ताजा अपडेट »
१३औँ अन्तर्राष्ट्रिय हात्ती दिवस

चितवनको पर्यटकीय क्षेत्र सौराहामा हात्तीलाई वनभोज

मंगलबार, २९ साउन २०८१, ०८ : ५४
44 Shares
तस्बिरः कोमलचन्द्र भगत
मंगलबार, २९ साउन २०८१
44 Shares

चितवन । १३औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसर पारेर चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । साेमबार  चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजी स्तरमा पालिएका हात्तीहरूलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने परिकार उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरबुजाका परिकार दिइएको थियो ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज कार्यक्रमको आयोजना गरेको हो । सरकारी र निजी स्तरमा पालेका ६० वटा हात्तीलाई वनभोज र हात्ती संरक्षणसम्बन्धी बहस र छलफल गरी दिवस मनाइएको कार्यक्रम संयोजक शम्भुप्रसाद मालीले जानकारी दिएका छन ।

बाघमारा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित समारोहमा सौराहामा निजी स्तरमा पालेका र निकुञ्जका हात्तीलाई एकै ठाउँमा राखेर वनभोजका रुपमा मिष्ठान्न भोजन गराइएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए । उनले हात्ती सफारीको विकल्प स्वरुप हात्तीसँग पैदलयात्रा सुरु गरिएको भन्दै अझै केही समय हात्ती सफारीको विकल्प नरहेको पनि बताए ।

कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले चितवन निकुञ्जको संरक्षण र पर्यटनमा हात्तीको भूमिका अग्रणी स्थानमा रहेको बताउदै राज्यले घरपालुवा हात्तीलाई पनि राज्यकै सम्पत्तिका रूपमा ग्रहण गर्नुपर्ने धारणा राखे।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्ती र मानब बीचको द्वन्द्वका कारण संरक्षणमा चुनौति थपिएको भन्दै हात्तीको कारणले विपन्न समुदायको जीविकोपार्जनमा परेको सकारात्मक प्रभावलाई जनस्तरसम्म लैजानुपर्नेमा जोड दिए ।

चितवन राष्ट्रिय निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषका सात वटा र सौराहामा निजी स्तरमा पालेका ४५ वटा हात्ती रहेका छन् । हरेक वर्ष अगष्ट १२ मा हात्ती संरक्षणमा जोड दिँदै अन्तर्राष्ट्रिय हात्ती दिवस मनाउँदै आइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।