ताजा अपडेट »
पल्सर स्पोर्टस् अवार्ड

भदौ २८ गते एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड हुदै

अवार्डसंगै ३३ देशका खेलकुद पत्रकार सम्मिलित एसिया कंग्रेस पनि हुने

सोमबार, ०३ भदौ २०८१, २१ : १४
44 Shares
सोमबार, ०३ भदौ २०८१
44 Shares

नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड आगामी भदौ २८ गते हुने भएको छ । मञ्चले २०६० सालदेखि निरन्तर रूपमा अवार्ड कार्यक्रम गर्दै आएको छ । नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने उद्देश्यका साथ यसको सुरुवात भएको थियो ।

यसपालि मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्नेछ । एनएसजेएफ एआइपिएस एसियाको सदस्य हो ।  स्पोर्टस् अवार्ड कार्यक्रमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने अभियानस्वरूप अवार्डको पूर्वसन्ध्यामा एआइपिएस एसिया कंग्रेस पनि आयोजना गर्न लागिको मञ्चले बताएको छ। उक्त कंग्रेस भदौ २५ देखि २८ सम्म हुनेछ । कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारहरूको उपस्थिति रहनेछ।

सदाझैँ यस वर्ष पनि अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकललाई निरन्तरता दिएका छौँ । गोल्छा ग्रुपको नाम यसअघि हंशराज हुलासचन्द एन्ड कम्पनी  थियो ।  नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा  ग्रुपबीच अवार्डका लागि  सहकार्य भएको यो १६औँ वर्ष हो। 

यस वर्ष अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दि एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ । टिम अफ दि एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विधामा भने मनोनयन हुने छैन। सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा गरिनेछ।

मुख्य प्रायोजन सम्झौताअनुसार गोल्छा ग्रुपले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्नेछ। अन्य चार विधा टिम अफ दि एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्यका विजेतालाई एक लाख प्रदान गरिनेछ । गत वर्ष यी विधाका विजेतालाई ५० हजार रुपैयाँ दिइएको थियो।

अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको मञ्चले जानकारी दिएकाे छ ।  गत वर्ष पुरुषतर्फ एथलेटिक्सका दीपक अधिकारी, महिलातर्फ एथलेटिक्सकी राजपुरा पछाई र प्रशिक्षकतर्फ एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, युवामा क्रिकेटका देवकुमार खनाल उत्कृष्ट भएका थिए । पिपल्स च्वाइस अवार्ड टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले जितेकी थिइन् ।

यसैगरी स्पेसल अवार्ड फोटोपत्रकार सुदर्शन रञ्जित, पारा एथलिट सम्मान एथलेटिक्स पारा खेलाडी मैया विशुंखे, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड हङकङका खेल पत्रकार चु चान फाई र लाइफटाइम एचिभमेन्ट अवार्ड भारोत्तोलनका ओलम्पियन राजेन्द्रकुमार प्रधानलाई प्रदान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।