ताजा अपडेट »
भगवती रथ जात्रा

पाल्पामा आज ऐतिहाँसिक भगवती रथ जात्रा, पर्यटन सर्किट बनाउने मुख्यमन्त्रीको संकल्प

मंगलबार, ११ भदौ २०८१, ०६ : ०७
54 Shares
मंगलबार, ११ भदौ २०८१
54 Shares

पाल्पा–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासका लागि ऐतिहाँसिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासको लागि जोड्दै पर्यटन सर्किट बनाउने योजना बनाएको बताएका छन् । प्रदेशभित्रका १२ जिल्ला हिमाल, पहाड र तराइ जोड्नेगरी पर्यटन सर्किटको विकास गर्ने सरकारले तयारी गरेकाे बताएका हुन ।

पाल्पामा आज मनाइने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले सबै समुदाय बिशेषले मनाउने चाड, पर्व, रीतिरिवाज, परम्पारा, धार्मिक मान्यताहरुलाई बराबर सम्मान गर्ने बताएका हुन्। ‘सामाजिक रुपान्तरणका साथै जागरण र चेतना बृद्धिमा मौलिक परम्पराहरुको आ–आफ्नै भूमिका छन् । समाज विकास संग यि परम्परा जोडिएका छन्’उनले भनेका छन्,‘प्रदेश सरकारले धार्मिक, सांस्कृतीक तथा ऐतिहाँसिक स्थल तथा परम्परालाई समृद्धि संग जोड्न चाहन्छ ।’ 

‘धार्मिक तथा सांस्कृतिक परम्पराहरुले समुदायमा एकताको भावना विकास गराउँछन । विभिन्न जात, धर्म र समुदायका मानिसहरुमा एउटै परम्परामा सहभागी हुन्छन्, उनीहरु बीचको सहकार्य र भाइचाराको सम्बन्ध अझ प्रगाढ हुन्छ ।’ ‘धार्मिक र सांस्कृतिक परम्पराहरुले हाम्रा पुराना रीतिरिवाज, परम्परा, धार्मिक मान्यताहरुलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्धत गर्दै आएका छन् ।’ सन्देशमा भनिएको छ ।

आज मंगलबार पाल्पामा भगवती रथ जात्राको निस्कदैछ । राष्ट्रपती रामचन्द्र पौडेलको बिशेष उपस्थितीमा जात्रा निकाल्न थालिएको हो । २०५ औं विजयोत्सव एवं भगवती रथ जात्रा राष्ट्रपति पौडेलले अवलोकन गर्ने कार्यक्रम छ।तानसेन स्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष कृष्णाजन्माष्टीको भोलिपल्ट भगवतीको रथ यात्रा गरिने परम्परा छ । 

विसं १८७७ सालदेखि हरेक वर्ष तानसेनमा कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा निकालिँदै आएको छ । यो जात्रा नेपाल अङ्ग्रेज युद्धमा अङ्ग्रेजलाई नेपाली फौजले पराजित गरेको हुँदा राष्ट्रिय महत्त्व समेत बोकेको छ । युद्धमा निस्कनुअघि कर्णेल उजिरसिं थापाले विजय भएमा ठूलो मन्दिर बनाई हर्ष बढाईसहित सिँदुर जात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए। 

भाकल पूरा भएपछि कर्णेल थापाले मन्दिर बनाई यो जात्रा निकाल्न थालिएको हो । चार  ठाउँ नेपाली फौज पराजित हुँदा यहाँ दुई-दुई पल्ट नेपाली फौज विजयी भएको इतिहास रहेको बताइन्छ । 

लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा आज सार्वजनिक विदा समेत दिएको छ । नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्ण जन्माष्टमीको अर्काे दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहदै आएको छ । 

अङ्ग्रेजलाई पराजित गरेको सम्झनामा पाल्पाको तानसेनमा विजयोत्सव मनाइँदै आइएको छ । पाल्पाको नुवाकोट र बुटवलको जितगढी युद्धमा नेपालले अङ्ग्रेजलाई पराजित गरेको थियो । सोही ठाउँमा तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिरसिंह थापाको नेतृत्वमा  दुई पटकसम्म अङ्ग्रेजसँग भएको युद्धमा नेपालले विजय हासिल गरेको थियो । 

कर्णेल उजुरसिंह थापाले विसं १८७२ मा निर्माण थालनी गरी १८७६ मा तीन तले मन्दिर पूरा गरेका थिए। थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते रुपन्देहीको जीतगढीमा अङ्ग्रेजलाई परास्त गरेका थिए । जात्रालाई धार्मिक आस्थासँगै वीरताको सन्देश दिने राष्ट्रिय पर्वको रुपमा लिइने गरिएको छ ।

तानसेनको भगवती टोलस्थित भगवती मन्दिरबाट बाजागाजाका साथ शुरु हुने रथयात्रा  मुलढोकाबाट निकालेर बजार परिक्रमा गराइन्छ । नेपाली सेनाले पञ्चबली दिई विशेष पूजाअर्जना गरी रथयात्राले बजार परिक्रमापछि भगवती मन्दिर परिसरमै पुगेर विसर्जन गर्ने चलन छ ।

पाल्पा सदरमुकाम तानसेनमा भव्य रुपमा मनाइने भगवती जात्रा हेर्न पाल्पाका गाउँ गाउँबाट र छिमेकी जिल्ला गुल्मी,रुपन्देही,अर्घाखाँची, स्याङ्जा लगायतका ठाउँबाट समेत भक्तजन आउने गर्दछन् । तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजय जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्व र जात्राको रुपमा परिचित छ । 

‘धार्मिक तथा सांस्कृतिक परम्पराहरुले समुदायमा एकताको भावना विकास गराउँछन । विभिन्न जात, धर्म र समुदायका मानिसहरुमा एउटै परम्परामा सहभागी हुन्छन्, उनीहरु बीचको सहकार्य र भाइचाराको सम्बन्ध अझ प्रगाढ हुन्छ’ सन्देशमा भनिएको छ,‘धार्मिक र सांस्कृतिक परम्पराहरुले हाम्रा पुराना रीतिरिवाज, परम्परा, धार्मिक मान्यताहरुलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्धत गर्दै आएका छन् ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।