ताजा अपडेट »

बुटवल क्याम्पस प्रमुखको राजिनामा: पृष्ठभुमिको नालिबेली !

शनिबार, २६ साउन २०८१, २० : २१
0.99K Shares
शनिबार, २६ साउन २०८१
0.99K Shares

सागर बेल्बासे / केही दिनदेखि बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनहरूको विवाद चर्किएको र यसैबीच क्याम्पसका क्याम्पस प्रमुखको राजिनामा आएको छ । स्वास्थ्य अवस्थाको कारण देखाउँदै क्याम्पस प्रमुखको राजीनामा आएको भए पनि राजीनामाको पछाडीको अन्तर्वस्तु अर्कै छ । यो लेखमा क्याम्पस प्रमुखको राजीनामा आउने गरि त्यस्तो घटना के भयो, घटनाको शुरुको बिन्दु के हो भन्ने विषयमा मैले मेरो बिचार राख्ने र विश्लेषण गर्ने कोसिस गर्नेछु । 

त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रमलाई विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपि ओलिले विश्वविद्यालय सभा(सिनेट)मा प्रस्तुत गर्नबाट रोकेपछि सत्ताधारी बाहेकका अन्य ७ विद्यार्थी सङ्गठनले आन्दोलनको घोषणा गरेका थिए । उक्त घोषणाअनुसार श्रावण २२ गते देशभरका त्रिविका आङ्गिक क्याम्पसहरूमा संयुक्त विरोध ब्यानर राख्ने कार्यक्रम तय भएको थियो ।

घोषित कार्यक्रमलाई सम्पन्न पार्नका लागि आन्दोलनरत विद्यार्थी सङ्गठनले मुलगेटमा ब्यानर टांस्दै गर्दा अखिलका साथीहरूले च्यातेर फालेछन्, वक्तव्यमा आएअनुसार स्ववियु उपसभापतिसङ्ग झडप हुँदा विप्लव क्रान्तिकारीका एकजना साथीमाथी हातपात भएछ । त्यसै विषयलाई लिएर संयुक्त विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाउने कार्य गर्दछ, हातपात भएका साथीसङ्ग स्ववियु उपसभापतिले माफी माग्नुपर्ने भन्दै । विवादले उग्ररूप लिएका कारणहरू यिनै थिए ।

केही महिना अघि संयुक्त विद्यार्थी सङ्गठन, स्ववियु र क्याम्पस प्रशासनका बीचमा 'कुनै पनि सङ्गठनले आफ्नो ब्यानर क्याम्पसमा नराख्ने' भन्ने एउटा समझदारी बनेको रहेछ । जब आन्दोलनरत विद्यार्थी सङ्गठनले मुल गेटमा ब्यानर झुण्ड्याउन खोजे, स्ववियु उपसभापति लगायत अखिलका साथीहरूले त्यही सम्झौतालाई टेकेर ब्यानर च्यातेको तर्क दिएका थिए । तर प्रश्न उठ्छ, के अब कुनै पनि सङ्घसङ्गठनले आफ्ना कुनै पनि माग राख्न नपाओस् भनेर माथी ब्यानर राख्न नपाउने सम्झौता गरिएको हो त ? के अब विद्यार्थी सङ्गठनले क्याम्पसभित्र आफ्ना कुनै पनि मुद्दा उठाउन पाउने छैनन् ?

एकैछिनका लागि माथी किन क्याम्पसमा कुनै सङ्गठनले ब्यानर नराख्ने सहमति गर्नुपर्‍यो त्यो पक्षलाई पनि हेरौं । केही समयअघि अखिलले मुल गेटमा आफ्नो प्रचार गर्दै ब्यानर राखेपछि अरूले पनि त्यसै गर्न खोज्दा विवाद चर्कियो । त्यतिबेला प्रशासन र स्ववियुले पहलकदमी लिएर विद्यार्थी सङ्गठनले त्यस्ता प्रकारका ब्यानर आगामी दिनमा नराख्ने भन्ने निर्णय भयो । तर, त्यतिबेका त्यो सम्झौतामा शान्तिपूर्ण आन्दोलन गर्न हुने कि नहुने भन्ने विषयमा केही बोलेको जस्तो मलाई लाग्दैन । सांकेतिक रूपमा आन्दोलनका ब्यानर राख्न हुने कि नहुने भन्ने बिषयमा केही निर्णय भएको जस्तो मलाई लाग्दैन ।

यदि कुनै सङ्गठनले आफ्ना मागहरू राखेर शान्तिपूर्ण आन्दोलन गर्नै नपाउने गरि निर्णय भएको रहेछ भने त्यो लोकतान्त्रिक पद्धतिको बर्खिलाप छ, त्यो निर्णय तुरुन्त सच्याउनुपर्छ । विद्यार्थी आन्दोलन सधैको प्रतिपक्ष आन्दोलन हो । क्याम्पसका विद्यार्थी सङ्गठनकै कारणले सरकारी कलेजहरूले महङ्गो शुल्क असुल्न सक्दैनन् । विद्यार्थी समाजको सबैभन्दा गतिशील र उर्जाशील युवा वर्ग हो । त्यो उर्जाशिल युवा नै कुनै अन्यायको विरुद्धमा सबैभन्दा छिटो बोल्ने ल्याकत राख्छ, हिम्मत गर्छ । अनि त्यही उर्जाशील युवालाई आन्दोलन गर्न रोक्न खोज्ने कस्तो निर्णय ? सहि दिशा दिने हो भने विद्यार्थी आन्दोलनले केके गर्न सक्छ भन्ने उदाहरण भर्खरै बङ्गलादेशमा शेख हसिना नेतृत्वको बहुमत पार्टीको सत्ता ढलेकोबाट पनि देख्न सकिन्छ ।

बुटवल क्याम्पसमै सहिद भएका देविलाल पौडेलहरू पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध विद्यार्थी आन्दोलनलाई जुरुक्क उचाल्ने गर्थे । पञ्चायत ढाल्न, गणतन्त्र स्थापना गर्न र आजको जस्तो वाक स्वतन्त्रता हासिल गर्न सबैभन्दा ठूलो देन कसको रह्यो, विद्यार्थी आन्दोलनको रह्यो । अनि त्यही विद्यार्थी आन्दोलनलाई रोक्न खोज्ने कस्तो पश्चगमन खालको निर्णय ? जसले विद्यार्थी सङ्गठनलाई भन्छ, " जाउ तिमीले यहाँ शान्तिपूर्ण आन्दोलन पनि नगर, आफ्ना माग नराख र तिम्रा सांकेतिक आन्दोलनका ब्यानरहरू विद्यार्थीले नदेख्ने गरेर अन्यत्रै लुकाएर आउ " ।

यदि साच्चै यस्तै निर्णय भएको भए यो निर्णयले क्याम्पस प्रशासनलाई कति निन्द्रा लागेको होला, राज्यसत्ता कति खुसी भएको होला र माफियाहरूलाई कति आनन्द मिलेको होला ? तर मलाई लाग्छ, त्यो सम्झौताको आशय विद्यार्थी आन्दोलनलाई रोक्ने नियत कदापी थिएन । यदि कुनै पनि प्रकारको ब्यानर क्याम्पस हातामा राख्नै नहुने भन्ने निर्णय हो भने त्यो निर्णय विद्यार्थी सङ्गठनका लागि आत्मघाती निर्णय हो, विद्यार्थी सङ्गठन गम्भीर रूपले चुकेका हुन् ।

अर्को कोणबाट पनि ब्यानर नराख्ने सम्झौतालाई हेरौं । मानौं कुनै पनि आन्दोलनका वा जुनसुकै प्रकारका ब्यानरहरू क्याम्पसमा वा गेटमा राख्न नपाउने निर्णय भएको थियो । त्यस्तो अवस्थामा आफै बसेर गरेको निर्णयका विरुद्ध संयुक्त विद्यार्थीले क्याम्पसको मुल गेटमा ब्यानर राखेर गल्ती गरेका हुन् । क्याम्पसको मुल गेटमा बिरोधको ब्यानर नराखेर कतै अन्यत्र राख्नुपर्थ्यो । स्वभाविक प्रश्न के छ भने "संयुक्त विद्यार्थीले गल्ती गरेको अवस्थामा त्यसको ब्यानर हटाउने कसले हो" ? पक्कै पनि क्याम्पस प्रशासनले वा आन्दोलनरत सङ्गठनसङ्ग छलफल गरेर स्ववियुले ।

यदि ब्यानर अन्यत्रै राखिन्थ्यो वा यदि ब्यानर राखेर आन्दोलनरत विद्यार्थी सङ्गठन त्यहाँबाट हिड्थे अनि क्याम्पस प्रशासन वा अरू जुनसुकैले त्यो ब्यानर हटाएको हुन्थ्यो भने क्याम्पसमा यति धेरै लफडा हुने नै थिएन । तर स्ववियु उपसभापति लगायतका अखिलका साथीहरूले आन्दोलनमा हस्तक्षेप गर्न आइपुग्छन् र ब्यानर च्यात्ने तथा बिप्लव क्रान्तिकारीका साथीमाथी हातपात गर्छन् । कुनै एउटा सङ्गठनले राखेको ब्यानरलाई अर्को सङ्गठनले च्यात्छ भने त्यो मण्डलेतन्त्र नभए अरू के हो ? क्याम्पस प्रशासनले विद्यार्थी सङ्गठनलाई बोलाउने थियो, पहिला ब्यानर नराख्ने निर्णय भएको भन्ने कुरा सुनाउँथ्यो र ब्यानर हटाउँथ्यो । तर गल्तीमाथी गल्ती थपिदै गए ।

क्याम्पस प्रशासनले यी साथीहरूको संरक्षण गरेको र कुनै अपनत्व नलिएको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाउने निर्णय गर्छन् । मलाई लाग्छ, संयुक्त विद्यार्थी सङ्गठनले गरेको गल्ती यतिका मामिलामा खासै सम्बन्धित नभएको क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाउने निर्णयमा गरेको थियो । यदि स्ववियु उपसभापतिले हस्तक्षेप गरेको भन्ने लागेको भए स्ववियु कार्यकक्षमा ताला लगाउनुपर्थ्यो वा स्ववियुसङ्ग छलफल गर्नुपर्थ्यो । तर संयुक्त विद्यार्थी आन्दोलनले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाउने निर्णय गर्‍यो र लगायो ।

ताला लागेपछी अब यहाँ अपनत्व लिने कसले हो ? अखिलले ? ताला खोल्ने शैली के हो ? फोड्ने ? पक्कै पनि क्याम्पस प्रशासनले आन्दोलनरत विद्यार्थी सङ्गठनसङ्ग छलफल गरेर त्यो ताला खोल्ने वातावरण सिर्जना गर्नुपर्थ्यो । तर, बीचमा अखिल आइपुग्छ र सामाजिक सञ्जालमा एउटा सबैभन्दा क्रुर र अपमानजनक दृश्य देखिन्छ ।  त्यो दृश्य थियो, " ५ ओटा जुत्तासहितका पैतलाको बीचमा संयुक्त विद्यार्थीले लगाएर फोडिएको ताला "। आफुलाई अखिलका कार्यकर्ता भनेर चिनाउने केही विद्यार्थीहरूले संयुक्त विद्यार्थीले लगाएको ताला फोड्छन् र त्यो दृश्य सहित फोरिएको तालालाई आफ्ना खुट्टाको बीचमा राखेर खिचेका फोटो फेसबुकमा राख्छन् ।

विद्यार्थी आन्दोलन र लोकतन्त्रमा विश्वास राख्नेहरूका लागि योभन्दा ठूलो अपमान के हुन सक्छ ? अखिलका बौद्धिक साथीहरूले के यो दृश्य नदेखेका होलान् त वा देखेर पनि केही गर्न सक्दैनन् त ? कुनैबेला विद्यार्थी आन्दोलनमा जोडिएकाहरूले यो दृश्यलाई कसरी हेरेका होलान् ? यो हर्कत हदैसम्मको भ्रत्सनायोग्य र खेदजनक छ, जति नै आलोचना गरे पनि यस्तो खाले हर्कतले विद्यार्थी आन्दोलनको ठूलो अपमान गरेको छ । केही समय अगाडि कर्मचारीहरूको आन्दोलन थियो । केन्द्रीय कार्यक्रमअनुसार कर्मचारीले बिरोधसहितको कालो ब्यानर क्याम्पसमा टांसेका थिए तर त्यो टांसेको ब्यानरलाई अखिलका केही साथीहरूले मैदानमा ल्याएर जलाएका थिए ।

किन अखिलले अरूको आन्दोलनको, अरूको मागको अपमान गर्ने गरेको छ ? एउटा कारण के पनि हुन सक्छ भने अहिलेको आम युवामा यसै पनि अध्ययनको कमि छ, त्यसमाथि राजनैतिक वा शैक्षिक आन्दोलनमा थोरैभन्दा थोरै सहभागी हुने हुनाले त्यो प्रकारको प्रशिक्षणको अभाव खट्किएको छ । पक्कै पनि अखिल आन्दोलनले यस्ता हर्कतलाई बेलैमा ठेगान लगाउनेछ र लोकतन्त्रको सम्मान गर्नेछ, जिवन्त राख्नेछ ।

क्याम्पसमा बिहानैदेखि भिड थियो । त्यसैबीचको एउटा तस्विर फेसबुकमार्फत् मैले प्राप्त गरें । जहाँ स्नातक चौथो बर्षमा पढ्दै गरेका 'अनिल थापा'लाई अखिलका एकजनाले घाटिमा छोपेका हुन्छन् भने अरूले औंला ठड्याएर घेरेका देखिन्छन् । मैले जानेअनुसार उनी अत्यन्तै सोझा, अनुशासित र नियमित विद्यार्थी हुन् । उनलाई एक्ला पारेर हातपात गर्ने को हुन् ती ? के निहुँमा हातपात गरेका थिए ? ती हातपात गर्ने गुण्डा नभए अरू को हुन् ? उनीहरूले विद्यार्थीको प्रतिनिधित्व कसरी गर्छन् ? केही गम्भीर प्रश्न उब्जेका छन् ।

एउटा कुरा के सत्य हो भने यस्ता गुण्डाहरूलाई पालेर विद्यार्थी आन्दोलन अगाडि बढ्न सक्दैन र सहि दिशा लिन सक्दैन । झन क्याम्पस त बन्दैबन्दैन । यसैबीचमा प्रशासनले ब्यानर च्यात्ने, ताला फोर्नेहरूलाई संरक्षण गरेको र विवाद सुल्झाउन वास्ता नगरेको भन्दै आन्दोलनरत पक्षले प्रमुखको कार्यकक्षमा तोडफोड गरेका हुन्छन्, जुन आन्दोलनरत पक्षको अर्को गम्भीर गल्ति ठहरिन आउँछ । यस्ता हर्कतले पनि विद्यार्थी आन्दोलनप्रति विद्यार्थीमा बितृष्णा फैलाइदिन्छ । के त्यहाँ भौतिक आक्रमण गर्नैपर्ने बाहेक अर्को विकल्प थिएन त ? क्याम्पस प्रमुख आफ्नो कार्यकक्षमा सहभागी नभएपछि आन्दोलनरत पक्षले अरू विकल्पहरू खोज्नुपर्थ्यो । गम्भीर गल्ती गर्‍यो । तर, एउटा कुरा हामीले हेक्का राख्नुपर्छ, विद्यार्थी आन्दोलन वा कुनै पनि आन्दोलन हिसाब गरेर अगाडि बढ्दैन । 

सामाजिक सञ्जालमा 'निजिलाई पोस्नको लागि बहुमुखी क्याम्पसमा लफडा गरियो' भनेर हल्ला फैलाइएको छ । आखिर कसले त्यस्तो लफडा गरेको हो ? आन्दोलनरत पक्षले हो कि अखिल पक्षले वा स्वयं क्याम्पस प्रशासनले ? मलाई लाग्छ, यो केवल हल्ला हो । सानो इस्युलाई समयमै ब्यवस्थापन गर्न नसक्नुको परिणाम हो । सबै टिमले सानोसानो गल्ती गर्दै नआएको भए यो सबै हुने थिएन । त्रिभुवन विश्वविद्यालय र विद्यार्थीसङ्ग प्रत्यक्ष सम्बन्ध राख्ने विश्वविद्यालयको 'नीति तथा कार्यक्रम' लाई केपि ओलिले समयमै पारित गर्न दिएको भए यो आन्दोलन उठ्ने थिएन । आन्दोलनको उठान बिन्दु नै त्यही हो ।

तथापी अहिलेसम्म नीति तथा कार्यक्रम पारित भैसकेको छ । सत्ताबाट भर्खरै बाहिरिएको क्रान्तिकारीलाई पनि इस्यु चाहिएको थियो । तर विवाद र लफडाको जड के हो ? त्यसलाई नबुझी एकोहोरो कसैमाथि आरोप- प्रत्यारोप गर्न ठिक हुन्न । यस्ता हल्ला गर्ने र विद्यार्थी आन्दोलनलाई दबाउन खोज्ने गर्दा झन धेरै विवाद चर्किन्छ । तसर्थ यस्ता प्रकारका विद्यार्थी आन्दोलनलाई हामीले निजि विद्यालयलाई पोस्नका लागि उठाइएको भन्दै विद्यार्थी आन्दोलनको अपमान गर्न हुँदैन । विद्यार्थी आन्दोलन संवेदनशील बिषय हो ।

उता क्याम्पस प्रशासन, स्ववियु र आन्दोलनरत विद्यार्थी सङ्गठनका बीचमा छलफल चलिरहेको थियो । यता क्याम्पसमा बिहानैदेखि प्रहरीको टिम दलबलसहित सहभागी थियो । क्याम्पसमा प्रहरीलाई कसले बोलायो ? कलम र बन्दुक एकै ठाउँ रहन सक्दैनन् भन्ने विद्यार्थी आन्दोलनलाई दबाउन क्याम्पसमा प्रहरीको नाङ्गो नाच हुने गरेर प्रहरीलाई परिचालन गरेको कसले हो ? बङ्गलादेशको विद्यार्थी विद्रोहदेखी नेपालको राज्यसत्ता आत्तिएको त होइन ? यदि आत्तिएको हो भने त राम्रै भयो । तर क्याम्पसमा भएको प्रहरी प्रशासनको नाङ्गो नाचले क्याम्पस प्रशासनमा कालो दाग लगाएर गएको छ ।

त्यसपश्चात भित्र समझदारी भएर बाहिर निस्केपछि क्रान्तिकारीका साथीले आन्दोलन सम्पन्न भएको घोषणा गर्नका लागि कोण सभा गर्दै गर्दा अखिलका साथीले पुनः हस्तक्षेप गर्न खोज्दा र क्याम्पसमा कुनै पनि आन्दोलन गर्न नपाइने भन्ने सम्झौता भएको भन्ने कुरा क्याम्पस प्रशासनले भन्न खोज्दा नेविसंघका केन्द्रीय सदस्यले त्यस्तो निर्णय लिखित हुनुपर्छ भनी माग गर्दा धक्कामुक्की हुन जान्छ । जसले गर्दा प्रहरीले जथाभावी डण्डा बर्षाउन थाल्छ । प्रहरीको यसप्रकारको अनियन्त्रित र अस्वभाविक हर्कतले छैठौंका प्रतिनिधि अनिल थापा, नेविसंघका केन्द्रीय सदस्य प्रदिप घर्ती लगायत अरू निर्दोष विद्यार्थी घाइते हुन पुग्छन् ।

यो हर्कतका विरुद्ध नेविसंघ आन्दोलनमा जान्छ । उसले लगाएको तालाबन्दीमा अखिलका साथीहरूले कुनै प्रतिक्रिया जनाएको देखिन्न । यदि साथीहरू सुध्रेर हो भने त ठिकै छ, नत्र सत्ताको डरले हो भने सत्ता बाहिर रहेका सङ्गठनको अस्तित्व स्विकार्न सक्नुपर्छ । यता नेविसंघले क्याम्पस प्रमुखले आफ्ना मागप्रति वास्ता नगरेको भन्दै प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्छ । नेविसंघले राजीनामा मागेको लिखित कतै नभए पनि मौखिक रूपले मागेको हुन्छ । अन्ततः केही समयपछि उपकुलपतिलाई सम्बोधन गर्दै आफ्नो स्वास्थ्य समस्याको कारण देखाउँदै क्याम्पस प्रमुखको राजीनामा आउँछ । 

क्याम्पस प्रशासनले यो सबै घटनाक्रमलाई कति वास्ता गर्‍यो ? वा क्याम्पस प्रमुख कसैको कोपभाजनमा पर्नुभयो ? यी बिषयहरूमा बहस हुँदै गर्छन् । लोकतान्त्रिक प्रणालीमा कसैसङ्ग फरक मत हुनु, कतिपय कार्यशैलीसङ्ग बिमती हुनु स्वभाविक हो । खिमानन्द सर क्याम्पस प्रमुख हुँदा उहाँको कार्यकालमा कतिपय ऐतिहासिक कार्यहरू सम्पन्न भएका छन् ।

सम्भवत बुटवल बहुमुखी क्याम्पसमा आफ्नो सम्पूर्ण कार्यकाल पूरा गर्ने क्याम्पस प्रमुख उहाँ मात्र एक्लो होला । उहाँकै कार्यकालमा लामो समयदेखि रोकिएको स्ववियु चुनाव सम्पन्न हुन सकेको छ । विद्यार्थीको अगाडि सरल रूपमा प्रस्तुत हुने र काम गर्ने उहाँको अर्को गुण रह्यो । यदि राजिनामा स्वीकृत भयो भने उहाँलाई आगामी दिनको लागी शुभकामना छ । राजीनामा स्वीकृत नभएको अवस्थामा उहाँसङ्ग फेरि लड्न, मिल्न र समन्वय गर्न पाइने नै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।