ताजा अपडेट »
मेड बाई गुगल

गुगलकाे 'पिक्सेल ९ प्रो फोल्ड' मा १६ जीबी र्यामका साथमा एआई फिचरहरूको सुविधा

बुधबार, ३० साउन २०८१, २३ : ४८
52 Shares
बुधबार, ३० साउन २०८१
52 Shares

काठमाडौं । गुगलले पिक्सेल स्मार्टफोनको इतिहासमै पहिलो पटक एउटै लाइनअपमा दुई ओटा प्रो मोडेल सार्वजनिक गरेको छ । मङ्गलबार आयोजित ‘मेड बाई गुगल’ कार्यक्रममा कम्पनीले पिक्सेल नाइन सिरिज सार्वजनिक गरेको छ, जसमा दुई ओटा प्रो मोडेल छन् ।
यसअघिका पिक्सेल सिरिजमा एउटा मात्र प्रो मोडेल सार्वजनिक हुने गरेको थियो । यस लाइनअपमा भने पिक्सेल नाइन प्रो र पिक्सेल नाइन प्रो एक्सएल छन् ।

मङ्गलबारको कार्यक्रममा कम्पनीले पिक्सेल नाइन, पिक्सेल नाइन प्रो र पिक्सेल नाइन प्रो एक्सएलसँगै पिक्सेल नाइन प्रो फोल्ड प्रदर्शन गरेको थियो ।  पिक्सेल नाइन प्रोमा ६.३ इन्चको डिस्प्ले छ भने प्रो एक्सएलमा ६.८ इन्चको डिस्प्ले छ । दुवैमा रिफ्रेशरेट १२० हर्जसम्मको पाउन सकिन्छ । यी मोडेलमा सुपर अक्टा डिस्प्ले रहेको कम्पनीको भनाइ छ ।  फोनको डिजाइन पिक्सेल एटको तुलनामा भिन्नै छ । खासगरी यसको क्यामेरासँगै अन्य डिजाइनहरू फरक छन् ।

यस लाइनअपमा कम्पनीले आफ्नै टेन्सर जी फोर प्रोसेसर समावेश गरेको छ । यसको सहायताले इन्टरनेटबिनै फोनमा गुगल जेमिनाई प्रयोग गर्न सकिन्छ । यसले विशेषगरी शब्द, फोटो र अडिओलाई पहिचान गर्नसक्ने कम्पनीको भनाइ छ । पिक्सेल नाइन प्रोमा १६ जीबी र्‍याम समावेश छ । इन्टर्नल स्टोरेजका सन्दर्भमा यो फोन १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी भेरियन्टमा खरिद गर्न सकिन्छ ।

पिक्सेल नाइन प्रोमा ४७०० एमएएच र प्रो एक्सएलमा ५०६० एमएएच क्षमताको ब्याट्री छ । जसलाई चार्ज गर्न ४५ वाटको फास्ट चार्जर दिइएको छ । ​गुगलका अनुसार यसले जम्मा ३० मिनेटमा शून्यदेखि ७० प्रतिशतसम्म चार्ज गर्न सक्छ । पिक्सेल फोनमा यो नै अहिलेसम्मको शक्तिशाली चार्जर हो । 

फोनमा एआई फिचरको भण्डारणः 
कम्पनीले फोनका अन्य फिचरभन्दा पनि एआईलाई नै बढी प्राथमिकता दिएको देखिन्छ । यी मोडेलमा जेमिनाई लाइभको सुविधा छ । यसमा एड्भान्स्ड भ्वाइस असिस्टेन्ट प्रयोग गरिएको छ, जसलाई कम्पनीले ‘फ्रि फ्लोइङ कन्भरसेसन’ नाम दिएको छ । यस फिचरले १० ओटा भ्वाइस कस्टमाइज गर्ने सुविधा दिएको कम्पनीले उल्लेख गरेको छ । 

प्रो मोडेलमा उपलब्ध भएको अर्को फिचर हो, पिक्सेल स्टुडियो । यो फोटो एडिटिङ एप हो । यसले इमेजिन थ्री टेक्स्ट टु इमेज मोडेल प्रयोग गरी शब्दकै भरमा फोटो एडिट गर्नसक्ने बताइएको छ । त्यस्तो फोटोलाई डाउनलोड गरी आवश्यकता अनुसार व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।  पिक्सेल नाइन प्रो मोडेलमा उपलब्ध अर्को आकर्षक फिचर हो ‘कल नोट’ । यो फिचरले फोनमा दुई व्यक्तिबीच भएका सबै कुरालाई नोट गर्छ र त्यसको सारांश तथा महत्त्वपूर्ण विषयलाई नोट गरेर राख्छ । 

अर्को आकर्षक फिचर भनेको एआईले नै स्क्रिनशटको विवरण विश्लेषण गर्नु हो । हामीले विभिन्न प्रयोजनका लागि फोनमा स्क्रिनशट लिएका हुन्छौं । तत्कालै उक्त स्क्रिनशट प्रयोग नगरे हामीले किन र कुन सन्दर्भका लागि स्क्रिनशट लिएका थियौं भन्ने बिर्सिन्छौं । त्यसैलाई समाधान गर्न गुगलले जेमिनाई र अन-डिभाइस अल्गोरिदम प्रयोग गरेको छ । यसको सहायताले कुनै पनि स्क्रिनशटको सन्दर्भ के हो भन्ने स्पष्ट हुनेछ ।

उदाहरणका लागि, तपाईंले कुनै वाई-फाईको पासवर्डको स्क्रिनशट लिनु भएको छ भने जेमिनाईलाई त्यो पासवर्ड के हो भनेर सोधियो भने उसले स्क्रिनशट विश्लेषण गरी जानकारी उपलब्ध गराउँछ । 

अमेरिकामा उपलब्ध हुने पिक्सेल नाइन प्रो र प्रो एक्सएल स्याटलाइट एसओएस फिचर समावेश हुने बताइएको छ । गुगलले आफ्नो फोनमा स्याटलाइट कनेक्टिभिटी ल्याएको यो पहिलो पटक हो । यसको सहायताले नेटवर्क नभएको स्थानमा स्याटलाइट कनेक्टिभिटीको सहायताले आपतकालीन अवस्थामा सञ्चार/सम्पर्क गर्न सकिन्छ । 

यस सिरिजमा कम्पनीले एन्ड्रोइड १५ को बेटा भर्सन समावेश गरेको छ भने एन्ड्रोइड १४ पहिले नै इन्स्टल भएर आएको हुन्छ । यसमा सात वर्षको ओएस अपडेट पाउन सकिने कम्पनीले जनाएको छ । अर्थात् यस फोनलाई एन्ड्रोइड २२ सम्म अपडेट गर्न सकिन्छ ।  यस सिरिजमा कम्पनीले क्यामेरा पनि अपडेट गरेको छ । क्यामेराको डिजाइनदेखि गुणस्तरलाई पनि सुधार गरेको कम्पनीको भनाइ छ ।

यी फोनमा ५० मेगापिक्सेलको मुख्य सेन्सर, ४८ मेगापिक्सेलको अल्ट्रावाइड र ४८ मेगापिक्सेलकै टेलिफोटो जुम लेन्स छ । कम्पनीले दाबी गरेअनुसार यसले ३० गुणासम्म जुम गरेर फोटो खिच्न सक्छ । सेल्फी क्यामेराका सन्दर्भमा भने ४२ मेगापिक्सेलको सेन्सर छ । 

यस फोनको सहयताले ३० एफपीएसमा ८के (8K) भिडिओ खिच्न सकिने बताइएको छ । यसमा भिडिओ बुस्ट, नाइट साइट भिडिओ, अडिओ म्याजिक इरेजर, म्याक्रो फोकस भिडिओ र अन्य फिचर समावेश छन् । गुगलले प्यानोरोमा फिचरलाई पनि यस सिरिजमा परिमार्जन गरेको छ । खासगरी कम प्रकाश भएको स्थानमा स्तरीय प्यानोरोमा शट लिन सकिने गरी डिजाइन गरिएको बताइएको छ ।

यसमा भएको म्याजिक इरेजरको सहायताले खिचेको फोटोबाट तत्कालै अनावश्यक सामग्री हटाउन सकिन्छ । त्यस्तै स्केचकै भरमा फोटो तयार पारिदिने फिचर पनि उपलब्ध गराइएको छ । अन्तर्राष्ट्रिय बजारमा पिक्सेल नाइन प्रो सिरिजको प्रि-अर्डर सुरु भइसकेको छ । पिक्सेल नाइन प्रोको सुरुवाती मूल्य ९९९ डलर (करिब एक लाख ३३ हजार रुपैयाँ) रहेको छ ।

त्यस्तै पिक्सेल नाइन प्रो एक्सएलको सुरुवाती मूल्य १०९९ डलर (करिब एक लाख ४७ हजार) रुपैयाँ तोकिएको छ । यो सिरिज २२ अगस्टदेखि बजारमा उपलब्ध हुने बताइएको छ ।#Techpana

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।