ताजा अपडेट »

शिर्ष  नेतृत्वले नपत्याएका बालेनको सर्वत्र चर्चा

शनिबार, ०८ भदौ २०८१, १३ : ०२
546 Shares
शनिबार, ०८ भदौ २०८१
546 Shares

शिर्ष नेतृत्वले नपत्याएका मेयर बालेन्द्र शाह (बालेन) को अहिले सर्वत्र चर्चा छ । राजधानी काठमाडौंका मेयर बालेनको महिलाले तीज गीतमा मात्र होईन देशको मेची-महाकालीदेखि विदेशमा समेत चर्चा परिचर्चा छ ।

बालेनका बारे चर्चा गर्नुभन्दा पहिला मुलुकको राजनीतिक परिदृश्यको केही चर्चा गरौं । हामी  नयाँ राजनीतिक कोर्षको ३५ वर्षमा प्रवेश गरेका छौँ । यद्यपि नेपालका ठूला दलका शिर्ष भनिएका नेतृत्व राजनीतिक आन्दोलनमा सफल भएपनि सत्ता संचालनका सवालमा चुक्दै गएको अवस्था छ । राष्ट्र सेवक कर्मचारी पनि ईमान्दार, कर्तव्यपरायण बन्न सकेको देखिदैन । जसका कारण मुलुक वास्तवमै नयाँ परिवेशमा जान सकेको छैन  ।

नयाँ नेपाल बनाउन त्याग र सर्मपण देखाउन नसकेकोले यस्तो  अवस्था अवस्था आएको हो । मुलुकमा व्याप्त भ्रष्टाचार, आर्थिक अनियमितता र कालोबजारी नियन्त्रणका लागि वर्तमान नेतृत्व र कर्मचारीहरुको कार्यशैलीमा आमुल परिवर्तन आउन जरुरी छ । तर उहाँहरुमा आनीवानीमा परिवर्तन हुने संकेत देखिदैन ।

नेता कर्मचारीको मिलेमतोः
पछिल्लो समय अर्को डरलाग्दो पाटो भनेको मुलुकको बेथिती भ्रष्टाचार, अनियन्त्रीत बजारका बारे राजनीतिक दलका भातृ संघ, संगठन समेत मौन देखिएका छन् । जसले अझै डरलाग्दो परिस्थीती खडा गरेको छ । हिजो सामान्य विषयमा पनि सडक तताउने संघ संस्था अहिले जनताले बिभिन्न समस्यासँग जुधिरहँदा किन मौन छन् ? यसको उत्तर खोज्न जरुरी छ ।

बोली र व्यवहार एउटै नहुँदासम्म लक्ष्यमा पुग्न सकिदैँन । नेपाली जनताले नयाँपनको अनुभुति गर्न पनि पाउने छैनन् । उहिँ नेता, उहिँ कर्मचारी, पुरानै कार्यशैलीले हामीले कल्पना गरेको सिंहदरबारको अधिकार गाँउमा पुग्न सक्दै–सक्दैन । बर्तमान परिस्थतीले पनि त्यो संकेत गरिरहेको छ ।  आम  नागरिकमा निरासा बढ्दो छ । गाउँगाउँका छोटे राजाहरुको चुरीफुरी जनतालाई पटक्कै मन परेको छैन । जनताले पञ्चायतमा भन्दा निकै गुणा बढी भ्रष्टाचार र बेथिती छ, कर्मचारी पनि बढी अटेरी र नीतिगत भ्रष्टाचार गराउने छन् भनिरहेका छन् । हुनपनि हो कर्मचारीको संलग्नता विना नीतिगत भ्रष्टाचार सम्भव हुँदैन । अहिले खुसी छन् भने ७ सय ५३ पालिकाबाट फाईदा लुटेका तथा प्रदेश र संघीय सांसद, मन्त्री र उनका आसेपासे, ठेकेदार, परिवार, बिचौलिया खुसी छन् ।

राष्ट्र सेवक कर्मचारीले जुन रुपमा आफ्नो पदिय जिम्मेवारी बहन गरेर अगाडि बढ्नुपर्ने हो त्यो गर्न नसक्दा मुलुकका अधिकांश सरकारी कार्यालयमा काममा ढिलासुस्ती, अनियमितता र आर्थिक लेनदेन बढ्दो छ । विकास निमार्णका काममा पनि गुणस्तरीयता पटक्कै भेटिदैन । पुराना नेतामा नयाँ ईनर्जि, नयाँ आइडिया देखिँदैन । धेरैमा शिक्षाको कमी छ । नेतृत्वको असफलताले मुलुकले दुःख पाइरहेका कारण नयाँ पुस्ताबाट नेतृत्वको आवश्यक्ता अपरिहार्य छ । यद्यपी पुराना तीन दसक राजनितिको कोर्ष सञ्चालन गरेका नेतृत्वले यो भावना बुझ्न सकेका छैनन् । जसका कारण मुलुकमा अस्थिरता, अराजकता र भ्रष्टाचार बढिरहेको जगजाहेर नै छ  ।      

मालपोत, नापी, यातायात, कर, भन्सार, राजस्व, स्थानीय तह जस्ता कार्यालयका कर्मचारीहरुले आर्थिक लेनदेनको वातावरण नबन्दासम्म जनताको काममा आलटाल गर्ने, हुने कामलाई पनि अलमलाउने, भोली–भोली भन्ने जस्ता गुनासो सेवाग्राहिहरुले भोगिरहेका छन् । अझ राजश्व, कर कार्यालयका कर्मचारीहरु आफूले मागेको रकम नदिए हिसाब किताब पटक्कै मिल्दैन भनेर जिकिर गरीरहने अवस्था छ । सरकारी खातामा जानुपर्ने राजश्व कर्मचारी आफैले लिएर ठूलो मात्रामा राजश्व चुहावट हुने प्रवृत्ति हामीमाझ छर्लङ्ग छ । यिनै कर्मचारीका कारण ट्याक्स छली, अण्डर बिलिङ्ग, फर्जि भ्याट बिल जस्ता समस्या वर्षौदेखि छन् । हुन त केही शिर्ष नेतृत्व र राजश्वका उच्च पदस्थ कर्मचारी छानबिनमा परेका पनि छन् । तर कारबाहिमा पर्नुपर्ने कतिपय ठूला माछाका काण्डका फाईलहरु खुल्न सकेको छैन । कतिपय नियन्त्रणमा परेर छानबिनमा रहेकाहरुले दिएको तथ्यहरु सार्वजनिक भएबाट डरलाग्दो अवस्था भएको पुष्टि हुन्छ ।

कार्वाही नगर्दा भ्रष्टाचार बढ्दो :
संसदमा सांसद मन्त्रीहरुले फाइल खोल्दिम, काण्डहरु सार्बजनिक गर्दिम भनेर तर्साउने, शैक्षिक प्रमाण पत्र बनाउँदा ५ हजार अतिरिक्त रकम तिर्नु परेको सांसदले नै सार्बजनिक गर्दा समेत न त रकम लिनेलाई कारबाहि भयो न त दिनेलाई ? तसर्थ केपी ओली नेतृत्वले भन्दै  आएको शुशासन पनि भेट्न सकिएको छैन । अझ अहिले ५ वर्षको हदम्याद राखेर भ्रष्टाचार चोख्याउन बहस निकालेका छन् । यो भन्दा लाजमर्दो के हुन्छ ? बरु नेताहरुको घर–घरमा रहेको कालो धन हिम्मतका साथ खोज्न आवश्यक छ । सरकारले सात प्रदेशका सात जना नेता र सातजना उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानविन गरेर श्रोत बिनाको सम्पत्ति छानविन गर्ने हिम्मत मात्र गर्ने हो भनेपनि भ्रष्टाचार न्युनिकरणमा धेरै बल मद्दत पुग्दछ ।

जिम्मेवार पदमा बसेका व्यक्तिहरु नै जिम्मेवार बन्न सकेका छैनन् भने मुलुकमा अब को बाट के आशा गर्नु ? लोकतन्त्रका नाममा साच्चै छाडातन्त्र र लुटतन्त्र मौलाएको छ । पुरानो मानसिकता बोकेका कर्मचारीहरुको पुरानै काम गर्ने शैलीबाट मुलुक नयाँ नेपाल बन्न सक्दैन । नयाँ जनप्रतिनिधिहरुले उनीहरुले जनताले अपेक्षा गरे अनुसार सहज र सरल तरिकाले काम गर्न गराउन लाग्नै पर्छ । अनिमात्र सिंहदरबारको अधिकार गाँउमा पुगेको अनुभुति हुनेछ ।

मेयर बालेनको सर्वत्र चर्चा :
काठमाण्डौका मेयर बालेनको सर्वत्र चर्चा छ । उनको काम गर्ने शैैली धेरैलाई मन परेको छ । तर दलीय नेतृत्व र गुटे राजनीतिमा लागेर राज्यको सम्पत्तिमा तर मार्दै  आएकाहरुलाई उनको कार्यशैली पटक्कै मन परेको छैन ।

कति महिलाहरुले बालेनको कामलाई जोडेर ‘सबै नेता उतै भूले जता चाटे गुलियो, चारैतिर बालेनको चर्चा चुलियो..’ भाकाको तीजको गीत समेत निकालेका छन् । तर यो पनि उनिहरुलाई मन परेको छैन । पोखरा महानगरपालिकाकी कर्मचारी चन्द्राबति वाग्लेले बालेन बारेको गीतलाई लिएर उनि कारबाहिमा परेकी छन् । वास्तवमा यस्तो हुनु हुँदैन । राम्रो काम गर्ने हो भने जनताले सोस्फूर्त प्रसंंशा गर्छन् । राम्रो काम गर्न कसैले कसैलाई छेकेको हुँदैन ।

मुलुकमा संघीय लोकतान्त्रीक गणतन्त्र छ । तर महिलाले गीतसम्म लेख्न गाउन नपाउनुले यो कस्तो लोकतन्त्र ? भनेर प्रश्न उब्जिएको छ । बालेनको नामको गीतले अहिले देश तथा विदेशका महिलालाई समेत जनचेतना फैलाउँदै बिकास निर्माणमा जुट्नुपर्छ भन्ने सन्देश दिएको छ । ३५ वर्ष शासन चलाएकाहरुलाई चन्द्रावतीको गीतले नराम्रो गरि झापड दिएको छ ।

हुन त केही हप्ता अगाडि संघीय राजधानी काठमाण्डौ पुग्दा मेयर बालेनको केही कामहरु अवलोकन गर्ने मौका पाएको थिए । बागमति करिडोर, न्यूरोड, असन, बानेश्वर, तिनकुने, शंखमुल लगायतका ठाउँहरु नजिकबाट अवलोकन पनि गरे । साच्चै पहिलाको भन्दा काठमाडौं बदलिएको छ । सफा सुग्घर, हरियाली छ, पुराना कला संस्कृतिको संक्षण, सडक पेटीको खुलापनले काठमाण्डौको शोभा बढाएको अनुभवब भयो । बागमति करिडोरका केही चौपारीमा विद्यार्थीले पढिरहेका थिए केही ठाउँमा बालबालिका खेल्दै रमाएका थिए ।      

पछिल्लो समय विश्व परिवेश नियाल्दा कतिपय मुलुकमा यूवा नेतृत्वले मुलुकको शासन सत्ता सम्मालेर बिकासमा छलाङ मारेर सहजै छोटो समयमै नेतृत्व हस्तान्तरण गरेको परिवेश भेटिन्छ । तर हाम्रो मुलुकमा तीन दशक बित्दा पनि एउटै नेतृत्वले सकि नसकि नेतृत्व गरी रहेको  अवस्था छ । जसलेगर्दा अहिलेको नयाँ पिढीले खोजेको विश्व परिवेशको परिवर्तन हुन सकेको छैन । पटक-पटक सत्तामा पुगेर असफल भएका ठूला राजनीतिक दलका ३ शिर्ष नेतालाई जनताले यथार्थमा स्विकार गरेको अवस्था छैन तर पनि उहाँँहरु गठबन्धन बनाउँदै सत्ता छोड्न सकिरहनु भएको छैन ।

उहाहरु मुलुक र मुलुकका जनताको हितका लागि कामगर्ने भन्दा पनि आफ्नै पालामा भएको बिभिन्न बिकृति, बिसंगति, भ्रष्टाचार, बिभिन्न काण्ड ढाकछोप र आरोप प्रत्यारोप गरेर आफ्नै कमी कमजोरी ढाकछोपमा लागेको अवस्था छ । हामीले अपेक्षा गरेको संघीय लोकतान्त्रीक गणतन्त्र यस्तो हुँदैहोईन । यसले आम मानिसमा झनै दलिय नेतृत्व र जनप्रतिनीधि प्रति बिश्वास घटाएको  छ । 

उता राजनितिक अस्थिरता, आर्थिक मन्दी र कोरोना संक्रमणको प्रभावका कारण ठूला उद्योग धन्दा बन्द हुँदै गइरहेका छन् । जसले ठूलो जनशक्ति बेरोजगार बन्न बाध्य छन् । तर यस्ता समस्याप्रति शिर्ष नेतृत्व, सरकार र सरोकारवाला निकायको खासै ध्यान पूग्न सकेको छैन । मुलुकको बेरोजगार र गरिबीप्रति उनीहरुको ध्यान नपुग्दा गरिबीको रेखामुनि रहेका आम नागरिकहरु मर्नु न बाच्नुको अवस्थामा छन् । तर सरकारको जनमुखी काम तिर पटक्कै ध्यान जान सकेको देखिदैन । सम्भावना नै सम्भावना भएको मुलुक राज्य संचालकले चिन्न नसक्दा यूवाहरु विदेशिने क्रम पनि बढ्दो छ । जस्का कारण उच्च  मा.बि र कलेजहरु खालि हुने अवस्था छ । कृषि र पर्यटन क्षेत्रमा प्रसस्त संम्भावना र आधार भए पनि स्पष्ट योजनाको अभावमा स्वदेसमा केहीगर्ने क्षमता भएका यूवाहरु समेत कामको खोजिमा विदेशिन बाध्य छन् । दलिय नेतृत्व सरकार गिराउने बनाउने मै दंग छ । यस्तो स्थितीले देश दिन-प्रतिदिन हरेक क्षेत्रमा ओरालो  लाग्दै गएको छ ।

यथार्थमा दलिय र्शिष नेतृत्वको कारण यो सिस्टम फेल भैइसकेको अवस्था छ । नेतृत्वले गल्तिहरु गरेर भिरको डिलमा पुगिसकेका छन् । उनीहरु सच्चिनुको सट्टा आफ्ना कमि कमजोरि ढाकछोप गर्न एक आपसमा दोसारोपण गरेर बच्ने प्रयास भैइरहेको छ । तर अव यो दिन लामो समय जाने लक्षण देखिदैन । मुलुकले बालेन शैलीको परिणाममुखी काम खोजिरहेको अवस्था छ । तर शिर्ष नेतृत्व बालेन शैलीका कामलाई नै गलत साबित गर्न जालझेलका तानाबाना बुनिरहेछन् । यो प्रवृत्तिले मुलुक र जनताको हित गर्दैन बरु यस्तै अवस्था रहे केही समयमै मुलुकको राजनीतीमा ठूलै उथलपुथल नआउला भन्न सकिदैन । 

दामोदर खनाल
लेखकको बारेमा
दामोदर खनाल
स्तम्भकार