ताजा अपडेट »
डिपफेक प्रविधि दुरूपयोग

डिपफेक प्रविधिको दुरूपयोग गर्दै समाजमा भ्रम फैलाउन क्रम बढ्दै, सचेत रहन प्रहरीको आग्रह

सोमबार, ०३ भदौ २०८१, ०८ : १८
120 Shares
सोमबार, ०३ भदौ २०८१
120 Shares

काठमाडौं । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डिपफेक प्रविधिमार्फत हुने दुरुपयोगका घटना दिनानुदिन बढ्न थालेका छन् । समाजमा गलत सूचना प्रवाह गराउन तथा कसैको चरित्रहत्या गर्न यस्ता प्रविधिको अधिकतम दुरुपयोग भइरहेको छ । नेपाल प्रहरीका साइबर ब्यूरोले समेत डिपफेक प्रविधिमार्फत कपोलकल्पित र भ्रामक विषयमा अडियो-भिडिओ बनाएर सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा राख्ने क्रम बढेकाे भन्दै यस्ता कार्य गर्नेहरूलाई कारबाहीमार्फत नियन्त्रणमा लिन ब्यूरो सजग रहेको समेत बताएकाे छ ।

साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले डिपफेकको प्रयोगबाट कपोलकल्पित र भ्रामक विषयमा अडियो-भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम बढेको बताए । प्रविधिको दुरुपयोग र यसबाट सिर्जित घटनाहरूको बारेमा ब्युरोमा उजुरी बढी आउने गरेको भन्दै उनले अनलाइन प्रयोगमा सजगता अपनाउन समेत सर्वसाधारणलाई आग्रह गरेका छन् ।

हालैमात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको डिपफेक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको घटनाले यो समस्या झनै गम्भीर भएको देखाउँछ । टिकटकर, सेलिब्रेटी लगायतका चर्चित व्यक्तिहरू यस्ता घटनाबाट अझ बढी पीडित रहेका छन् । टिकटबाट चिनिएकी अनु परियार यसबाट लामो समयदेखि पीडित छन् ।

deepfake

डिपफेकमार्फत अनुको अनुहार अन्य व्यक्तिको शरीरमा जोडी अश्लील हाउभाउका भिडिओ बनाइएको देखिन्छ । यसका लागि उनकै नाममा फेक अकाउन्ट समेत बनाई डिपफेक भिडिओ अपलोड हुने गरेका छन् । अनुले एक पोस्टमार्फत आफ्नो नाम र अनुहार दुरुपयोग गरी सामग्री बनेको भन्दै यसबाट नझुक्किन सबैमा आग्रह समेत गरेकी छन् ।

समाजमा चर्चित व्यक्तिहरूका अनुहार अन्य व्यक्तिहरूसँग जोडी भिडिओ बन्दा धेरै प्रयोगकर्ता भ्रमित समेत हुने गरेका छन् । त्यस्ता सामग्रीहरूमा हत्तपत्त विश्वास गरी प्रयोगकर्ताले व्यक्तिहरूका बारेमा गलत धारणा बनाउनुका साथै अपमानजनक कमेन्ट गर्दा पीडित थप पीडामा पर्ने गरेका छन् ।

यस किसिमको प्रवृत्तिलाई नियन्त्रण गर्न सचेतना अभियानहरूनै सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको प्रहरी उपरीक्षक अवस्थी बताउछन। प्रविधिकाे दुरुपयोग गर्ने व्यक्तिहरूलाई कानुनी कारबाहीमार्फत नियन्त्रणमा लिन नेपाल प्रहरीकाे साइबर ब्यूरो सजग रहेको समेत उनले बताएका छन ।

यसैबीच, एक विज्ञप्ति जारी गर्दै प्रहरीकाे साइबर ब्युरोले भ्रामक सामग्री निर्माण नगर्न सचेत गराएको छ । सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा भ्रामक सामग्री प्रसारण गर्दा सामाजिक, पारिवारिक तथा राजनीतिक चरित्र हत्या हुने भन्दै यस प्रकारका गतिविधि नगर्न/नगराउन ब्युरोले अनुरोध गरेको छ । यस्ता काम गरेको पाइएमा त्यसको जवाफदेही स्वयम् आफैँ हुनुपर्ने भन्दै कानुनी झन्झटमा पर्नबाट जोगिन ब्युरोले सुझाव दिएको छ ।

455253128_905572858264760_4109862817579802760_n

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।