ताजा अपडेट »

एक लाख बढीले गरे पशुपतिनाथको दर्शन

सोमबार, २८ साउन २०८१, १३ : ०८
432 Shares
सोमबार, २८ साउन २०८१
432 Shares

काठमाडौं । आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

अन्य दिनको तुलनमा आज दर्शनार्थीको घुइँचो बढेपछि सुरक्षाकर्मी एवं स्वयम्सेवक खटाइएको विकास कोषले जनाएको छ । भक्तजनको सहजताका लागि बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको छ । दर्शनार्थीका सुरक्षाका लागि स्वयंसेवक परिचालन, दर्शन सहजीकरण, स्वास्थ्य शिविर, खाने पानीलगायत व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले बताए ।

भगवान शिवजीको महिना र बार भएकाले पनि साउनको सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो लाग्ने गरेको विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए । थापाका अनुसार आज साउनको अन्तिम सोमबार भएकोले अघिल्ला सोमबारको तुलनामा बढी भक्तजन आएका हुन् । 

“साउनमा पशुपतिनाथमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको भीड लाग्ने गर्दछ,” उनले भने, “आज अन्तिम सोमबार भएकोले बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने र भारतबाट आएका भक्तजनका कारण घुइँचो बढेको हो ।” 

आज काठमाडौं उपत्यकाका पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, रुपन्देहीको बोलबम धाम पर्रोहा, पाल्पाका सिद्धबाबा मन्दिर लगायतका मन्दिरहरुमा महादेवको पूजा आराधना गर्न भक्तजनहरुको भीड लागको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।