ताजा अपडेट »

साफ-यू २० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

बुधबार, १२ भदौ २०८१, ०८ : २२
126 Shares
बुधबार, १२ भदौ २०८१
126 Shares

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल बंगलादेश प्रतिस्पर्धा गर्दै छन् । खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ । नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

दुवैले पेनाल्टीसुटआउटमा खेल जितेका थिए । फाइनलअघि मंगलबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाल र बंगलादेश दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयार भएको बताएका छन् ।

नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले फाईनल पुगेका दुवै टिम राम्रो भएकोले खेल प्रतिस्पर्धात्मक हुने बताए । बंगलादेशका प्रशिक्षक मरुफुल हकले फाईनलसम्म यात्रामा धेरै उताचढाव भएको भन्दै फाइनलका लागि तयार रहेको बताए ।

नेपाल र बंगलादेश जारी प्रतियोगितामा दोस्रो पटक आमनेसामने हुनेछन् । यसअघि समूह चरणको पहिलो भेटमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।

नेपालले पहिलो हाफमा दुई मिनेट अन्तरमा दुई गोल गर्दै बंगलादेश माथि दबाब बनाएर जित निकालेको थियो । जसमा समीर तामाङले नेपालका लागि पहिलो गोल गरेका थिए भने अर्को गोल बंगलादेशले आत्मघाती उपहार दिएको थियो । पछि बंगलादेशले पेनाल्टीमा एक गोल फर्काएको थियो ।

समूह ए मा समूह विजेता बन्ने क्रममा नेपालले श्रीलंका र बंगलादेशलाई पराजित गरेको थियो । पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । बंगलादेशले भने श्रीलंकालाई २–० ले पराजित गरेको थियो ।

उमेर समूहमा नेपाल र बंगलादेशबीच भएको खेलमा अहिलेसम्म नेपालले हार व्यहोरेको छैन । यस्तै नेपालले बंगलादेशलाई पराजित गर्दै यसअघि च्याम्पियन बनेको उदाहरण छ ।

सन् २०१५ र २०१७ मा नेपाल च्याम्पियन बन्दा बंगलादेशलाई हराएको थियो । यस्तै यस संस्करणमा पनि नेपालले बंगलादेशलाई एक पटक हराइसकेको छ । नेपाल र बंगलादेशबीच साफ यू२० मा चार पटक खेल हुँदा नेपाल ३ खेलमा विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ । सन् २०२२ मा भएको नेपाल र बंगलादेशले १-१ को बराबरी खेलेका थिए ।

सन् २०१५ मा भएको पहिलो संस्करणको समूह चरणमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो । यस्तै २०१७ मा भुटानमा भएको दोस्रो संस्करणको लिग चरणमा पनि नेपालले बंगलादेशलाई २–१ ले नै पराजित गरेको थियो । यस संस्करणमा पनि नेपालले बंगलादेशलाई समूह चरणको खेलमा २-१ ले पराजित गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।