ताजा अपडेट »

कपिलवस्तु फोटोग्राफर संघमा क्षमता अभिवृद्धि तालिम

आइतबार, २७ साउन २०८१, १४ : १३
166 Shares
आइतबार, २७ साउन २०८१
166 Shares

कपिलवस्तु  । कपिलवस्तु फोटोग्राफर संघको आयोजनामा कपिलवस्तुको गोरूसिङ्गेमा क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ । तालिमको समापन सत्रका प्रमुख अतिथिको रुपमा सहभागी लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले जन्मजात कसैले सिकेर वा ज्ञान लिएर नआउने र जिन्दगी सिकाइको यात्रा भएको बताउँदै बदलिँदो प्रविधिसँग जोडिएर फोटो तथा भिडियोमार्फत ऐतिहासिक, धार्मिक, पर्यटकीय एवम्  पुरातात्त्विक महत्त्व बोकेको कपिलवस्तुको प्रचारप्रसारमा योगदान पुर्‍याउन अनुरोध गरे । लामिछानेले संघको कार्ययोजना बमोजिम समयमै प्रस्ताव पेश गरेमा सफल बनाउन प्रदेश सरकारबाट सक्दो पहल गर्ने बताए । 

समापन सत्रमा आफ्नो चालक शीर्षकको कविता प्रस्तुत गर्दै तालिमका प्रमुख प्रशिक्षक दलबहादुर गुरुङले विकट भएर पनि निकट कसरी हुने,  टाढा भएर पनि हाम्रो सम्बन्ध गाढा कसरी हुने, भैरहेका गतिविधिलाई कसरी थप प्रभावकारी बनाउने भन्ने बारे आफ्नो विचार व्यक्त गरेका थिए ।  नेपाल फोटोग्राफर महासंघका केन्द्रीय सदस्य इन्द्रमणि बेल्बासेले संस्था स्थापना भएको लामो समयमा यो स्तरको पहिलो कार्यक्रम रहेको बताउँदै कार्यक्रम भव्यताकासाथ सम्पन्न गरेकोमा समितिलाई धन्यवादज्ञापन गरे । बेल्बासेले युवालाई स्वरोजगार बनाउन उत्कृष्ट पेशा फोटोग्राफी रहेको बताउँदै बदलिँदो प्रविधिको युगमा समायोजन गराउँदै अगाडि बढाउन सके केही हदसम्म बैदेशिक पलायन रोक्न सकिने बताए । 

समापन कार्यक्रममा लोक तथा दोहोरी गायक शिव खनालले आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रम संयोजक भक्तिराम घिमिरेले कार्यक्रमको उद्देश्य बमोजिम प्रभावकारी भएको बताउँदै धेरै सिक्ने अवसर प्राप्त भएको बताए ।  जिन्दगीमा पहिलोपटक अगाडि आएर बोल्ने हिम्मत आजकै तालिमले दिएको बताउँदै महिला प्रशिक्षार्थीको तर्फबाट तालिममा सिकेका कुरा बताउँदै कार्यसमिति सदस्य मञ्जु पौडेलले धेरै कुरा सिक्ने अवसर जुटेको आजको दिन आफ्नो जिन्दगीको सबैभन्दा महत्त्वपूर्णमध्ये एक रहेको बताइन् । अर्का प्रशिक्षार्थी कृष्ण खनालले प्रशिक्षकले संस्थागत तथा व्यवसायिक प्रगतिका लागि के कस्ता गतिविधि गर्ने भन्नेबारे प्रभावकारी सिकाइ प्राप्त भएको बताउँदै समयसमयमा कपिलवस्तु फोटोग्राफर संघले यस्तै उपलब्धिमूलक तालिमको आयोजना गर्ने विश्वास व्यक्त गरे ।

तालिमका प्रमुख प्रशिक्षक दलबहादुर गुरुङ तथा प्रशिक्षक कृष्ण गाउँलेले संस्था सञ्चालन र व्यवस्थापन, कार्ययोजना निर्माण र कार्यान्वयन, बैठक सञ्चालन तथा माइन्यूट लेखन शिल्प विषयमा आफ्नो प्रस्तुति दिएका थिए । संघका अध्यक्ष रामचन्द्र बेल्बासेले तालिममा सिकेका कुरा आजबाटै व्यवहारमा कार्यान्वयनमा जाने बाताउँदै प्रशिक्षक, अतिथि तथा सहभागीलाई धन्यवाद ज्ञापन गरे । संघका सचिव कर्णबहादुर तिवारी ९कुमार० ले सञ्चालन गरेका थिए । तालिममा कपिलवस्तु जिल्लाका ३८ जना फोटोग्राफरको सार्थक सहभागीता थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।