भदौ ४ गते स्कुल खुल्थ्यो वर्खे विदापछि । स्कुल वरिपरि झार उम्रिन्थे । कक्षाकोठाहरुमा माकुराका जालाहरु देखिन्थे । डेक्सबेञ्चहरु धुलाम्यै । उता बालदिवसको तयारीमा जुटिन्थ्यो । एकातिर नृत्य,गायन प्रतियोगिता हुने । अर्काथरि कविता,वादविवाद प्रतियोगिताका लागि तयारी हुन्थ्यौं ।
दुई महिनापछि स्कुल आउँदा साथीहरु नि धुइँसा र मुइँसा हुने । खेतीपातीका कामले होलान् । मिल्ने साथीको मिलनले उत्साह थप्थ्यो । अंगालो मारिन्थ्यो । बात मारिन्थ्यो,बितेका दुईमहिनामा भए(गरेका रमाईला र दुखद् क्षणलाई सम्झेर । सरहरुले कार्यक्रमको तयारी गर्थे । हाम्ले प्रतियोगितामा भाग लिनेका नाम टिपेर सहयोग गर्थ्यौं । बालदिवसमा बालबालिकाहरुका हकअधिकार र कर्तव्यका बारेमा सरहरुबाट प्रवचन हुन्थ्यो । हामी असल स्रोता बनेर सुनिन्थ्यो । अनुशासनका कुरा बढि हुन्थे । आदर-सत्कार गर्न सिकाईन्थ्यो ।
साथीहरुमा मिल्नुपर्छ भनिन्थ्यो । माया,ममता र स्नेहको पाठ पढाईन्थ्यो । बालदिवस मनाउन किन थालियो भन्ने कुरा कम हुन्थे । बडामहारानी रत्न राज्यलक्ष्मीको जन्मदिनको अवसरमा मनाउन थालेको भनेर कुनै सरले पनि भनेको सुनिनँ । कारण मैले पढ्ने तत्कालीन स्कुल दोभान निमाविमा धेरै शिक्षक प्रजातान्त्रिक र गणतान्त्रिक खेमाका थिए । पञ्चायतलाई समर्थन गर्ने शिक्षकहरु थिएनन् भन्दा पनि हुन्छ । तत्कालीन समयमा हामीले पढाउने शिक्षकहरुमा अमर प्रधान,हुकुमबहादुर जीसी,यादवप्रसाद अर्याल,घनश्याम लम्साल,परशुराम लम्साल,लालबहादुर कार्की,बालकृष्ण पाण्डेय र कुलबहादुर तुलाचन लगायतका थिए । महिला शिक्षक थिएनन् ।
बालकृष्ण पाण्डेयले दोभानमा मावि तह (तिनाउ गाउँपालिका-२, दोभान, पाल्पा) सञ्चालनका लागि महत्वपूर्ण भूमिका खेलेका थिए र सोही समय उनी विद्यालयका हेडमास्टर समेत बनेर शैक्षिक क्षेत्रमा ठूलो गुन लगाएका थिए । दुर्भाग्य, विद्यालय निरीक्षक भएकै बेला पाल्पाको माथिल्लो जोरधारामा मोटरसाईकिल दुर्घटनामा परेर ज्यान गुमाए । कुलबहादुर सर पक्षघात भएर थला परेका छन् । हुकुम सर बटौलीतिर निवृत्त जीवन बिताउँदैछन् । अमर सर घरि काठमाडौ घरि बुटवल गर्दैछन् । घनश्याम सर राजदूत बनेका छन् । यादव सर तिनाउ गाउँपालिकाका प्रवक्ता छन् ।
हामीले बालदिवसमा प्रहसन समेत देखाउँथ्यौं । म अल्लि ठ्ट्यौलो पाराको थिएँ । रमाईलो पनि गरिन्थ्यो । पढ्न पनि तेज थिएँ एक कक्षामा एकपटक फेल भएपनि । साथीहरुले नृत्य गर्दा खुट्टा उचालिन्थ्यो तर आफ्नो नाँच्ने ढंग थिएन । त्यतिबेला क्यासेट र डेकको जमाना थिएन । मुखैले गाउने चलन थियो । निर्णायकमा प्राय: हुकुम सर र बालकृष्ण सर हुन्थे । बालकृष्ण र कुलचन्द्र सरको लाम्पुछ्रे गीत अति नै चर्चित थियो । बालकृष्ण सरले आधुनिक तथा लोकगीतमा दख्खल राख्थे । उनले धेरैजसो नारायण गोपालका गीत सुनाउँथे ।
झरेको पात त झैं भयो
उदास मेरो जिन्दगी ।
मधु क्षेत्रीको गीत पनि गाउँथे ।
फूलै फूलमात्र पनि
होईन रैछ जीवन
काँडाबीच फूल्ने
फूल रैछ जीवन ।
हुकुम सरले 'लाटोसाथी' कविता सुनाउँथे । उनी अर्गानिक साहित्यकार र गायक पनि हुन् । तत्कालीन लुम्बिनी अञ्चलस्तरीय दोहोरी गीत प्रतियोगितामा पुस्कृत भएका थिए । बालदिवसमा मुनामदन खण्डकाव्यका केही लहर साथी बाबुराम,राजेश लगायतले पढेर सुनाउँथे । उनीहरु मख्ख पर्थे । हामी दङ्ग ।
बालदिवसका दिन स्कुल खुल्ने पहिलो दिन भएका कारण विजयीहरुलाई लगाईदिने अवीर खोज्दै हैरान हुन्थ्यो । स्कुल खुल्ने पहिलो दिनै बालदिवस परेका हुनाले कापी-किताब बोक्न पर्थेन । गृहकार्य दोस्रो दिन देखाईन्थ्यो । अङ्ग्रेजीचाँहि चारुले कापीमा लेखिन्थ्यो । गाउँको स्कूल,अहिलेजस्तो भौतिक सम्पन्नता थिएन । झ्यालका पल्लाहरु थिएनन् । मुस्किलले ढोकामा ताल्चा ठोकिन्थे । दराजका सट्टामा बाक्सामा हाजिरी रजिस्टर राखिन्थ्यो । डस्टर त झुम्राका हुन्थे । चक ओस्सिएर खत्तम ।
टीन ठोकिएका प्वालबाट पानी कक्षाकोठा र अपिसमा चुहिन्थे। बाछिटाहरुले कक्षाकोठामा असर पुराउँथे । बालदिवसमा आयोजित प्रतियोगितामा भाग लिने र नलिने सबैलाई मिठाई एक(एक थान प्राप्त हुन्थ्यो । चुस्दैचुस्दै घरमा आउँदा तुरिएको थाहै हुन्थेन । झुक्किएर मिठाईको साटो जिभ्रो टोकिन्थ्यो ।
यसरी बालदिवस र बालापन सम्झिदा पनि मनै हरररररर हुन्छ । पुराना साथी,स्कुल,सरहरुको यादले नोष्टालजिया बनाउँछ ।
प्रतिक्रिया