ताजा अपडेट »
व्यवसायिकड्यौला पालन

नवलपरासीमा गँड्यौलाबाट व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन

मंगलबार, २९ साउन २०८१, ०९ : २२
80 Shares
मंगलबार, २९ साउन २०८१
80 Shares

पाल्हीनन्दन । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा गँड्यौलाबाट व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादनमा गर्न थालिएको छ । केही वर्ष अघिसम्म परीक्षणका लागि मल उत्पादन सुरू गरेका किसानले हाल व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्न थालेका हुन्। जिल्लाको सुनवल नगरपालिका–१३ मिनी बडेरा निवासी हरि भण्डारीले व्यावसायिक रूपमा गँड्यौला पालन गरेर मल उत्पादन सुरू गरेको बताए ।

उनले भारतको गोरखपुरबाट गँड्यौलाबाट मल उत्पादनसम्बन्धी तालिम सिकेर व्यवसायीक रूपमा मल उत्पादन गर्न थालेको जाकारी दिए। परीक्षणका रूपमा ११ वर्षअघि गँड्यौला पालन सुरू गरे पनि हाल चार जनालाई रोजगारी दिएर व्यावसायिक मल उत्पादन गर्न थालेको उनकाे भनाइ छ ।

उनले रु ५० लाख लागतमा अढाई कठ्ठा जग्गामा अष्ट्रेलियन प्रजातिका गँड्यौला पालन गरेका छन्। “अघिल्ला वर्षसम्म गँड्यौलाबाट मल उत्पादन सम्बन्धी त्यति ज्ञान नभएर घाटामा गइयो तर हाल धेरै समस्या छैन । बजारीकरणमा कुनै समस्या नभएमा राम्रो आम्दानी हुने आशा जागेको छ”, उनले भने ।

उनकी श्रीमती कल्पना सुवेदीले सुरूमा गँड्यौला पालन गर्ने भन्दा धेरैलाई अनौठो लागे पनि काम गर्दै जाँदा अहिले अरूले पनि यो व्यवसायमा चासो दिन थालेकाे बताए । “हाम्रो आम्दानीको स्रोत नै यही हो । सम्पूर्ण श्रम र सम्पत्ति यही व्यवसायमा लगाएका छौँ । विस्तारै राम्रो प्रतिफल पाउने आशा जागेको छ”, उनले भने।

यसैबीच उक्त गँड्यौला फार्मकाे नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'बिप्लव', पूर्व राज्य मन्त्री घनश्याम यादवलगायत स्थानीयले निरीक्षण समेत गरेकाे बताउदै यसले आफूहरूलाई थप उत्साह मिलेको भण्डारी दम्पतीको भनाइ छ । 

बर्दघाट पश्चिम–नवलपरासी कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा. रवीन्द्रनाथ चौबेले यस जिल्लामा दुुई जनाले व्यावसायिक रूपमा गँड्यौलाबाट मल उत्पादन गरिरहेका र अन्यले पनि व्यावसाय सञ्चालनका लागि योजना बनाइरहेका बताए । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।