि केहीबेरमा  मूलघाट पुगिन्छ । तमोरको ताजा माछा‚ बाह्रमासे रातो ऊखु‚ तमोर नदी माथि हालेको बेलीब्रिज‚ बृद्ध आश्रम र जंगली बेल फलको जुसले यो ठाउँ प्रसिद्ध छ ।  धनकुटाबाट हिँडेर डेढ घण्टामा र जिपमा ४० मिनेटमा भिरगाउँ पुगिन्छ । भिर गाउँ मह‚ बदाम‚ एभोकाडो र कृषि उत्पादनका लागि प्रसिद्ध छ । हाट बजारमा बेच्न ल्याइने धेरै जसो कृषि उत्पादन भिरगाउँ क्षेत्रबाट ल्याउँछन् । 

अन्त्यमा, धनकुटाको जलवायू जोकोहीका लागि पनि उपयुक्त छ । धनकुटामा अत्यधिक गर्मी र जाडो दुवै हुँदैन । लामखुट्टे उति लाग्दैन । गर्मी याममा पूर्वी तराई र छिमेकी भारत पर्यटकहरुका लागि गर्मी छल्ने उपयुक्त गन्तव्यको रुपमा धनकुटा क्षेत्रलाई विकास गर्नु पर्छ । ग्रामीण पर्यटन मार्फत ग्रामीण अर्थतन्त्र सवलीकरण समेत हुन्छ । यसले ग्रामीण किसानको मुहारमा खुसी ल्याउँछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।