ताजा अपडेट »
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन हुने आशा :

वैदेशिक रोजगारका सबै सेवा विस्तार गर्ने निर्णय

बुधबार, ३० साउन २०८१, १२ : ५५
784 Shares
बुधबार, ३० साउन २०८१
784 Shares

बुटवल । सरकारले रुपन्देहीको भैरहवास्थि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान गराउन वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा बिस्तार गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट उपलब्ध गराउने निर्णयले विमानस्थल चलायमान हुने अपेक्षा गरिएको छ । 

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बीमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्न समेत हाल प्रदान गरिरहेको सेवा र सम्पादन गरिरहेका काम यहाँबाट हुने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।  

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारसँग सम्बन्धित सबै सेवा विस्तार गर्ने निर्णय गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको पहलमा सरोकारवाला संघसंस्था र कार्यालयका प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिए । मोफसलमा दुई नयाँ विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म पनि वैदेशिक रोजगारसँग सम्बन्धित कामका लागि काठमाडौंमै जानुपर्ने बाध्यता रहेको थियो । यसले ती विमानस्थल सञ्चालनका लागि वायुसेवा कम्पनीले इच्छा देखाउन सकेका छैनन् ।

सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट पारित गरेको यी दुई विमानस्थल सञ्चालन गर्ने कार्ययोजनामा समेत यो विषय समावेश रहेको बताइएको छ । भिसा सेन्टर स्थापनाका लागि परराष्ट्र मन्त्रालय मार्फत अनुरोध गर्ने निर्णय समेत श्रम मन्त्रालयले गरेको छ । ऐन, नियम कार्यविधिमा संशोधन वा निर्णय गर्नुपर्ने भए मन्त्रालयले अध्ययन गरी व्यवस्था मिलाउने निर्णय गरेको छ ।

श्रम मन्त्रालय अन्तर्गतका सेवा क्रमशः प्रदेश स्तरमा लैजान आवश्यक तयारी गर्ने निर्णय समेत भएको मन्त्रालयले जानकारी गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सम्हाले लगत्तै यी दुई विमानस्थल सञ्चालन मोडालिटी सबै सरोकारवाला निकायसँग माग गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।