ताजा अपडेट »
देवघाट श्रावणा मेला

देवघाट मेलामा श्रावण महिनाभर एक लाख भक्तजनले गरे स्नान, अघिल्लो बर्ष भन्दा थोरै उपस्थिति

विहीबार, ३१ साउन २०८१, ०६ : ३५
38 Shares
विहीबार, ३१ साउन २०८१
38 Shares

तनहुँ ।  प्रसिद्ध धार्मिकस्थल देवघाटमा यस वर्षको श्रावण महिनामा एक लाख ३० हजार श्रद्धालु भक्तजनले स्नान गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या घटेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । अन्तिम सोमबारको उपस्थितिले भक्तजनको आवागमनमा वृद्वि गराएको समितिका कार्यकारी निर्देशक सुदन बरालले बताए । बरालका अनुसार अन्य सोमबारको तुलनामा अन्तिम सोमबार एकै दिन करिब ५० हजारको हाराहारीमा भक्तजनको आवागमन भएको थियो।

हिन्दु धर्मप्रति आस्था राख्ने भक्तजनले साउनको महिनामा देवघाट आएर स्नान गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । शालिग्राम पाइने नदी भनेर देवघाटधामलाई चिनिन्छ । मुस्ताङबाट आएको काली गण्डकी र गोसाइँकुण्डबाट आएको त्रिशूली नदीको सङ्गमस्थल भएकाले देवघाटधामलाई धार्मिक गन्तव्यका रुपमा लिने गरिन्छ ।

पोखरा–मुगलिङ तथा बुटवल–नारायणघाट सडक निर्माण भईरहेको र वर्षातको समयमा निर्माणधिन सडक खण्ड बर्षातका कारण जोखिम यूक्त भएकाले पनि आवागमन कठिन हुनेहुदा बाहीरबाट आउने श्रद्धालुहरु घटेको अनुमान छ । नदीको बहाव र मौसमलाई दृष्टिगत गर्दै नदी किनारमा नजान सतर्कता अपनाएका कारण पनि यस वर्ष भक्तजनको उपस्थितिमा कमी आएको हुनसक्ने अनुमान समितिले गरेको छ ।

तुलनात्मक रुपमा पाँच सोमबार परेको वर्ष भक्तजनको सङ्ख्या बढी हुने गर्दछ।यस वर्ष चार मात्रै सोमबार परेकाले धार्मिक आस्थाप्रति विश्वास गर्नेहरु कम हुनगएको हुनसक्ने पनि देवघाट क्षेत्र बिकाश समितिले जनाएको छ । देवघाटमा स्नान गर्न देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत  हरेक वर्ष भक्तजनहरू आउने गरेका छन् । साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

समितिका अनुसार यसपाली चितवनसहित गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, धादिङ, बागलुङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, मकवानपुर तथा भारत लगायतका स्थानबाट भक्तजन स्नानका लागि आएका थिए । हरेक वर्ष मेलामा आउने भक्तजनको गुनासोलाई समितिले सम्बोधन गर्ने प्रयास गर्दै आएको छ । श्रद्धालुहरुकाे सुरक्षामा बढी ध्यान दिनुपर्ने हुँदा मेला अवधिभर सुरक्षाका लागि प्रयाप्त जनशक्तिकाे परिचालन गरिएको थियो । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।