ताजा अपडेट »
वाल्मीकि आश्रम र त्रिबेणीधाम जोड्ने पुल

बाल्मिकी आश्रम र त्रिबेणीधाम जोड्ने झोलुङ्गे पुल संचालनमा

भारतीय भुमीहुदै जानुपर्ने बाध्यताको अन्त्य

मंगलबार, २९ साउन २०८१, २३ : ०२
90 Shares
मंगलबार, २९ साउन २०८१
90 Shares

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणी स्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१, जोड्ने ‘लवकुश’ नामाकरण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि सञ्चालनमा आएको हो ।

माडी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रमसम्म जान उक्त पुल निर्माण गरिएको हो । विसं २०७० मा निर्माण सुरु गरिएको पुल विसं २०७९ मा सम्पन्न भएको थियो । चितवन तर्फ राष्ट्रिय निकुञ्ज पर्ने हुँदा उक्त पुल सञ्चालनमा आउन सकेको थिएन ।

सोमबारदेखि सञ्चालनमा आएको करिब पाँच सय ३५ मिटर लामाे झोलुङ्गे पुल छ करोड रूपैयाँकाे लागतमा  निर्माण गरिएकाे हाे ।  पुल सञ्चालनमा आएसँगै त्रिवेणीबाट नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जान सकिने भएको छ । यसअघि चितवन र नवलपुर दुबै तर्फबाट वाल्मीकि आश्रम पुग्ने बाटो थिएन । पुल रुबिना–मना जेबी ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको हो ।

बाटाे नभएकै कारण त्रिवेणी स्थित गण्डक बाँध पार गरी भारतीय भुमी हुदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता रहेकाे थियो । नेपालको धार्मिकस्थल पुग्न भारतीय बाटो हुँदै जानु पर्ने  बाध्यताकाे कारण आश्रम सम्म पुग्न धेरै समय लाग्ने गरेको थियो ।

झोलुङ्गे पुल सञ्चालनमा भएसंगै अब देखि वाल्मीकि आश्रम पुग्न भारतीय बाटो हुँदै जानुपर्ने अवस्थाको अन्त्य भएको नवलपुरका पूर्व सांसद तिलक महतले बताए । अब नेपाली तथा बिदेशी धार्मिक पर्यटक नेपालकै  बाटो हुँदै आश्रम सम्म  पुग्न सक्ने उनले बताए । 

महत्वपूर्ण धार्मिकस्थल स्थल वाल्मीकि आश्रम झोलुङ्गे पुलले जोडिँदा यसको विकास, संरक्षण र प्रवद्र्धनमा पनि सहयोग पुग्ने उनकाे भनाइ छ । 

पुल सञ्चालन भएपछि विनयी त्रिवेणी स्थित त्रिवेणी धाममा चहलपहल बढ्ने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए। “पुल निर्माण भएर सञ्चालन नहुँदा हामी चिन्तित थियौँ, पुल सञ्चालन गर्न पटक–पटक पहल गरीयाे, अब हामी हाम्रो भूमिबाट वाल्मीकि आश्रम जान पाउने भएका छौँ , हाम्रो पहलले सार्थकता पाएको छ”, अध्यक्ष गिरीले भने ।

वाल्मीकि आश्रम धार्मिक एवम् पौराणिक महत्व बोकेको क्षेत्र हो । सीताले लामो समय बिताएको, सीता पाताल प्रवेश गरेको, लव–कुशको जन्मथलो तथा  रामायण काव्यको रचना भएको स्थल, वाल्मीकि आश्रम आफैमा ऐतिहासिक धार्मिकस्थल भएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्य धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसालले बताए।

वाल्मीकि आश्रम र त्रिवेणीलाई झोलुङ्गे पुलले जोडेसंगै यस क्षाेत्रमा धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा  सबैले गरेका छन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।