ताजा अपडेट »

गुल्मीमा काठका भाँडा बनाउने चुँदारा समुदायको पेसा सङ्कटमा

विहीबार, ०६ भदौ २०८१, १४ : १४
214 Shares
विहीबार, ०६ भदौ २०८१
214 Shares

गुल्मी । पछिल्लो समय यहाँ काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रुपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडा बिक्री हुन थालेपछि आफ्नो पेसा सङ्कटमा परेको मालिका गाउँपालिका‐७ घमिरका नरबहादुर कार्कीले बताए । 

आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सुपथ मूल्यमा आकर्षक देखिने आधुनिक प्रविधिका भाँडाकुँडा प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको कार्कीले बताए । ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिएका ठेका, आरी जस्ता भाँडा दूध, दही र मही राख्नका लागि प्रयोग गरिन्छ । काठका भाँडामा राखेको दही र मही चाँडो नबिग्रिने हुँदा खानका लागि निकै स्वादिलो र राम्रो मानिन्छ । 

पछिल्लो समयमा विस्तारै गाउँघरमा काठबाट निर्मित सामग्री विस्तारै लोप हुँदै जान थालेको मुसिकोट नगरपालिका–२ का धनबहादुर नेपाली बताउछन् । नयाँ पुस्ता बिस्तारै गाउँ छाडेर सहर तथा विदेश जाने र पुराना पुस्ता मात्रै रहेपछि यस्तो समस्या आएको उनले बताए । परम्परागत पेसा र पुराना सामग्रीको संरक्षण गर्न स्थानीय पालिकाले पनि खासै चासो देखाएका छैनन् ।पालिकाले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत खासै प्राथमिकता नदिइएको चुँदारा समुदायको गुनासो छ । 

परम्परागत पेसाको संरक्षण र त्यसको बजारीकरणमा खासै चासो नदिँदा गाउँघरमा बिस्तारै काठका भाँडा लोप हुँदै जान थालेका हुन् । बजारमा पाइने प्लास्टिकबाट निर्मित भाँडा झट्ट देख्दा आकर्षक देखिने र मूल्य पनि काठका भाँडाको तुलनामा सस्तो पर्ने भएका कारण पनि यस्तो समस्या आएको गुल्मी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष जनक पन्तले बताए । यस्ता प्रकारका परम्परागत सामग्री र वस्तुहरुको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि पालिकाहरुले विशेष ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए ।

परम्परागत शैलीबाट निर्माण हुने सामग्रीहरुको उत्पादन गर्न समय धेरै लाग्ने र अलि खर्चिलो हुने बताइएको छ । परम्परागत रुपमा यो पेसा गर्दै आएका व्यवसायी पछिल्लो समयमा काठका भाँडा बनाउने पेसाबाट आफ्नो गुजारा चलाउनसमेत गाह्रो भएको बताउँछन् । आफूले निर्माण गरेका सामग्री बिक्रीका लागि गाउँगाउँ डुलाउँदा पनि कहिलेकाहीँ बिक्री नहुँदा रित्तै खाली हात फर्किनु परेको छत्रकोट गाउँपालिका‐१ हुँगाका यमन सुनारले गुनासो गरे ।  

काठबाट निर्मित भाँडाको महत्वका बारेमा जानकारी नभएका कारण पनि पछिल्लो समयमा चुँदाराको पेसा सङ्कटमा परेको हो । गाउँघरमा गिठीको काठबाट निर्माण गरिएका ठेकाको मूल्य बजारमा रु सात सयदेखि रु छ हजारभन्दा धेरै मूल्य पर्ने गर्दछ । जिल्लामा पछिल्लो समयमा आयोजना गरिने मेला महोत्सवलगायत सहकारी पसल र कोसेली घरमा यस्ता प्रकारका सामग्री बिक्रीका लागि राखिएका हुन्छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।