ताजा अपडेट »

रोटरी क्लव अफ बुटवल चौतारीको बैठकमा योग र अध्यात्मबारे प्रशिक्षण

शनिबार, ०१ भदौ २०८१, २० : ३४
78 Shares
शनिबार, ०१ भदौ २०८१
78 Shares

बुटवल  । रोटरी क्लव अफ बुटवल चौतारीको नियमित बैठकमा योग र प्रणायामबारे प्रशिक्षण दिइएको छ । क्लवका २१५ औं नियमित बैठकका अवसरमा योग सम्बन्धी प्रवचन दिइएको हो । कार्यक्रममा पथिक फाउण्डेशन रुपन्देहीका संयोजक माधव पौडेलले कुशल जीवन र यसका लागि अपनाउनु पर्ने तरिकाबारे सहजीकरण गरेका थिए ।

योगले कसरी मानिसलाई सकारात्मक मार्गमा हिँडाउन मद्दत गर्छ, मानिसको स्वास्थ्यमा कसरी आमूल परिवर्तन ल्याउँछ र जीवनमा सकारात्मक उर्जा प्रदान गर्छ भन्ने विषण्मा पौडेलले प्रशिक्षित गरेका थिए । मानिसले आफ्नो जीवनलाई अध्यात्मसँग जोड्दै अघि बढ्नुपर्नेमा जोड दिंदै उनले भोक र रोगले सताएको व्यक्ति अध्यात्ममा लाग्न नसक्ने र धार्मिकता जस्तो सजिलो अध्यात्म नभएको बताए । व्यक्तिले आफ्नो जीवनलाई सफल बनाउनका लागि पनि आध्यात्मिक धारलाई अघि बढाउनु पर्नेमा जोड दिंदै उनले यसतर्फ लाग्दा मानिसको नकारात्मक मनोभावना समेत हटेर जाने बताए ।

यसैगरी रोटरी क्लव अफ बुटवल चौतारीले केडिया ग्रुप अर्गनाइजेशनका अध्यक्ष ताराचन्द्र केडिया र बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीलाई क्लवका मानार्थ सदस्यता प्रदान गरेको छ । दुईजनालाई मात्र मानार्थ सदस्यता प्रदान गर्न सकिने मापदण्ड बमोजिम क्लवले केडिया र क्षेत्रीलाई मानार्थ सदस्यता प्रदान गरेको हो ।

शनिबार क्लवका २१५ औं नियमित बैठकका अवसरमा दुवैजनालाई मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरिएको क्लवका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले जानकारी दिए । त्यस अवसरमा बोल्दै केडिया ग्रुप अर्गनाइजेशनका अध्यक्ष ताराचन्द्र केडियाले रोटरी क्लव अफ बुटवल चौतारी सिंगो समाजको लागि प्रेरणाको स्रोत बनोस् भनी शुभकामना दिए । उनले क्लवले समाजमा छुट्टै पहिचान कायम गर्ने विश्वास समेत व्यक्त गरे ।

अर्का मानार्थ सदस्य बुटवल–११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले निस्वार्थ भावनाका साथ क्लवले समाजका लागि गरेको योगदानको स्मरण गर्दै आगामी दिनमा सामाजिक कार्यका लागि आफूले पनि हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले क्लवले अगाडि सारेका योजनाहरुमा आफूले पनि साथ दिन् बताए ।

पश्चिम नवलपरासीका जिल्ला न्यायाधीश हरि पंगेनीले आफूमा पनि समाजसेवा गर्ने हुटहुटी रहेको भन्दै क्लवले विभिन्न क्षेत्रमा गरेको योगदानबाट आफू पनि प्रभावित भएको बताए । त्यस अवसरमा अभिभावक महासंघ लुम्बिनी प्रदेशका महासचिव झविन्द्र पौडेलले क्लवले सबै वर्ग र क्षेत्रका नागरिकलाई समेटेर अगाडि बढ्नुपर्ने सुझाव दिए । क्लवका चार्टड प्रेसिडेन्ट विष्णु घिमिरेले यो वर्ष क्लवले २ लाख ५० हजारको अक्षयकोष स्थापना गरेको र जसबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको जानकारी गराउँदै एम्बुलेन्स खरीदको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यस्तै उनले ह्वील चेअर वितरणको योजना पनि रहेको जानकारी दिए ।

क्लवका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले आफ्नो कार्यकालमा क्लवका सचिवालय भवन निर्माणदेखि एम्बुलेन्स खरीद गरी सित गंगा नगरपालिका वडा नम्बर ६ अर्घाखाँचीलाई हस्तान्तरण लगायत अन्य विभिन्न योजनाहरु अगाडि बढाइएको बताए । बैठकमा रोटरीयनहरु खगेन्द्र बेलबासेले पनि आफ्नो धारणा राखेका थिए । त्यस अवसरमा रोटरीको नयाँ सदस्यता लिएका हरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।