ताजा अपडेट »
जुम्लामा स्याउ खेती

जुम्लामा ३ हजार ९ सय हेक्टरमा स्याउ खेती, स्याउ पाकेसंगै बारीहरू राताम्य

विहीबार, ०६ भदौ २०८१, ०९ : ११
54 Shares
विहीबार, ०६ भदौ २०८१
54 Shares

जुम्ला । जुम्ला मिठाे तथा अर्गानिक स्याउका लागि नेपालमै प्रख्यात छ । जुम्लाको एक नगरपालिका साथै सात वटा गाउँपालिकाका ६० वटा वडाहरूमा स्याउ फल्ने गर्दछ। यी वडाहरूमा  रेड, रोयल र गोल्डेन जातका स्याउ फल्छन्। जुम्लामा  स्याउ पाक्न थालेपछि बगैंचाहरू राताम्य बनेका छन ।

अहिले  जुम्लामा स्याउ  व्यापारीहरूको चहलपहल बढेको छ भने किसानहरू स्याउ टिप्न व्यस्त छन् ।  व्यापारीहरू स्याउ खरिद गर्नका लागि बगैँचासम्मै पुग्न थालेका छन्।  जुम्लाको प्रमुख आम्दानीको स्रोतका रूपमा रहेकाे स्याउ जिल्ला बाहिर निर्यातका लागि स्थानीय तहले पनि सिफारिस दिन सुरु गरिसकेका छन्।

जिल्ला कृषि विकास कार्यालयका अनुसार, यस पटक ३ हजार ९ सय हेक्टरमा स्याउ रोपिएको छ, र १९ हजार घरधुरीमा स्याउ बगैंचा रहेका छन्। यो वर्ष १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान पनि गरिएको छ भने उत्पादित स्याउ मध्य ८ हजार मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात हुने  तथा  यसबाट ४० करोड रुपैयाँ आम्दानी हुनेअनुमान गरिएको छ।

कृषि विकास कार्यालयले भदौको पहिलो सातासम्म स्याउ नटिप्न भनि सूचना जारी गरेको भएतापनि  केही किसानहरूले सुर्खेत र नेपालगन्जसम्म स्याउ पठाइसकेका छन्।  जुम्लाको गुठिचौर गाउँपालिका-४ उखाडी गाउँका  किसान रामाकान्त पाण्डेको स्याउ बगैंचा अहिले राताम्य भएको छ। उनका करिब ८ सय बोट मध्ये ४ सयमा स्याउ फलेका छन्। स्याउ पाकेसँगै बगैचा स्याउले राताम्य बनेका हुन्।  राताम्य बगैचाले पाण्डेको मुहारमा चमक थपिदिएको छ।

"स्याउले कलर दिइसकेको छ," उनले उत्साहित हुँदै सुनाए। पाण्डेले २०५३ सालमा मष्ठ माणु कृषि तथा स्याउ फार्म स्थापना गरी स्याउ खेती व्यसायिक खेती सुरु गरेका थिए। त्यस्तै, सिँजा गाउँपालिका-५ गोरागाउँका रामसिंह रावलको बगैंचामा पनि उनले झन्डै ७ सय स्याउका बिरुवा राेपेका थिए जसमा ३ सय बाेटले हाल फल दिन थालेका छन्।

Untitled-2

रावलले गत वर्ष मात्रै स्याउ बेचेर पाँच लाख रुपैयाँ आम्दानी गरेका थिए। यस वर्ष ८ लाख रुपैयाँसम्म आम्दानी गर्ने उनको लक्ष्य छ। "स्याउ पाक्न थालेसँगै जुम्लाका गाउँहरूअहिले राताम्य देखिन्छन्। स्याउ जुम्लाको आम्दानीको एक प्रमुख स्रोत  रहेकाे किसान रावलले सुनाए। जुम्लाकाे तिला-७ की  किसान लक्ष्मी रोकायाले प्रतिकेजी ७० रुपैयाँमा स्याउ बेचेको बताइन्। "यो पटक स्याउले छिटो कलर दिएको छ, उत्पादन पनि ठिकै भयो र मूल्य पनि राम्रो पाइयो," उनले खुसी व्यक्त गर्दै भनिन्। 

3

कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार, जुम्ली स्याउ सुर्खेत, नेपालगन्ज, बुटवल, भैरहवा, काठमाडौं लगायतका सहरहरूमा निर्यात हुँदै आएको भएतापनि स्याउको उचित भण्डारण र बजार व्यवस्थापनमा राज्यले चासो नदेखाएको किसानहरूको गुनासो रहेकाेछ। स्याउ ढुवानी गर्ने कर्णाली राजमार्ग सिजनमा हिलाम्मे र धुलाम्मे हुने भएकाले निर्यात गर्न कठिन भइरहेको व्यापारीहरु बताउँछन्।

जुम्ली स्याउलाई कुनै केमिकल प्रयोग नगरी उत्पादन गरिने भएकाले अर्ग्यानिक स्याउका रूपमा चिनिन्छ।  पछिल्लो समयमा जुम्लाले स्याउका बिरुवा र दाना समेत  बेच्न थालेको छ। जसले जुम्लाको अर्थतन्त्रमा योगदान समेत पुर्‍याइरहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।