बुटवल । रुपन्देहीको तिलोत्तमामा लेनदेनको विषयमा आपसी विवादका बीच दुर्गा प्रसाईका समर्थक बताउने एक समूहले मँगलबार प्रदर्शन गरेका छन् । तिलोत्तमा-३ स्थित स्थानीय बिमला कुमारी श्रेष्ठले कानूनी रुपमा विक्री गरिसकेको घर पुनः बिमलाले नै पाउनु पर्ने भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।
यद्यपी उक्त घर जग्गा २०७४ साल असार १६ गते पीडित भनिएकी बिमला कुमारीले पशुपती घिमिरेकी श्रीमती राधादेवी पौडेल ९घिमिरे०लाई बिक्री गरेको देखिन्छ । उक्त समय बिमलाले घर विक्री गरेको नभई बन्दगीका रुपमा दिएका कारण पुनः फिर्ता मागेको उल्लेख गरेकी छन् । घर फिर्ता गर्नुपर्ने पक्षमा नारा लगाउँदै दुर्गा प्रशाई समर्थकहरुले जस्तोसुकै कदम चाल्न तयार हुने चेतावनी दिएका छन् । सोही घरमा कार्यालय स्थापना गर्ने घोषणासहित बिमलाको पक्षमा लड्ने प्रतिवद्धता गरिएको प्रसाई समर्थक संस्था राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल जिल्ला संयोजक शंकर कोइरालाले बताए ।
उक्त घर जग्गा ७ वर्ष अगाडी नै खरिद गरेका पशुपति घिमिरले प्रशासनको सहयोगमा खाली गराउन खोज्दा प्रसाई समर्थक बताउने समूहले रोकेका हुन् । यद्यपी घिमिरले ७ वर्षअघि नै उक्त घर जग्गा खरिद गरेका कारण उनकै हुने जिल्ला अदालत रुपन्देही र उच्च अदालत बुटवलले समेत फैसला गरेको छ । उक्त फैसला कानूनी रुपमा सही देखिए पनि लेनदेनअघि आफूहरु बीच भएको भद्र सहमति अनुसार घरजग्गा घिमिरेले आफूलाई फिर्ता गर्नुपर्ने पीडित भनिएकी बिमलाको माग छ । उनका अनुसार कागजातमा जे जस्तो भए पनि पशुपतिबाट आफूले ५ करोड ऋण लिए बापत घरजग्गा नामसारी गरिदिएको र उक्त रकम ब्याजसहित फिर्ता गरेपछि घर जग्गा पनि फिर्ता हुने सहमती भएको थियो ।
तिलोत्तमा ३ ९साविकको आनन्दवन गाविस-३ ‘ख’० स्थित कित्ता नम्बर ३८६९ मा रहेको १६।७५ क्षेत्रफलको जग्गामा बनेको २ तले घरसहित बिमलाले जग्गाको मूल्य २ करोड ३१ लाख तथा घरको मुल्य १५ लाख गरी २ करोड ४६ लाखमा पशुपतिकी श्रीमति राधादेवी पौडेल (घिमिरे)लाई राजीनामा दिएको मालपोत कार्यालयको काजगातमा देखिन्छ । तर उनीहरु बीच भएको अर्को सम्झौता पत्रमा भने बिमलाले ५ करोड ४ लाख पशुपतिकी श्रीमति राधादेवीबाट ऋण लिएको र उक्त रकमको ब्याज वार्षिक २१ प्रतिशतका हिसाबले ३/३ महिनामा किस्ताबन्दी रुपमा बुझाउनु पर्ने उल्लेख गरिएको छ । यसरी बिमलाले ४२ महिनासम्म किस्ताबन्दीमा रकम बुझाउनु पर्ने र उक्त सर्तअनुसार नभए राधादेवीको नाममा पास गरिएको जग्गा उनैले पाउने भनि उल्लेख गरिएको छ । उक्त सर्तअनुसार समयमा ऋण तिर्न नसक्दा आफू घर न घाटको भएको भन्दै बिमलाले बिलौना गरेकी छन् । उक्त घर जग्गा फिर्ता पाउनका लागि पशुपतिले २० करोड रकम माग गरेको भन्दै उनले उक्त रकम बुझाउन नसक्ने तर, हिसाब अनुसारको आउने रकम बुझाउन तयार रहेको बताएकी छन् ।
प्रतिक्रिया