ताजा अपडेट »

असोज १७ देखि पालुङटार नगरपालिकाले पहिलो लिगलिग महोत्सव गर्ने

शनिबार, ०१ भदौ २०८१, २० : ५८
32 Shares
शनिबार, ०१ भदौ २०८१
32 Shares

गोरखा । गोरखा जिल्लाको पालुङटार नगरपालिका स्थित ऐतिहासिक स्थल  लिगलिगकोटमा प्रथम लिगलिग महोत्सव एवं लिगलिगे दौड प्रतियोगिता गरीने भएको छ ।यहि असोज १७ गतेदेखि २१ गतेसम्म आयोजना गर्न लागिएको महोत्सव बारे पालुङटार नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । नगरपालिकाको पर्यटन क्षेत्र विकास समिति मार्फत गरीने उक्त महोत्सव पाँच दिनसम्म चल्ने समितिका संयोजक समेत रहेका नगर प्रमुख विवश चिन्तनले बताएका छन ।

स्थानीय कला, संस्कृति, र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको उनले बताए। ‘हामीले पहिलो पटक महोत्सव गर्न लागेका हौ’, उनले भने, ‘महोत्सवमा लिगलिग क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक परम्परासँग सम्बन्धित प्रदर्शनी, हस्तकला र शिल्पकला प्रदर्शनी, स्थानीय परम्परागत नृत्य तथा संगीत प्रस्तुत गरीनेछ ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने महोत्सवमा शैक्षिक, कृषि तथा स्थानिय खानाहरुको विशेष प्रदर्शनीसमेत राखिने बताईएको छ । महोत्सवमा परम्परागत रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङको मज्जा लिन सकिने आयोजक पालुङटार नगरपालिकाले जनाएको छ ।  

palungtar-municipality

गोर्खासँगै तनहुँ, लमजुङ तथा आसपासका अन्य जिल्लाबाट पनि महोत्सव अवलोकन गर्न आउने अपेक्षा नगरपालिकाको रहेकोछ । महोत्सव तथा लिगलिगे दौडका लागि नगरपालिकाले यस बर्ष ८ लाख रुपैयाँ विनियोजन गरेको छ । महोत्सवको अन्तिम दिन असोज २१ गते चेपेघाटदेखि लिगलिगकोट सम्म १२औं खुल्ला लिगलिगे दौड प्रतियोगिता हुने नगर प्रमुख चिन्तनले बताएका छन ।

नेपाल एकीकरणअघि बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ । त्यसैले लिगलिगकोटलाई नेपाल एकिकरणको जगका रुपमा पनि लिइन्छ ।

सोही इतिहासको सम्झना र प्रचार प्रसारका लागि २०६७ सालदेखि लिगलिगकोट विकास अभियानले गर्दै आएको लिगलिगे दौड प्रतियोगिताको आयोजना यसबर्षदेखि नगरपालिकाले बर्षबाट पालुङटार नगरपालिकाले गर्न लागेको हाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।