ताजा अपडेट »

सुरुङ मार्गको प्रगती बुझ्दै मुख्यमन्त्री, चाँडै ब्रेक थ्रु गर्ने तयारी

मंगलबार, ११ भदौ २०८१, १९ : ५८
96 Shares
मंगलबार, ११ भदौ २०८१
96 Shares

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले निर्माणाधिन पाल्पाको सिद्धबाबा सुरुङ मार्गको अवलोकन गरे। सुरुङ मार्गको स्थलग निरिक्षण गर्दै मुख्यमन्त्री आचार्यले प्रगतीबारे जानकारी लिए ।

बन्दै गरेको सुरुङ प्रदेशको पहिलो सुरुङ मार्ग रहेको बताउदै उनले विकास निर्माणको क्षेत्रमा नयाँ युगको सुरुवात भएको स्मरण समेत गरे । चाँडै सम्पन्न भएर नागरिकलाई आवतजावतमा सहजता हुने, पर्यटन प्रबद्र्धनमा समेत यो मार्गले टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै सभामुख तुलाराम घर्तीमगरले सुरुङ मार्गको अवलोकन गर्दै मृत्यु मार्गको रुपमा परिचित सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन सुरुङ मार्ग कोशेढुंगा सावित हुने बताए । 

अहिले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर चौबिसै घण्टा खन्ने काम भइरहेको छ । अवको दुई देखी तीन महिना भित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका ईञ्जिनियर सविता ज्ञवालीले जानकारी दिए ।

यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो योजना अन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिने छ । यस खण्डको चार किलोमिटर पहिरो आउने क्षेत्रभित्र पर्छ ।

सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने यसको निर्माण गरिएको हो । सुरुङको बीचबीचमा आपत्कालीन द्वारका रूपमा तीन वटा क्रस प्यासेज निर्माण भइरहेको छ । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ । क्रस प्यासेजहरूको मात्र कुल दूरी ४ सय ४१ मिटर छ । सुरुङ र क्रस प्यासेजसहितको दूरी भने १ हजार ५ सय ६७ मिटर छ ।

 यो खण्ड भएर साना–ठूलासहित औसतमा दैनिक करिब ५ हजार सवारी ओहोरदोहोर गर्छन । पाँच वर्षभित्र निर्माण सक्ने गरी ०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।