ताजा अपडेट »

अमेरीकाकाे सनफ्रान्सिस्कोमा गुन्जियो नेपथ्य

आइतबार, ०२ भदौ २०८१, ०९ : ४७
28 Shares
आइतबार, ०२ भदौ २०८१
28 Shares

सनफ्रान्सिस्को । चर्चित लाेक रक ब्यान्ड नेपथ्यले थालेको शृंखलाबद्ध अमेरिका यात्राको दोस्रो प्रदर्शन अमेरिकाको पश्चिमी तटीय सहर सनफ्रान्सिस्कोको प्रसिद्ध वारफिल्ड हलमा भव्य रूपमा सम्पन्न गरेको छ।  यस हलमा नेपथ्य ब्यान्ड दोस्रोपटक प्रस्तुत भएको हो। आठ वर्षअघि नेपथ्य यसै हलमा गुञ्जिएको थियो। सय वर्षभन्दा पहिले सिनेमा देखाउने उद्देश्यका साथ तयार पारिएको यो हल कालान्तरमा मञ्चमा परिणत भयो।

शनिबार बेलुकी ठीक ७ बजे हलका ढोकाहरू खुला गरिएकाे कार्यक्रममा भने ठीक नौ बजे वाद्यवादकहरूले निकालेको धुनकैसंगै गायक अमृत गुरूङ हलमा प्रवेश गरेर अभिवादनका साथ गाउन सुरु गरे, ‘कोशीको पानी यो जिन्दगानी’। एक घण्टा पहिलेदेखि नै उल्लेख्य संख्यामा दर्शक उपस्थित भइसकेको हलमा पहिलो प्रस्तुतिदेखि नै संगीतप्रेमीहरू रमीरहेका थिए। सुरुदेखि नृत्यरत दर्शकहरू अन्तिमसम्म पनि सँगसँगै गाउँदै नाचिरहेका देखिए।

‘मैले नबुझ्ने भाषा भए पनि असाध्यै रमाइरहेका दर्शकहरू हेरेर यो ब्यान्डको लोकप्रियता अनुमान गर्न सकिन्थ्यो,’ ‘मिक्सर चलाउँदै गर्दा म पनि नेपथ्यको संगीतमा झुमिरहेको थिएँ।’ स्थानीय साउन्ड इन्जिनियर फ्रिवे मिग्लियोरले भने ।

कार्यक्रममा ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’ हुँदै अगाडि बढेपछि अन्तिम लहरमा ‘मै नाचेँ छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्त्यमा ‘रातो र चन्द्रसूर्य’बाट बिट मारिएको थियो। यसरी नेपथ्य ब्यान्डको स्थापनाकालदेखि हालसम्मका नयाँ–पुराना गरेर जम्माजम्मी १७ वटा गीत गायक गुरूप्रस्तुत गरिएका थिए।

कन्सर्टमा मुख्य गायक अमृत गुरूङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथदिएका थिए। अमेरिका यात्राको अघिल्ला दुई कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अबको तेस्रो प्रस्तुति ओहायो राज्यको राजधानी कोलम्बसमा हुनेछ।

कोलम्बसस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यु’मा ब्यान्डले अगस्ट १७ तारिखमा प्रस्तुति दिनेछ। यो सहर नेपथ्यका लागि पहिलो अनुभव हुाे।  त्यसपछि क्रमशः डालास, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसबर्गमा प्रस्तुत हुनेछ।
 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।