ताजा अपडेट »
भारतिय सशूल्क च्यानल बिवाद

सरकारलाई घुँडा टेकाउने उदेश्यले बिदेशी च्यानल प्रदायकहरुले मिलेमोतोमा च्यानलहरू बन्द गरे : महासंघ

सोमबार, २८ साउन २०८१, ०८ : ३३
72 Shares
सोमबार, २८ साउन २०८१
72 Shares

काठमाडौं । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले नेपालमा आलाकार्टा शुल्क प्रणाली असफल बनाउने कुनियतले विदेशी सशुल्क च्यानलहरू बन्द गराइएको धारणा राखेको छ । सूचना तथा प्रसारण विभागलाई आइतबार एक पत्र पठाउँदै महासंघले नेपाल सरकारलाई घुँडा टेकाउन भारतीय टेलिभिजन नेटवर्कहरूले एक आपसमा मिलेर एकैपटक च्यानल बन्द गरेको प्रतिक्रिया दिएको हो ।

१६ साउनदेखि नेपालमा स्टार, सोनी, जी, कलर्स, डिस्कभरी लगायतका भारतीय च्यानल बन्द छन् । सरकारले करिब दुई वर्षयता विदेशी मुद्राको सिफारिस नदिएको भन्दै आफ्ना च्यानलको प्रसारण रोकेको भारतीय टेलिभिजन नेटवर्कहरूको भनाइ छ ।

२५ चैत २०७९ देखि नेपाल सरकारले टेलिभिजन प्रसारणमा आलाकार्टा शुल्क प्रणाली लागु गरेको थियो । तर, विदेशी सशुल्क च्यानल प्रदायकहरू तथा नेपालका प्रसारक संस्थाहरूले उक्त प्रणाली कार्यान्वयनमा प्राविधिक तथा व्यवहारिक समस्या भएको भन्दै लागु गरेका छैनन् । त्यसैले विदेशी सशुल्क च्यानलहरूको शुल्क भुक्तानी हुन सकेको छैन ।

यस विषयमा नियामक निकाय, विदेशी सशुल्क च्यानल प्रदायक र नेपाली प्रसारक संस्थाहरूबीच छलफल र वार्ता भइरहेको केबल टेलिभिजन व्यवसायी महासंघले जनाएको छ । नेपाल सरकारलाई जसरी पनि घुँडा टेकाउने र नेपालमा लागु भएको आलाकार्टा मूल्य प्रणाली असफल बनाउने कुनियत राखी विदेशी सशुल्क च्यानल प्रदायकहरू एक आपसमा मिलेमतो गरेको महासंघको आरोप छ ।

साथै विदेशी सशुल्क च्यानल प्रदायकका विदेशी प्रदायक आफैले नेपालमा वर्षौंदेखि इन्टरनेट (OTT) तथा डीटीएचका माध्यमबाट नेपाली भूभाग तथा नेपाली आकासबाट गैरकानुनी तवरले नेपालमा पहुँच पुर्‍याई गैरकानुनी रुपमा प्रसारण गर्दै आएको महासंघले आरोप लगाएको छ । यसले गर्दा वार्षिक अर्बौं रुपैयाँ समेत गैरकानुनी बाटो प्रयोग गरी विदेशिएको महासंघको ठहर छ ।

आम उपभोक्ताले अग्रिम रूपमा शुल्क बुझाइसकेको अवस्थामा एक्कासि उनीहरूको हक हित विपरीत हुनेगरी विदेशी सशुल्क च्यानल बन्द हुनु चिन्ताजनक भएको को पत्रमा उल्लेख छ ।

महासंघले पत्रमार्फत नेपाल सरकारले अङ्गीकार गरेको टेलिभिजन प्रसारण सेवालाई नै पूर्ण रुपमा बन्द गराउने गरी विदेशी सशुल्क च्यानल प्रदायकहरूले गरेको गैरसंवैधानिक, गैरकानुनी एवं गैरव्यावसायिक कार्यलाई नियामक निकायले टुलुटुलु हेरिरहेको आरोप लगाएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।