ताजा अपडेट »

जापानका प्रधानमन्त्री किशिदाले अर्को महिना राजीनामा दिने

बुधबार, ३० साउन २०८१, १० : ४४
70 Shares
बुधबार, ३० साउन २०८१
70 Shares

काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी महिना प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । किशिदाले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्ष पदका लागि चुनाव नउठने र अर्को महिना नयाँ अध्यक्ष चयन भएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

किशिदाले बुधबार सञ्चारमाध्यमसँग कुरा गर्दै सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा पुन: चुनाव नखोज्ने निर्णय गरेको बताए । किशिदाको यो निर्णयले आगामी महिना एलडीपीको नयाँ नेता चयन नभएसम्म मात्रै उनी प्रधानमन्त्री पदमा रहने जनाइएको छ । जापानको सत्तारुढ दल एलडीपी यतिबेला चर्चामा छ र गत वर्षको डिसेम्बरमा युनिफिकेशन चर्चसँगको सम्बन्ध र राजनीतिक कोषको विवादका कारण पार्टी नकारात्मक कारणले चर्चामा आएको छ ।

साथै, किशिदाको मन्त्रिपरिषद्को अनुमोदन रेटिङ पनि लगातार घट्दै गएको र विगत आठ महिनादेखि २० प्रतिशतको हाराहारीमा मात्रै छ । वर्तमान किशिदा सरकारविरुद्ध पार्टीभित्रै विरोधको आवाज उठिरहेको छ र पार्टीका नेताहरू वर्तमान सरकारको नेतृत्वमा आगामी निर्वाचन जित्न निकै गाह्रो भएको बताउँछन् । जापानमा आगामी अक्टोबरमा निर्वाचन हुँदैछ ।

फुमिया किशिदाले अक्टोबर २०२१ मा जापानको प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । किशिदाले योशिहिदे सुगालाई प्रतिस्थापित गरेका थिए । उगत अप्रिलमा जापानका धेरै सहरहरूमा उपचुनावमा नागासाकी, शिमाने र टोकियो जस्ता सहरहरूमा एलडीपीले पराजय भोग्नुपरेको थियो । त्यसबेला पनि किशिदाको राजीनामाको माग भएपनि किशिदाले त्यसबेला राजीनामा दिन अस्वीकार गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।