ताजा अपडेट »

सौगात मल्ल अभिनित चलचित्र ‘बम बहादुर’काे प्रदर्शन कार्तिक ३० मा

सोमबार, १० भदौ २०८१, ०९ : ०८
36 Shares
सोमबार, १० भदौ २०८१
36 Shares

काठमाडौं । अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको चलचित्र ‘बम बहादुर’को प्रदर्शन मिति तोकिएको छ। निर्माण टिमले आगामी कार्तिक ३० गतेलाई चलचित्रकाे प्रदर्शन मिति तोकेको हो। निर्माण टोलीले आइतबार रिलिज मिति सहितको चलचित्रको पोस्टर पनि सार्वजनिक गरेको छ।

पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ। जोन राईले निर्देशन गरेको यस चलचित्रमा सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको सम्मिश्रण छ। निर्देशक राईले यस फिल्मले बम बहादुर नामक पात्रको जीवनमा चार दशक पहिले भएका घटनाहरूको छायाले कसरी वर्तमानमा उनको जीवनलाई प्रभावित बनाएको भन्ने कथा प्रस्तुत गर्ने बताए।

उनले भने,‘यसको कथाले दर्शकलाई बम बहादुरको बाल्यकालको स्मरणमा पुर्‍याउँछ, जहाँ उनका सुन्दर पलहरू एकाएक विगतको घटनाले छिन्नभिन्न हुन्छन्। चलचित्रले वर्तमान र विगतको कथा जोड्दै एउटा नाटकीय क्लाइमेक्समा टुङ्गिन्छ, जसले सस्पेन्स, रोमान्स र सोसल ड्रामाका सबै धागाहरूलाई बुन्दछ।’

Bom-Bahadur_Final-Poster-2

बिष्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस फिल्मको प्रमुख भूमिकामा सौगात मल्लको साथमा  प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, बाल कलाकार वाशित कार्की, सुरेश पाँचकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्र ‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन्। जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस फिल्मको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन्। चलचित्रकाे सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन्।

चलचित्रकाे वितरण आरआर फिल्म्सले गर्नेछ भने पोस्ट प्रोडक्शन क्लासिक सिने युनिभर्समा गरिएकोछ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।