ताजा अपडेट »

बुटवलको डेल्टा मार्टमा जुत्ता घर पुनः सञ्चालन : १५ देखि ५० प्रतिशतसम्म छुट

सोमबार, १० भदौ २०८१, १९ : २९
3.77K Shares
सोमबार, १० भदौ २०८१
3.77K Shares

बुटवल । आगलागीबाट क्षति ब्यहोरेको बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता घर सोमबारदेखि पुनः संचालनमा आएको छ । असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत पुनः सेवा सञ्चालनमा आएको हो । 

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घरको एक समारोहका बीच लुम्बिनी प्रदेशका पूर्वमन्त्री विष्णु पन्थीले उद्घाटन गर्दै स्वदेशी उत्पादन भाषणमा नभई काम गरेर प्रवर्द्धन गर्नुपर्ने बताए । देशलाई आर्थिक रुपमा सबल बनाउने गरि युवाहरुबाट नै योजनाहरु अघि सार्नुपर्ने उनको तर्क छ । अब भाषणभन्दा पनि काम गरेर देखाउने समय आएको उनले बताए ।

जुत्ता घरमा बेस ग्लोबल प्रालि, लालिगुरास फुटवेयर ईण्डष्ट्रिज प्रालि, शुभकामना फुटवेयर, स्मार्ट शु, एक्सन शु, शिखर शु, पवित्रा शु, रन शु ईण्डष्ट्रिज प्रालि लगायत ८ कम्पनिका ३० ब्रान्डका एउटै छानामुनी ३००० भन्दा धेरै भेराइटी रहेका छन् । यसैगरी १५ देखि ५० प्रतिशतसम्म छुटको समेत व्यवस्था गरिएको छ ।  उद्घाटनका अवसरमा बोल्दै लुगाघरका संचालक प्रकाश भुसालले भदौ ९ गतेदेखि दोस्रो बुटवल जुत्ता चप्पल व्यापार मेला उद्घाटन अघि केही संस्थाहरुबाट लज्जास्पद हर्कत गरिएको दुखेसो गरे । आम उपभोक्तामैत्री सेवा दिन लागेको बेला गलत आरोप लगाईएको भन्दै एमआरपी ट्याग मुल्यमा छुट दिईने गरि आफूहरु लागेको बताए । बजारमा रहेका ब्यवसायीहरुले संस्थाको आडमा उपभोक्ता ठग्ने काम गरेको आरोप लगाए । नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३००० भन्दा धेरै डिजाईनका जुत्ताहरु यहा उपलब्ध हुने उनले बताए । मेलाको आकर्षणको रुपमा स्थानीय उद्योगबाट उत्पादन गरिएको मोजा पहिलो दुई हजार ग्राहकलाई १ रुपैयामा उपलब्ध गराईने उनले बताए । तीज, दशै जस्ता महान चाडपर्व केन्द्रीत विशेष छुट अफर समेत रहेको उनले बताए ।

उद्घाटनअघि भएको पत्रकार सम्मेलनमा जुत्ता उत्पादक संघका अध्यक्ष रुद्र न्यौपानेले नेपालमा १६ करोड जोडी जुत्ताचप्पल उत्पादन गर्न सक्ने क्षमताका पुर्वाधार रहेको उल्लेख गरे । नेपाली बजारको माग भने १० करोड जोर रहेको उनले बताए । करीब ४ करोड जोडी जुत्ताचप्पल बाहिरबाट भित्रने र त्यसमा पनि ढाई करोड जोडी जति ग्रे मार्केटबाट भित्रने गरेको उनले दाबी गरे । ‘यसले राजश्व छलिका साथै आम उपभोक्ता ठगिने काम भएको छ ।’— उनले भने । आफूहरु आन्तरिक प्रतिस्पर्धा गरेर उत्पादन गर्दा उत्कृष्ट उत्पादन उपभोक्तासमक्ष लग्ने समेत दाबी गरे । 

लामोसमयदेखि रोकिएको सेवालाई टेन्ट राखेर नै सेवा दिन लागेको बेला अवरोध आएको उनले बताए । ब्यवस्थापन चेन्ज गरेर उपभोक्तालाई सहज सेवा दिने लक्ष्यसहित योजना बनाएको दाबी गर्दै उनले केही छातासंगठनका व्यक्तिहरु दिग्भ्रमित भएको आरोप लगाए ।

कार्यक्रममा फुटवेयर मेनुफेक्चर एशोसियसन अफ नेपालका केन्द्रिय उपाध्यक्ष सुरज बन्जाडेले नेपालको औद्योगिक उत्पादनमा फुटवेयर क्षेत्रको योगदान उल्लेखनीय रहेको दाबी गर्दै त्यसमा पनि नेपाली फुटवयर जन्य सामान नेपाली उपभोक्ताहरुको मागको ६५ प्रतिशत योगदान नेपाली उत्पादनवाट भइरहेको बताए । 

लुगा घरले जुत्ता चप्पल मेलाको नारासहित बजार सञ्चालनमा ल्याएपनि बुटवलका विभिन्न निजी व्यवसायिक संस्थाहरुले अबरोध तथा तोडफोडमा उत्रिएपछि मेला सब्द हटाएर जुत्ताघरले पुरानै सेवा अफरसहित बजार सञ्चालनमा ल्याएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।