ताजा अपडेट »
यूकेमा हिंसात्मक घटना

यूकेमा दङ्गा र हिंसात्मक घटना फैलिनुका कारण के हुन्

शनिबार, २६ साउन २०८१, १४ : ३०
62 Shares
शनिबार, २६ साउन २०८१
62 Shares

संयुक्त अधिराज्य (यूके)का विभिन्न सहरहरूमा गत साता दङ्गा फैलियो। उत्तरपश्चिम इङ्ग्ल्यान्डमा तीन बालिकाहरूको ज्यान जाने गरी छुरा प्रहार भएको घटनापछि हिंसाले उग्र रूप लियो। समुद्री किनारमा अवस्थित सानो नगर साउथपोर्ट शोकमग्न भएकै बेला चरम दक्षिणपन्थी समूहहरूले सो घटनालाई आफ्ना कट्टरपन्थी विचारहरू फैलाउन र गैरश्वेत मानिसहरूलाई डरधम्की दिन प्रयोग गरिरहेका छन्।

मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने उद्देश्यका साथ उक्त नगरमा आयोजित शान्तिपूर्ण जमघटहरू बिस्तारै हिंसा र तोडफोडतर्फ उन्मुख हुन थालेका छन्। असन्तोष बढ्दै जाँदा दङ्गाकारीहरूले प्रहरीमाथि ढुङ्गाका साथै धुँवा उत्पन्न गर्ने बम र अन्य वस्तुहरू प्रहार गर्न थाले। उनीहरूले विभिन्न होटलहरूमा राखिएका शरणार्थी आवेदकहरूलाई पनि निसाना बनाउन थालेका छन्। त्यस्तो हिंसात्मक गतिविधि त्यहाँबाट हल, लिभरपुल, म्यान्चेस्टर, ब्ल्याकपुल र बेल्फास्टमा समेत फैलिएको छ।

यूकेभरि जसो नै दङ्गा र हिंसात्मक घटनाहरू हुन थालेपछि नेपाललगायत भारत, नाइजिरिया र मलेशियाजस्ता देशहरूले यूकेको यात्रा गर्न लागेका र यूकेमा नै रहेका आआफ्ना नागरिकका लागि सुरक्षा निर्देशनहरू जारी गरेका छन्। ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरले दङ्गाका घटनाहरूलाई “चरम दक्षिणपन्थी अपराधीहरूको काम” भन्दै डाउनिङ स्ट्रीटमा उपस्थित पत्रकारहरूलाई सम्बोधन गर्दै “त्यस्ता हिंसात्मक गतिविधिहरूको औचित्य पुष्टि गर्न कुनै पनि हालतमा नसकिने” बताएका थिए।

Untitled-1

अनलाइन जानकारीहरूको तथ्यजाँच गर्ने र मिथ्या सूचनाको परीक्षण गर्ने बीबीसीको एकाइ बीबीसी भेरिफाईको विश्लेषणअनुसार साउथपोर्ट घटनाप्रति विरोधप्रदर्शन गर्न सडकमा भेला भएका वा सामाजिक सञ्जालमा धारणा व्यक्त गरेका सबै नै दक्षिणपन्थी विचारका, दङ्गाको समर्थन गर्ने वा चरम दक्षिणपन्थी समूहहरूसँग सम्बन्ध भएकाहरू मात्र छैनन्। दङ्गाका घटनाहरूमा त्यस्ता मानिसहरू पनि छन् जो हिंसात्मक अपराधप्रति चिन्तित छन् वा त्यस्ता मानिसहरू पनि छन् जो साउथपोर्टको घटनामा गैरकानुनी आप्रवासीहरूको संलग्नता छ भन्ने मिथ्या सूचनाको भ्रममा परेका छन्।

भ्रामक सूचना:

साउथपोर्टमा छुरा प्रहारको घटनाबारे समाचार बाहिर आउनेबित्तिकै उक्त घटनामा संलग्न आक्रमणकारीको पहिचानबारे भ्रमपूर्ण जानकारी समाजिक सञ्जालमा डढेलो जसरी फैलिएको थियो। कम उमेरका कारण प्रहरीले ती १७ वर्षे किशोरको नाम उल्लेख नगरी उनीविरुद्ध मुद्दा दर्ता गरिएको जनाएको थियो। प्रहरीले सर्वसाधारणलाई यस विषयमा कुनै अनुमान नगर्न अनुरोध गरेको थियो।

तर चरम दक्षिणपन्थी सोशल मिडिया इन्फ्लूएन्सरहरूले ती आक्रमणकारी यूकेमा शरणका लागि आवेदन दिएका एकजना मुस्लिम भएको र उनी डुङ्गा चढेर यूकेमा आएका थिए भन्ने हल्ला फैलाएका थिए। सामाजिक सञ्जाल 'एक्स'मा सक्रिय त्यस्ता एक इन्फ्लूएन्सरको सम्बन्ध चरम दक्षिणपन्थी समूह 'इङ्ग्लिश डिफेन्स लीग'का संस्थापकसँग देखिएको छ।

समाजिक सञ्जालका मञ्चहरूमा मिथ्या दाबीको ओइरो नै लाग्न थाल्यो र धेरै मानिसहरूसम्म पुग्न थाल्यो। बीबीसी भेरिफाईका अनुसार चरम दक्षिणपन्थी समूहहरू वा व्यक्तिहरूसँग कुनै सम्बन्ध नभएका सर्वसाधारण मानिसहरूसम्म पनि त्यस्ता झुटा विवरणहरू पुगेका छन्। “यस्तो हल्ला फैलाउनमा केवल एउटा शक्ति वा तत्त्व जिम्मेवार छैन,” जो मल्हल भन्छन्। उनी चरमपन्थीविरोधी अनुसन्धान समूह ‘होप नट हेट’ का अनुसन्धान प्रमुख हुन्।

Untitled-2

“वर्तमान समयमा चरम दक्षिणपन्थीहरूको प्रवृत्ति यस्तै देखिएको छ। अनलाइन गतिविधिमा संलग्न मानिसहरूको ठूलो सङ्ख्या छ। तर उनीहरू सदस्य बन्नुपर्ने संरचनामा हुँदैनन्, उनीहरू कुनै परिचयपत्र लगाउँदैनन्। अझ उनीहरूको कुनै औपचारिक नेता पनि छैन। तर उनी सोशल मिडिया इन्फ्लुएन्सरहरूबाट निर्देशित हुन्छन्। यो कुनै परम्परागत संरचना भएको सङ्गठनभन्दा पनि माछाहरूको बथानजस्तो देखिन्छ।

जातिवाद र आप्रवासन
यूकेमा गत जुलाईमा भएको संसदीय निर्वाचनले आप्रवासन र साना डुङ्गाहरू चढेर यूके प्रवेश गर्ने आप्रवासीहरूको मुद्दालाई फेरि चर्चामा ल्याइदिएको छ। यूकेको ब्रेक्जिट अभियानका एक अग्रणी नेता नाइजल फराज पनि त्यस क्रममा मूलधारको राजनीतिमा फर्केर आए र उनी रिफर्म यूके नामक राजनीतिक पार्टीका नेता पनि बने। उक्त पार्टीले “अनावश्यक” आप्रवासीहरू भित्र्याउने कार्य रोक्नुपर्ने माग गर्दै आएको छ।

हालका दङ्गाबारे प्रतिक्रिया व्यक्त गर्दै उनले छन्, ”ठूलो सङ्ख्यामा भइरहेको अनियन्त्रित आप्रवासनको परिणामस्वरूप हाम्रा समुदायहरूमा विभाजन हुन थालेको हाम्रा बहुसङ्ख्यक मानिसले देखेका छन्।” यूकेमा अहिलेको कानुनी र गैरकानुनी आप्रवासन दुवैको मात्राप्रति सर्वसाधारण मानिसहरूमाझ चिन्ता व्याप्त रहेको विभिन्न प्रमाणहरूले देखाएका छन्।

गत फेब्रुअरी महिनामा इप्सोस सर्वेक्षणले ५२% मानिसहरू हालको आप्रवासन स्तरलाई एकदमै उच्च रहेको ठान्छन् भन्ने देखाएको थियो। दुई वर्षअघि त्यस्तो धारणा राख्ने मानिसहरूको सङ्ख्या ४२% थियो।

तर इप्सोस सर्वेक्षणले मानिसहरू साधारणतया आप्रवासनको प्रभावप्रति नकारात्मकभन्दा सकारात्मक नै बढी भएको देखाएको छ। सन् २०२२ यता त्यस्तो मतबीचको दूरी भने साँघुरिँदै गएको देखिन्छ। अरू चरमपन्थी समूहहरूले पनि गैरकानुनी आप्रवासीहरूलाई सामूहिक निष्कासन गरिनुपर्ने माग गरिरहेका छन्।

Untitled-7

'द इन्डिपेन्डन्ट' पत्रिकाकी भूतपूर्व घरेलु मामिला सम्पादक तथा 'प्लटर्सः द यूके टेरोरिस्ट्स हु फेल्ड' नामक पुस्तककी लेखिका लिजी डिअर्डन भन्छिन्, “चरम दक्षिणपन्थीहरूलाई ठूलो शक्ति बन्नबाट निरन्तर रूपमा रोकिरहेको कारण भनेको उनीहरूबीचकै आपसी झगडा रहँदै आएको थियो, तर साउथपोर्टको घटनाले तिनीहरूलाई वास्तवै एकजुट तुल्याइदिएको छ।”

नस्लवादी आक्रमणहरूमा इङ्ग्ल्यान्डका केही भागहरूमा रहेका मस्जिदहरूलाई निसाना बनाइएको छ र केही स्थानमा सुरक्षाका निम्ति विशेष प्रहरी बलको उपस्थिति नै आवश्यक हुन पुगेको थियो। शरणार्थीको आवेदन दिएका ‘असाइलम सीकर’हरूलाई राखिएको होटलहरू पनि नस्लवादी र आप्रवासीविरोधी आक्रमणका केन्द्र बन्न पुगेका छन्।

इङ्ग्ल्यान्डको एक दक्षिणी नगर अल्डरशटमा बीबीसीका पत्रकार प्याडी ओ’कोनलले त्यहाँ ‘असाइलम सीकर’हरूलाई राखिएको एउटा होटलबाहिर ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरू भेला भएको देखेका थिए। 

“आवाससम्बन्धी समस्या र आप्रवासीहरूको समाजिक घुलनका समस्याहरूलाई उजागर गर्ने उद्देश्यसहित फेसबुकमार्फत् त्यहाँ एक शान्तिपूर्ण विरोधप्रदर्शनको आह्वान गरिएको थियो तर त्यसले निकै नराम्रो रूप लिन पुग्यो,” उनले बीबीसीको न्यूजकास्ट पड्कास्टमा कुरा गर्दै बताए।

‘रमाइलोको लागि लुटपाट’
केही विरोध प्रदर्शनकारीहरूले दङ्गाको घटनाको बेला मुख्य बजारका पसलहरूमा लुटपाट गर्ने जस्ता आपराधिक गतिविधि पनि गर्ने गरेका छन्। उत्तरपूर्वी इङ्ग्ल्यान्डको एउटा सहर सन्डरलन्डमा ग्रेग्स बेकरीको एउटा पसल र न्याटवेस्ट ब्याङ्कको एउटा शाखामा प्रवेश गरेर तोडफोड भएको थियो। त्यसै गरी उत्तरपूर्वमा रहेको ब्ल्याकपुलमा एउटा किनमेल केन्द्रमा भएको लुटपाटका सम्बन्धमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

उत्तरपूर्वको हल सहरमा पनि एक बीबीसी पत्रकारले लुटपाटका घटनाहरू देखेका थिए। त्यहाँ कतिपय पसलहरूमा तोडफोड गरिएको र एउटामा आगजनी गरिएको, सडकमा पसलका सामानहरू ल्याएर आगो लगाइएको जस्ता घटनाहरू भएका उनले बताएका छन्। सहरको केन्द्रस्थित पसलहरू चाँडै नै बन्द गरिएका थिए र सार्वजनिक यातायात पनि प्रभावित भएका थिए।

Untitled-8

शनिवार सामाजिक सञ्जालको वेबसाइट 'एक्स'मा सन्देश लेख्दै सन्डरलन्ड सिटी काउन्सिलले भनेको छः ”सन्डरलन्ड मिलनसार र मैत्रीपूर्ण सहरको रूपमा परिचित छ र आज रातिका घटनाहरू यो गौरवपूर्ण सहर र यहाँका बासिन्दाको परिचय होइन।”  “हामी सदा झैँ एकजुट भएर हाम्रा समुदायमा पुनः शान्ति कायम गर्ने नै छौँ।”

दक्षिण बेल्फास्टमा एउटा क्याफे सञ्चालन गरिरहेका मोहम्मद इद्रिसका अनुसार शनिवार त्यहाँ भएको हिंसात्मक विरोधप्रदर्शनहरूका क्रममा उनको पसलमा आगजनी भयो। उनी फेरि त्यो पसल खोल्ने पक्षमा छैनन्।

बीबीसी न्यूज एनआईसँग कुरा गर्दै इद्रिसले आफ्नो व्यापार व्यवसायमा पहिला पनि हमला भएको बताए। गत वर्ष मात्रै स्यान्डी रोमा अवस्थित उनको पसललाई निसानामा परेको थियो। “त्यस बेला पनि अहिलेको यो क्याफेजस्तै मेरो कम्प्युटर पसल पनि पूर्णरूपमा ध्वस्त भएको थियो। यो क्याफे मेरो आशाको किरण थियो, यो स्थान समुदायका लागि थियो, तर अब कुनै आशा छैन।”

स्थानीय सेवा सुविधामा कटौती

केही समूहहरूले वर्षौँदेखिको सरकारी मितव्ययितासम्बन्धी नीति र स्थानीय सेवाहरूमा गरिएको खर्च कटौतीका कदमहरूको असरहरूतर्फ पनि सङ्केत गरेका छन्। साउथपोर्टमा भएको प्रारम्भिक असन्तोषका घटनाहरूलगत्तै ‘होप नट हेट’ संस्थाले भनेको थियो : “विगत केही वर्षदेखि नै सामाजिक निकटताको अवस्था कमजोर बन्दै गइरहेको थियो जुन यसअघिका सरकारहरूको पालामा यस क्षेत्रमा गरिएको खर्च कटौती र यसलाई प्राथमिकतामा नराख्न चालिएका कदमहरूको परिणाम हो।"

उक्त संस्थाले भनेको छ, “नयाँ सरकारले बलियो आपसी सम्बन्ध भएका समुदायहरूलाई समर्थन गर्ने नयाँ रणनीतिको विकास गर्न र अहिले भएका जस्ता घटनाहरूप्रति कसरी प्रतिक्रिया जनाउने भन्ने निर्धारण गर्न आवश्यक छ।”

 

यूकेमा सन् २०१० देखि २०१९ सम्म कायम सरकारी मितव्ययिताका वर्षहरूमा तात्कालिक अर्थमन्त्री जोर्ज ओस्बोर्न र उनका उत्तराधिकारीहरूले परोपकारी कार्यक्रमहरू, आवास अनुदान र समाजिक सुरक्षाका विभिन्न कार्यक्रममा ३० अर्ब पाउन्डभन्दा बढी रकम कटौती गरेका थिए।

विज्ञहरूले सामाजिक र आर्थिक अस्थिरताले खास गरी युवाहरूलाई चरम दक्षिणपन्थी विचारधारातर्फ आकर्षित तुल्याउन सक्ने चेतावनी दिएका छन्। कोभिडले पारेको दीर्घकालीन प्रभावले पनि अवस्थालाई झन् जटिल तुल्याएको हुन सक्छ।

प्रतिआतङ्कवाद डिटेक्टिभ डेप्युटी सुपरिन्टेन्डन्ट ग्यारेथ रिस भन्छन्, “त्यस समयमा मानिसहरू अझ बढी एक्लिन पुगेका थिए। उनीहरूसँग एकआपसको सम्बन्धलाई बाँधेर राख्ने केन्द्रीय सामाजिक सञ्जालहरू रहेनन्। चरम दक्षिणपन्थी विचारधाराहरूलाई चुनौती दिन सक्ने खेलकुद, मनोरञ्जन, समाजिक सम्बन्ध, शिक्षक र अन्य पारिवारिक सम्बन्धहरू सबै नै कमजोर हुन पुगे।” #BBCNEPALI

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।