ताजा अपडेट »

लोक दोहोरी गीत प्रतिष्ठानद्वारा बुटवलमा खुल्ला तीज प्रतियोगिता सम्पन्न

सोमबार, १० भदौ २०८१, १९ : ०८
122 Shares
सोमबार, १० भदौ २०८१
122 Shares

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले सोमबार बुटवलमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज तथा सोमबार परेको श्रीकृष्ण जन्माष्टमीको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न गरेको हो । 

प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरका उप प्रमुख सावित्रादेवी अर्यालले मौतिक तीज गीतको संरक्षण गर्दै पछिल्लो समय देखिएका विकृतिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइन् । नेपाली समाज धर्म, सँस्कृति र सम्पराले सम्पन्न रहेको बताउँदै अर्यालले त्यसको संरक्षणका लागि नयाँ पुस्ताले पनि अग्रसर हुनुपर्नेमा जोड दिइन् । यसैगरी प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा प्रतिष्ठान रुपन्देहीका संरक्षक खेमबहादुर हमालले नेपाली समाजको पहिचान जोगाउनका लागि प्रतिष्ठानले ठूलो भूमिका खेल्दै आएको दाबी गरे । 

प्रतियोगितामा बुटवलको होराइजन जी.बी.एस. प्रथम हुन सफल भएको थियो भने बुटवलकै इन्टेलेक्चुअल एकेडेमी दोस्रो तथा एभरेष्ट बोर्डिङ स्कूल तेस्रो हुन सफल भयो । विजेता समूहरुले क्रमशः प्रथम पुरस्कार १५ हजार ५ सय ५५, दोस्रो पुरस्कार १० हजार ५ सय ५५ र तेस्रो समूहले ५ हजार ५ सय ५५ रुपैयाँ नगद राशीसहित प्रमाणपत्र प्राप्त गरेका छन् । सान्त्वना हुन सफल न्यू होराइजन मावि र अक्फोर्ड माविले पनि २ हजार ५ सय ५५ रुपैयाँ नगद राशीसहित पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयबाट १० समुहको सहभागिता रहेको थियो ।

नेपाली कला संस्कृतिको जगेर्नाका लागि प्रतियोगिताको आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका अध्यक्ष विजय सापकोटाले बताए । कार्यक्रममा प्रथम उपाध्यक्ष रितु थापाले स्वागत तथा सचिव विधान कार्की र कल्पना कुसुम ले सञ्चालन गरेका थिए ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।