ताजा अपडेट »

पुरानो बटौली क्षेत्रलाई पुनस्स्थापित गर्ने बुटवल उपमहानगरको योजना

शुक्रबार, ०७ भदौ २०८१, ०७ : ४३
80 Shares
शुक्रबार, ०७ भदौ २०८१
80 Shares

बुटवल। बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने गरी बुटवल उपमहानगरपालिकाले छलफल थालेको छ। बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई पूरानै अवस्था झल्काउने गरी पुनस् निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ बुटवल उपमहानगरपालिकाले छलफल थालेको हो।

सोहीअनुसार शुरुमा वडा नम्बर १ का केही घरहरुको पुनस् निर्माण गर्ने, मर्मत गर्ने र पहिले जसरी व्यापार व्यवसाय सञ्चालन गर्ने अवस्थामा पुर्‍याउनका लागि अध्ययन गरेर बाँकी काम अगाडि बढाएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार अहिले माथिल्लो पुलको गणेशथान मन्दिरदेखि सिद्राबजार र लायन्सगेटसम्मको क्षेत्रका ४२ घरलाई पुनस्थापित गर्ने गरी योजना बनाइदैछ। जसका लागि स्थानीयसँग छलफल गर्ने, इच्छुकलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्ने र नगरले आर्थिक रुपमा सहयोग गर्ने गरी प्रारम्भिक योजना बनेको प्रमुख पाण्डेयले बताए।

'बटौली बजारलाई कसरी गुल्जार बनाउन सकिन्छ भन्ने विषयमा हामीले धेरै अघिदेखि छलफल चलाउँदै आएका छौं', उनले भने, बटौली बजारलाई सांस्कृतिक र पर्यटकीय रुपमा स्थापित गर्न सकिन्छ। पुरानो बुटवलका नामले परिचित बटौलीमा थुपै पुराना र ऐतिहासिक घरहरु छन्। ती घरहरुमध्ये जीर्ण भएका र पुननिर्माण गर्न सम्भव हुने घरहरुलाई नयाँ स्वरुप दिएर पूरानो बुटवलको मौलिकतामा लैजाने गरी शहरी विकास मन्त्रालयसँग छलफल भइरहेको प्रमुख पाण्डेयले बताए। उनका अनुसार बटौलीलाई मौलिक शैलीमा जोगाएर यहाँको पहिचानलाई उजागर गर्ने र बटौलीमा परम्परागत शैलीको व्यापारलाई पुनस्थापित गर्ने योजनामाथि छलफल भइरहेको छ। चालु आर्थिक वर्षमा पूरानो बुटवल क्षेत्रमा हाइमास्ट लाइट र परम्परागत फल्चा निर्माणका लागि बजेट छुट्याइएको र अरु क्षेत्रगत विकासका लागि समेत बजेट विनियोजन गरेको प्रमुख पाण्डेयले बताए।

जसअनुसार शुरुमा ४२ वटा घरहरुलाई नमूनाका रुपमा काम अगाडि बढाउने र त्यसपछि बाँकी घरहरुलाई पुरानै शैलीमा रुपान्तरण गर्ने गरी नगर विकास कोष, बुटवल उपमहानगरपालिका र स्थानीयबासिन्दाबीच सहमति गरेर काम अगाडि बढाउने गरी योजना तयार भएको बुटवल उपमहानगरपालिकाका शहरी विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए। तीन पक्षबीच सहमति भइ काम शुरु भएमा २ वर्षमा सबै काम सकेर स्थानीयले बजार सञ्चालन गर्नसक्ने गरी नगर विकास कोषले गरेको अध्ययन रिपोर्टमाथि परामर्शदाता टोली र बुटवल उपमहानगरपालिकाबीच छलफल भएको श्रेष्ठले बताए। बजार धेरै पुरानो भएपनि ६२ वर्षअघि मात्र बुटवलले नगरको मान्यता पाएको हो। बटौली बजारलाई

२०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखियो। पञ्चायती व्यवस्था सुरु भएपछि भने यसलाई बुटवल–खस्यौली नगर पञ्चायत भन्न थालियो। २०४६ सालपछि बुटवल नगरपालिका उल्लेख भयो। २०७१ साल मंसिरमा साविक सेमलार र मोतीपुर गाविसलाई समेटेर उपमहानगरपालिकामा स्तरोन्नति भएको हो। बटौली बजार कुनै समय अहिलेको मुख्य बजार भन्दा तिनाउपारि मात्र सीमित थियो । २०२० को दशकतिर तिनाउवारि खस्यौलीमा पनि बस्ती र बजार विस्तार हुँदै गए। २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलको कार्यालय भएको ठाउँ हाटबजारलाइनमा सरेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।