ताजा अपडेट »

सम्झनामा जनैपुर्ने...

सोमबार, ०३ भदौ २०८१, १४ : १७
460 Shares
सोमबार, ०३ भदौ २०८१
460 Shares

हामी जीवित आठजना थियौं बाबा–आमाका सन्तान । म साइँलो । यतिबेला जेठा दाइ डोरबहादुर,सबैबाट सदाका लागि विदा भएर गए । हाम्रो पुख्र्यौली घर,पाल्पाको दोभान । बाबाआमा पूर्वतिरबाट व्यापारको सिलसिलामा यता पश्चिमतिर आएका रे २०१८ सालतिर । 

गाउँघरमा चाडपर्व आएपछि खुबै रमाईलो हुन्थ्यो । नाँच्ने गाउँनेहरुको भीड हुन्थ्यो । नेपाले साहु भनेपछि हाम्रा बाबालाई नचिन्ने कोही मान्छे थिएनन् । डाँडापरिका र डाँडावारिका सबैले चिन्ने भएपछि हामी पनि नेपाले साहुका सन्तान हुनुमा गौरव नहुने कुरै भएन । 

हाम्रा बाबाले हाम्री आमालाई भगाएर ल्याएका रहेछन् भन्ने कुरा पछि पहाडघर जाँदा जेठाबाले भनेपछि मालुम भो । बाबा माइला रहेछन् । कान्छाबा र हाम्रो बाबाको अनुहार काटेकुटे उस्तै । फोटोकपीजस्तै । एकपटक कान्छाबा दोभान आएका थिए । जाडो महिना आँगनमा घाम तापेर बसेका बेला गाउँलेहरुले हाम्रा बाबा ठानेर नमस्कार गर्दैगर्दा कान्छाबा लाजले घरभित्र छिरेको मेरो सम्झनाको कुनोमा अझ् ताजै छ । 

कुरो जनैपुर्नेको गर्दैछु ।  हाम्रो गाउँ दोभानभन्दा पारिपट्टि रहेको बडहरे गाउँमा घिमिरे बाजे बस्थे । उनको नाम थानेश्वर घिमिरे र उनले पुरोत्याइँ गर्थे । हाम्रा घरमा सबैका न्वारान गरी नाम राख्ने बालीघरे पण्डित पनि उनै । गाउँभरि उनले हातमा डोरो बाँध्न आइपुग्थे । जर्नेपुर्नेका विहान नाडीमा डोरी बाँध्न आत्तुर हुन्थ्यौं । घिमिरे मामा भन्थ्यौं उनलाई । घिमिरे मामाले नाडीमा डोरी बाँध्नेबेला ‘दानबली राजा पैसा नदिइ कतै नजा ’(खासमा यसो भनिएको हुनुपर्छ–येनबद्धो बलीराजा दानवेन्द्रो महाबल ः तेन त्वाँ प्रतिबधान्मि रक्षे माचल माचल ) भन्ने मन्त्र ठट्टापूर्वक फलाक्ने गर्थे । हामी डोरी बाँध्नेबेला मामाको श्लोक सुनेर खुबै खुसी हुन्थ्यौं । 

घिमिरे मामाले सानालाई थोरै र ठूलालाई धेरै सरा डोरी बेरिदिन्थे । हामी दाइभाइ र दिदीबहिनीहरुले कसले कति सरा डोरी बाँधि पायौं भनेर डोरीको सरा नबिराई गन्थ्यौं । यहि विषयमा फलानाको यति र उति भनेर झगडा पनि हामी गथ्यौं । धेरै सरा डोरी र थोरै सरा डोरीको महत्व वा कारण के हो थाहा थिएन तर हाम्रो झगडाको विषय भने डोरीको सरा हुने गर्दथ्यो । 

घिमिरे मामाले बाँधि दिएको डोरो देखाउँदै गाउँ डुलिन्थ्यो । डोरोको सरा गनिन्थ्यो । खुसी वा दुखी भइन्थ्यो । साँझपख गाउँमा दिदीबहिनीहरुले तीजको गीत गाउन सुरु गर्थे । गाउँभरिका केटाकेटी बट्टुलिएर फलानाकहाँ तीज गीत हुने रे भनेर सूचनावाहकका रुपमा काम गथ्यौं । भव्य रमाईलो हुन्थ्यो । 

जनैपुर्नेमा अहिलेजस्तो राखीबाँध्ने चलन थिएन । पण्डितको डोरो नै सबथोक हुन्थ्यो । बरु डोरो रातो र पहँलो भने हुने गथ्र्यो । कहिलेकाँही दुबै रङका डोरो बाँध्न पाए हुन्थ्यो भन्ने लोभ लाग्थ्यो तर घिमिरे मामालाई हतार हुने । बाबाको कम दक्षिणाले हो कि एकै रङको डोरो बाँधेर सोह्र श्राद्धका पण्डितजस्तै टाप !  
हातमा बाँधेको डोरोलाई सारै ख्याल गरिन्थ्यो । सकेसम्म पानीमा भिजाउन नपरे हुन्थ्योजस्तै लाग्थ्यो । कहिलेकाँही त नुहाउने बेला डोरोमा प्लाष्टिक बेरेर नुहाएको सम्झना ताजै छ । कारण गाईतिहारमा गाईको पुच्छरमा हातको डोरो फुकालेर बाँध्न पाइन्न कि भन्ने परिलो ! पानीले धागो गल्ने,रङ जाने कम्ति पीर पर्थेन । यसरी डोरोको कारण मन एकोहोरो हुने गर्दथ्यो । 

घिमिरे मामा जीवित छैनन् । गाउँमा डोरो बाँध्ने पण्डितहरुको अभाव छ । पण्डित्याइँ गर्ने गुरुहरु पनि छैनन् । अनि राखी बाँध्ने भारतीय संस्कृति नेपालमा आगोसरी सल्क्यो । हामी नेपालीहरुले डोरो बाँध्ने पुरानो चलनलाई च्यात्तै छाडेर कतातिर दौडिरहेका छौं थाहै छैन । 

डोरो बाँध्ने दिनलाई हामीले जान्दा र बुझ्दा जर्नेपुर्ने भन्थ्यो । शुद्ध उच्चारण त जर्नेपूर्णिमा होला । अचेल रक्षाबन्धन , राखी अरु केके हो भन्छन् कुन्नि । यो पर्व सांस्कृतिक भातृत्वको सम्बन्ध हो । पर्व हो । तर हामी पर्वको नाममा कहाँ पुगिरहेका छौं र कहाँ पुग्ने हो हामी आफैलाई थाहा छैन ?  संस्कृििवद् घनश्याम कोइराला भन्छन्–हामीले हाम्रो संस्कृतिभित्रका विकृतिलाई हटाउँदै जानुपर्छ । पुर्खाले चलाएका चलन र सुन्दर संस्कृतिका सन्दर्भमा सही बुझाइको अभावमा रहेका कट्टरता,अराजकता र अन्धविश्वास हटाउनुपर्छ । 

यो दिन तागाधारीले जनै फेर्ने गर्छन् । आफन्तीकहाँ डोरो लगाउन पुग्छन् । तरपनि यतिबेला सांस्कृतिक पर्दामा दृश्यहरु फेरिएका छन् । पात्रहरुले कर्म फरक गर्दैछन् र सन्तुष्टिका लामा सास फेरि रहेका छन् ।  म भने पुराना दिनको जर्नेपुनेै सम्झि रहेको छु । घिमिरे मामाले बाँधि दिएका डोरोका सराहरु भावनात्मक रुपले मनमनै गनिरहेको छु ।

यतिबेला डोरोका सरा गनेर झगडा गर्ने दाइभाइ र दिदीबहिनीहरु सँगसँगै छैनौं तर सम्झना भने ताजै छन् । जर्नैपुर्नेमा खानेगरी आमाले सेलरोटी र बाबाले माछाको झोल पकाएको यादहरु घाँटीमा माछाका काँडा अड्किएजस्तै मनमा अड्किरहेका छन् । 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार