ताजा अपडेट »

महावाणिज्यदूतावास बन्द हुँदा पोर्चुगलका नेपाली समस्यामा

विहीबार, ०६ भदौ २०८१, १३ : ०३
24 Shares
विहीबार, ०६ भदौ २०८१
24 Shares

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनस्थित अवैतनिक महावाणिज्यदूतावास बन्द हुँदा यहाँ रहेका नेपालीले समस्या खेप्नुपरेको छ । महावाणिज्य दूतावास बन्द हुँदा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणमा सास्ती खेप्नुपरेको पोर्चुगलवासी नेपालीले गुनासो गरेका छन् ।

उनहरूले पोर्चुगलमा दूतावास स्थापना नभएसम्मका लागि लिस्बनबाटै कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा सञ्चालन गर्न माग गरेका छन् । कागजात प्रमाणीकरणको समस्याले पोर्चुगल बसाइको वैधानिकताको प्रक्रियामा रहेका हजारौँ नेपाली प्रभावित भएका छन् ।

लिस्बनबाटै प्रवाह हुँदै आएको सेवा बन्द भएपछि विशेषतः यहाँको आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड) का लागि आप्रवासी मामिला हेर्ने निकाय (आइमा) मा बायोमेट्रिकको तयारीमा रहेका नेपाली बढी मारमा परेका छन् । यहाँको कागजी प्रक्रियाको प्रयोजनका लागि नेपालबाट ल्याइने प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्ता लगायतका कागजात प्रमाणीकरणको सेवा लिस्बनबाट नपाउँदा यहाँ रहेका नेपालीले सास्ती भोग्नुपरेको हो ।

महावाणिज्यदूतावास बन्द हुँदा कागजात प्रमाणीकरणका लागि समस्या झेल्नुपरेको इलामका हरिबहादुर मुखियाले बताए । आवास अनुमतिपत्रका लागि पेस गर्नुपर्ने प्रहरी रिपोर्टको प्रमाणीकरणको झन्झटले तनाव बनाएको मुखियाले गुनासो गरे। “यही सेप्टेम्बरको पहिलो साता मेरो बायोमेट्रिक छ । मेरा धेरै साथीहरूको पनि यही सेप्टेम्बरमै बायोमेट्रिक छ । दुई वर्षदेखि कार्डको पर्खाइमा थिए ।

अब त कार्ड बन्ने भयो भनेर खुसी भएको कागजात प्रमाणीकरणको झमेलाले हैरानी खेप्नुपरेको छ”, मुखियाले दुःख ब्यक्त गर्दै भने । “अहिले नेपाली दूतावास पेरिसले प्रमाणीकरण गरिदिने भएपछि केही राहतको अनुभूति गरेको छु । दस्तुर त साह्रै महँगो रहेछ । १२ युरोमा हुने कामको लागि एक सय युरो तिर्नुपर्ने भएछ । प्रमाणीकरण भएपछि फेरि मगाउनु पयो । त्यसमाथि कुरियर खर्च पनि थपिने भयो । साह्रै झन्झट हुने भयो ।” उनले अगाडि थपे ।

बुटवलका हरिप्रसाद पाण्डेको समस्या पनि उस्तै छ । फ्रान्स हुँदै दुई वर्षअघि पोर्चुगल आउनुभएका पाण्डेको पनि यही सेप्टेम्बरमा बायोमेट्रिकको मिति तय भएको छ । पेस गर्नुपर्ने सबै कागजपत्र तयार भए पनि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरण रोकिँदा दुई साता रनभुल्लमै बितेको पाण्डेले सुनाए । “प्रमाणीकरणको काम रोकिएपछि नेपालबाट मगाएको प्रहरी रिपोर्ट दुई सय युरो खर्चेर केही दिनअघि दलालमार्फत भारत पठाउन बाध्य भए । रू दुई हजारमा हुने कामलाई रू ३५ हजार खर्च गर्नुपर्‍यो । यो त साह्रै झन्झटिलो र खर्चिलो भयो । त्यसमाथि प्रमाणीकरणको तनावले हैरानी खेप्नुपर्‍यो । महावाणिज्यदूतावास बन्द हुँदा हामीले पो सास्ती भोग्नुपर्‍यो,” आफ्ना पीडा सुनाउँदै पाण्डेले भने ।

मुखिया र पाण्डेको जस्तै कागजात प्रमाणीकरणको समस्याले सर्लाहीका बिक्रम आले पनि तनावमा परेका थिए । महावाणिज्यदूतावास बन्द हुँदा कागजात प्रमाणीकरणमा समस्या भएको आलेले गुनासो गरे । आवास अनुमतिपत्रका लागि बायोमेट्रिकको तयारीमा रहेका आलेले पनि एक साता अघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न दलालमार्फत भारत पठाएको बताए । सबै कागजात तयार नै थियो । “अकस्मात् महावाणिज्यदूतावास बन्द हुँदा प्रमाणीकरण कहाँ गएर कसरी गर्ने भन्ने अन्योलमा पारियो”, उनले भने । कागजात प्रमाणीकरणका लागि भारत पठाउनु पर्दा धेरै खर्चिलो भएको आलेले दुःखेसो गरे ।

यसैबीच, फ्रान्सको पेरिसस्थित रहेको नेपाली दूतावासले शुक्रबार एक सूचना जारी गर्दै पोर्चुगलका नेपालीलाई कागजात प्रमाणीकरणको सेवा दिने जानकारी दियो । जसमा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरे बापतको दस्तुर एक सय युरो अर्थात् झण्डै १४ हजार सात सय रूपैयाँ लाग्ने दूतावासले उल्लेख गरेको छ ।

महावाणिज्यदूतावासले भने सोही प्रकृतिको प्रहरी रिपोर्टको भाषा अनुवादसहित प्रमाणीकरण गरेवापतको दस्तुर १२ युरो अर्थात् झन्डै एक हजार आठ सय रुपैयाँ लिने गरेको थियोे । दूतावासले प्रहरी रिपोर्ट प्रमाणीकरणवापतको दस्तुर चर्को तोकेको भन्दै पोर्चुगलका नेपालीले असन्तुष्टि जनाएका छन् भने लिस्बनबाटै कन्सुलर सेवा पाउनुपर्ने माग गरेका छन् ।

नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्णतः निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । त्यसमाथि विश्वको जुनसुकै मुलुकमा रहेका नेपालीले सहज र सरल रूपमा अनलाइनको माध्यमबाट प्रहरी चारित्रिक प्रमाणपत्रका लागि आवेदन दिन र अनलाइनबाटै पाउन सक्ने व्यवस्था समेत गरेको छ भने उक्त प्रमाणपत्रलाई काठमाडौँस्थित रहेको कन्सुलर विभागले समेत जम्मा पाँच सय रूपैयामै प्रमाणीकरणगरी अनलाइनबाटै सहज र सरल रूपमा सेवा उपलब्ध गराउँदै आएको छ ।

महावाणिज्यदूतावास बन्द हुँदा बायोमेट्रिकको तयारीमा रहेका हजारौँ नेपाली मारमा परेको गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापाले बताए । पछिल्लो समय आप्रवासीका लागि पोर्चुगलले समेत कडाइ गरेको अवस्था छ । कागजात प्रमाणीकरणको झमेलाले नेपालीहरू थप मारमा परेका छन् । पोर्चुगलबासी नेपालीको सहजताका लागि लिस्बनबाटै कन्सुलर सेवा सुचारू हुनुपर्ने थापाको भनाइ छ । फ्रान्समा रहेको नेपाली दूतावासले कागजात प्रमाणीकरणको सेवा दिने भए पनि चर्को सेवा शुल्कका कारण पोर्चुगलका नेपाली मारमै परेको थापाले बताए ।

गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले महावाणिज्यदूतावास बन्द हुँदा कागजात प्रमाणीकरणमा समस्या देखिएको बताए । लिस्बनबाटै पाइँदै आएको सेवा बन्द हुँदा कागजात प्रमाणीकरणका लागि नेपाली दूतावास फ्रान्स र भारतको नयाँ दिल्लीस्थित रहेको पोर्चुगिज दूतावास र नेपाली दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने बाध्यता सिर्जना भएको सापकोटाले बताए । “यसले धेरै नेपालीलाई गाह्रो भएको छ । दूतावास नआउन्जेलसम्मका लागि महावाणिज्यदूतावासको सेवालाई नै निरन्तरता दिएको भए यो खालको समस्या नै आउने थिएन”, सापकोटाले भने ।

सूचनाविना नै अकस्मात् महावाणिज्यदूतावास बन्द हुँदा यहाँ रहेका हजारौँ नेपालीले समस्या भोग्नुपरेको नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगरले बताउनुभयो । कागजात प्रमाणीकरणको समस्याले पोर्चुगलमा नेपालीको अवस्था विकराल बनेको उनले बताए । दूतावास आएको छैन । भएको महावाणिज्यदूतावास पनि बन्द गरिएको छ । त्यसमाथि पेरिस दूतावासले चर्को शुल्क तोकेको छ । १२ युरोमा हुने कामको लागि दुई–तीन सय युरो खर्च हुने देखियो । दूतावासको सेवा त धेरै महँगो परेको थियो । आक्रोश पोख्दै मगरले भने “पोर्चुगलवासी नेपाली माथि राज्यले अन्याय गरेको छ । यसको तत्काल समाधान गरिनुपर्छ । सहज र सुलभ ढङ्गले यहाँका नेपालीले लिस्बनबाटै सेवा पाउनुपर्छ ।”

यता पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले भने पोर्चुगलमा देखापरेको समस्याका विषयमा आफू जानकार रहेको र सो सम्बन्धमा समाधानका लागि प्रयास भइरहेको बताए । “त्यहाँ देखापरेको समस्या समाधानका लागि टोली खटाएरै भए पनि कन्सुलर सेवा दिने योजना बनाएका छौँ । जतिसक्दो छिटो लिस्बनबाटै कन्सुलर सेवा दिने तयारी गरिरहेका छौँ”, राजदूत भट्टराईले भने ।

दूतावासले बायोमेट्रिकको तयारीमा रहेका नेपालीलाई लक्षितगरी प्रहरी रिपोर्टको प्रमाणीकरणका लागि आएका कागजात सकेसम्म छिटो उपलब्ध गराउने गरी काम गरिरहेको उनले बताए । प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणवापत दस्तुर अत्यधिक बढी भयो भन्ने गुनासोका सन्दर्भमा राजदूत भट्टराईले दस्तुर दूतावासले तोकेको नभई राज्यले तोके बमोजिम नै उल्लेख गरिएको स्पष्ट पारे ।

गत साउन १५ गते महावाणिज्यदूतावास बन्द भएपछि दुई साताभन्दा बढी कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा ठप्प भएको थियो । कागजात प्रमाणीकरण के–कसरी र कहाँबाट गर्ने भन्ने अन्योल सिर्जना भएको थियोे । पोर्चुगलको आवास अनुमतिपत्र, पारिवारिक पुनःमिलन वा अन्य कागजी प्रक्रियाको प्रयोजनका लागि नेपालबाट ल्याइने जन्मदर्ता, प्रहरी चारित्रिक प्रमाणपत्र, विवाह दर्ता, नाता प्रमाणित लगायतका कागजातलाई नेपाल सरकारको आधिकारिक निकायले प्रमाणिकरण गर्नुपर्ने हुन्छ ।

पोर्चुगलमा नेपाली दूतावास नभए पनि हालसम्म कागजात प्रमाणीकरण लगायतका कन्सुलरसम्बन्धी काम लिस्बनस्थित रहेको महावाणिज्यदूतावासले गर्दै आएको थियो । दूतावास बन्द भएपछि पोर्चुगलको आवास अनुमतिपत्र र पारिवारिक पुनःमिलनका लागि नेपालबाट ल्याइने जन्मदर्ता, प्रहरी चारित्रिक प्रमाणपत्र, विवाह दर्ता, नाता प्रमाणित लगायतका कागजातलाई फ्रान्सस्थित रहेको नेपाली दूतावास र भारतको नयाँ दिल्लीस्थित रहेको पोर्चुगिज दूतावास र दिल्लीस्थित रहेको नेपाली दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

पोर्चुगलका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति भने तय भइसकेको छैन । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि राजदूत सिफारिस गरेको छ । यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस भएका सनिल नेपाल भने पोर्चुगल आउन नपाइ फिर्ता बोलाइएका थिए । हाल उहाँ स्पेनका लागि राजदूत सिफारिस भएका थिए ।

हालसम्म नेपाली दूतावास नभएको पोर्चुगलमा अवैतनिक महावाणिज्यदूतावासले विगत १० वर्षदेखि कागजात प्रमाणीकरण लगायतका कन्सुलरसम्बन्धी सेवा दिँदै आएको थियो । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ५० देखि ६० हजारको हाराहारीमा रहेको अनुमान छ ।

यसैबीच केहीदिन अघि मात्रै राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले राजधानी लिस्बनमा घुम्ती शिविर सञ्चालन गरेर तीन हजार आठ सय बढी नेपालीलाई राहदानी सेवा दिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।