ताजा अपडेट »

आगलागिको हिस्सा शहरी क्षेत्रमा बढी: पसलमा ‘फायर अलाम’ राख्न सुझाव

मंगलबार, २९ साउन २०८१, ११ : ३४
26 Shares
मंगलबार, २९ साउन २०८१
26 Shares

बुटवल ।  आगलागिजन्य दुर्घटना न्यूनिकरणको लागि आफ्नो व्यवसायिक प्रतिष्ठानमा ‘फायर अलाम’ राख्न सुझव दिईएको छ । आफ्नो व्यवसायिक प्रतिष्ठानमा फायर अलाम राख्दा आगलागि भएको सूचना तत्कालै प्राप्त गर्न सकिने भएकाले सम्भावित क्षेतीलाई बचाउन सकिने भएकाले त्यस्तो सुझाव दिईएको हो ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले व्यवसायिक क्षेत्रमा हुने आगलागिको कारण तथा विपद् पश्चातको व्यवस्थापनमा सरोकारवालाको भूमिकाको विषयमा सोमबार संघको सभाहलमा आयोजना गरिएको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरुले त्यस्तो सुझाव दिएका हुन् । नेपालमा विपद्जन्य घटनामा प्रति १० लाखमा २५ जनाको मृत्यु हुने गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार नेपालमा विपद्जन्य पूर्वतयारी कमजोर हुँदा विपद्जन्य घटनामा धेरैले ज्यान गुमाउनु परेको हो । छिमेकी मुलुकको तुलनामा यो संख्या धेरै ठूलो हो । कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्यालले नेपालमा विपद् पूर्वतयारीको अवस्था ज्यादै कमजोर रहेको बए।

स्थानीय तहहरुले जोखिमको आँकलन नगरी विपद्को सामना नै गर्न नसक्ने जोखिम बहन गर्ने क्षमता भन्दा धेरै ठूला–ठूला पूर्वाधार निर्माणको स्वीकृति दिने प्रबृत्ति देखिएको बताए । त्यसले विपद् व्यवस्थापनमा पनि चुनौती खडा हुने उनको भनाई छ । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले पछिल्लो समयमा आगलागिका घटनाहरु बढ्दै गएको र आगलागिबाट हुने क्षेतीमा विमा कम्पनीहरुबाट हुने दावी भुक्तानीमा ढिलासुस्तीका कारण व्यवस्या पुनसञ्चालनमा समस्या भईरहेको बताए । उनले आगलागीका घटनाबाट हुने क्षतिलाई कसरी कम गर्ने भन्ने सन्दर्भमा क्षति न्यूनीकरणका लागि स्थानीय साधन, श्रोतको पहिचान र परिचालन कसरी गर्ने ? क्षतिपछिको पुनस्र्थापनाका लागि बिमा, विपद् व्यवस्थापन कोषको उपयोगको सहज पहुँच र प्रक्रिया के के हुन ? अग्नि पीडितहरूलाई कसरी तत्काल उद्योग तथा व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्न सकिन्छ ? विपद्पछिको कर तथा राजस्वको फस्र्यौट कसरी हुन्छ? भन्ने जस्ता अनगिन्ती प्रश्नहरूको जवाफ खोज्नका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा नेको इन्स्योरेन्सका सहायक सिईओ रमेशबहादुर थापाले विमाको अवधारणा, विमा पोलिसी, यसका प्रकार, विमा गर्दाखेरी थाहा पाउनुपर्ने कुराहरुको बारेमा जानकारी गराए । उनले विमा गर्दा विमाको प्रकृयाको बारेमा सुरुमै पूर्व जानकारी दिएर मात्रै विमा गर्न सुझाव दिए । उनका अनुसार विमा गर्नु अगाडि नै डकुमेन्टेसनमा ध्यान दिनुपर्छ, विमा पोलिसीको बारेमा राम्रोसंग जानकारी दिनुपर्छ । सम्पत्ति विमा गर्दा आफ्नो सम्पत्ति बराबरको मुल्यको विमा गर्नुपर्छ, कम मुल्यको विमा गरेमा जति मुल्य बराबरको विमा गरिन्छ, दावीको भुक्तानी गर्दा पनि विमा गरे बराबरको भुक्तानी हुने भएकाले बाँकी सम्पत्तिको आफूले जोखिम बहन गर्नुपर्छ ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका इलेक्ट्रिकल इञ्जिनियर विनोद शर्माले विद्युतबाट आगलागि हुनुको कारण, रोकथाम तथा आगलागि भईसकेपछि अपनाउनुपर्ने सुरक्षा उपायको बारेमा जानकारी गराउनु भएको थियो भने बुटवल उपमहानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख इञ्जिनियर योगेन्द्र चापागाईले विपद् व्यवस्थापनको लागि नगरपालिकाले गरेको पूर्वतयारीको बारेमा जानकारी गराएका थिए । इञ्जिनियर चापागाईका अनुसार बुटवलमा भएका आगलागि घटनाको ८१ प्रतिशत शहरी क्षेत्री वडा नं। १ देखि ११ सम्म र बाँकी १९ प्रतिशत ग्रामिण क्षेत्रमा भएको जानकारी गराए । उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुमा आगलागि हुनुको प्रमुख कारण विद्युतमा सर्टसर्किट, ओभर कोडिङ लगायतका कारण रहेको बताउँदै उनले आफ्नो पसल बन्द गरेर घर जाँदा आवश्यक नभएको ठाउँमा विद्युतको स्वीच बन्द गरेर जान पनि सुझाव दिए ।

त्यस्तै उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा फायर अलाम (आगलागि भएको जानकारी गराउने घण्टी) राख्न उनको सुझाव छ । कार्यक्रममा नेपाल विमा प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका प्रमुख पूर्ण थापा, आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत षडानन्द खरेल, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले भनाई राखेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।