ताजा अपडेट »
गोसाइँकुण्ड मेला

जनै पूर्णिमामा लाग्ने गाेसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा, पहिलोपटक बिजुली बालियो

आइतबार, ०२ भदौ २०८१, ०५ : ३२
40 Shares
आइतबार, ०२ भदौ २०८१
40 Shares

रसुवा । भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्‍याउने उद्देश्यले पहिलोपटक बिजुली बत्ती समेत बालिएको छ।धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटेल व्यवसायी उत्साहित भएका छन्।

विसं २०३८ सालमा जिल्लामा विद्युत् सेवा विस्तार भए पनि गोसाइँकुण्डमा पहिलोपटक शुक्रबार विद्युत् लाइन सञ्चालनमाआएको हो। नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख सञ्जीव भट्टराईका अनुसार गणेश गौडा बुद्ध मन्दिर र गोसाइँकुण्डमा दुई सयभन्दा बढी बत्ती बालिसकिएको छ।

gosainkunda

यहाँ बिजुली पुर्‍याउन सहयोग गर्ने लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय तथा निकुञ्ज विभाग, जिल्ला प्रशासन कार्यालय, नागरिक समाज, गोसाइँकुण्ड गाउँपालिका लगायत सरोकार वाला निकाय एवं स्थानीयले सहयोग गरेकाे उनले बताए। चन्दनबारीबाट कुण्डसम्म १४ किलोमिटर विद्युत् लाइन निर्माण गरी मेलालाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले बिजुली बत्ती पुर्‍याइएको प्रमुख भट्टराईले उल्लेख गरे। 

विद्युत् लाइन विस्तारसँगै खाना पकाउन तथा दैनिक कार्यमा सहजता अउनाका साथै वन पैदावारको व्यायभारमा शून्यता आई वन तथा वनस्पति संरक्षणमा समेत सहयोग पुग्ने स्थानीयले बताएका छन्। समुद्री सतहबाट ४,३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड बौद्ध र हिन्दू समुदायको प्रसिद्ध तीर्थस्थल हो ।

गोसाइँकुण्ड स्वदेशी तथा विदेशी पर्यटककाे पदयात्राका लागि समेत प्रसिद्ध गन्तव्य मध्ये एक हो । यहाँ पदयात्रा गर्दा लाङटाङ, लिरुङ, गङ्चेन्पो, नयाँ खाङ, याला पिक, गणेश हिमाल, मनास्लु हिमाललगायत विभिन्न हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न पाइन्छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।