बुटवल । कुनै समय करिब ७ सय घर परिवार रहेको पाल्पाको साविक पालुङमैनादी-२ मा हाल ४५ घर छन् । त्यसमध्ये पनि साझ विहान बत्ती बल्ने घर १९ वटा मात्रै । गाउँमा सडक पुग्यो, विजुली बत्ती पुग्यो, बिकास बाक्लो हुँदै गयो तर, गाउँका बस्ती पातलो हुँदै गयो । खेतीयोग्य जमिनमा जँगल मौलाउन थाल्यो ।
बढ्दो बसाई सराईसँगै छिमेकीहरु शहर पस्न थाले, बाँजो जमिन थपिँदै गयो तर, गाउँका हेड सर जनक आचार्यलाई भने रित्तीँदै गएको बस्ती छाड्ने रहन जागेन । बरु सोही जमिनलाई हराभरा बनाएर गउँमै सम्भावना छ भन्ने उदाहरण दिन उनी सफल भए । हालको ठेगाना रिब्दीकोट गाउँपालिका-७ मैनादीका जनकको दैनिकी बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालय, बचेको समय बारीमा खुर्सानी, सुन्तला र तरकारी खेतीको रेखदेख हो । स्थानीय प्रभात माध्यमिक विद्यालयका प्राचार्य रहेका जनक समय मिल्नासाथ बारीमा पुगिहाल्छन् । स्कुलमा हुँदा भने खेतबारीको जिम्मेवारी उनकी श्रीमती सजिता ज्ञवालीले सम्हाल्छिन् । गाउँघरमै कुखुरापालन, गोलभेंडा खेती गर्दै आएका जनक र उनकी श्रीमती सजिता अहिले खुसार्नी खेतीका पनि ‘हेड सर’ भएका छन् । २० वर्षदेखि सामाजिक शिक्षा विषय अध्यापन गराउँदै आएका आचार्यले विद्यार्थीलाई मात्र होइन सिङ्गो समाजलाई उदाहरण पेश गर्न सफल भए ।
रित्तीँदै गएको गाउँमा खेतीपातिमै रमाउने उनको चाहना भए पनि जँगली जनावरहरु बाँदर, बँदेल लगायतका जीवजन्तु उनका लागि टाउको दुःखाइको विषय थियो । जे खेती गरे पनि बाँदर धपाउँदै हैरान, बँदेलले कति खेर आएर बाली स्वाहः पार्ने हो पत्तै नहुने । जँगली जनावरले आजित बनेका उनी नयाँ उपायको खोजीमा थिए । यस बीचमा उनले नेपालको पूर्वी जिल्लाहरुमा खुर्सानी खेती हुने गरेको र यसलाई जँगली जनावरबाट पनि बचाउन सजिलो हुने कुरा सुने । अब व्यवसायिक रुपमै अकबरे खुर्सानी खेती गर्ने उनले सोच बनाए । गाउँ छाडेर गएका छिमेकीहरुको खेत बारी समेत सदुपयोग गर्नेगरी उनले सल्लाह मागे । छिमेकीहरुले उनलाई बाँझो जमिन दिन सहजै स्वीकार गरे ।
अब भने खुर्सानी खेती बारे बुझ्न पनि हुने बीउको पनि जोहोका लागि उनी पूर्वी जिल्ला ईलाम पुगे । त्यहाँबाट उनले २ हजार रुपैयाँ केजीका हिसाबले कोषा बीउ खुर्सानी किनेर ल्याए । उत्पादन गरिसकेपछि बजार समस्या परेमा आफूहरुसँग सम्पर्क गर्न पूर्वकै एक कृषक मदन राई भन्ने व्यक्तिले उनलाई सल्ला दिए । यसले उनलाई थप हौसला मिल्यो । यसरी २०७८ सालको माघ महिनादेखि बीउका लागि नर्सरी उत्पादन सुरु गरेर उनले व्यवसायिक खुर्सानी उत्पादनमा केन्द्रीत भए । पहिलो वर्ष उनले १३५ रोपनी क्षेत्रफलमा खुर्सानी लगाए ।
व्यवसायिक उत्पादनमा लागेको पहिलो वर्ष नै आचार्यलाई राम्रो सफलता मिल्यो । करिब २५/२६ लाख खर्च गरेर सुरु गरेको अकबरे खेतीमा ४० लाखको उत्पादन बिक्री गर्न सफल भए । दोस्रो वर्ष भने पहिलो वर्ष जस्तो लगानी धेरै गर्न परेन फाइदा पनि करिब दोब्बर हुन पुग्यो । पहिलो वर्ष १३५ रोपनीमा खेती गरेका उनले दोस्रो वर्षदेखि भने यसको क्षेत्रफल घटाए । किनकी सबै जमिन खुर्सानीका लागि उपयुक्त थिएन, बाँकी जमिनमा धान खेती वा अन्य खेती गरेर हाल ५५ रोपनी क्षेत्रफलमा मात्रै उनले अकबरे लगाएका छन् ।
सुरुका वर्षमा आचार्यले प्रतिकेजी २५० लेखि ३५० का दरले बिचौलियालाई खुर्सानी बेचेका थिए । तर, दोस्रो वर्ष नै उनलाई बजार थप सहज हुने गरी रुपन्देहीको तिलोत्तमा-१५, पत्थरडाँडामा रहेको यशोदा फुड्सले सबै उत्पादन खरिद गरिदिने भयो । यशोदा फुड्सका लागि ठूलो परिमाणमा खुर्सानी आवश्यक पर्ने भएपछि उनले मात्रै उत्पादन गरेर माग पूरा गर्न सम्भव थिएन । त्यसैले उनले गाउँपालिकामा समेत प्रस्ताव गरेर अन्य कृषकहरुलाई पनि उत्पादनमा जोड्दै गए ।
अन्य कृषक पनि अकबरे खेतीमा जोडिएपछि उनले बिउको लागि किसानहरुलाई तयारी बियाँ प्रतिकिलो २५ हजार रुपैयाँ र सुकेको खुर्सानी प्रतिकिलो २ हजार ५ सय रुपैयाँमा बिक्री गर्ने गरेका छन् । उनले उत्पादन गरेको बीउलाई रिब्दिकोट गाउँपालिका, ग्रामीण आर्थिक विकास संघ तथा लमजुङ र कैलालीसम्मका किसानले खरिद गरेर लग्न थाले । यशोदा फुड्सले पिरो चाउचाउका लागि खुसार्नी खरिद गर्न थालेपछि हेड सर जनक मात्र होइन, पाल्पाको मदनपोखरा, रिब्दिकोट, बगनासकाली गाउँपालिका, माथागढी, तिनाउ गाउँपालिकामा पनि व्यावसायिक खुसार्नी खेती सुरु भयो । यसैगरी गुल्मी तथा अर्घाखाँचीसम्म अकबरे खेती फैलियो ।
जनकको सफल कृषि यात्राका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समेत सहायक बन्न पुग्यो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ कार्यालयमार्फत चक्लाबन्दी कार्यक्रम अन्तर्गत खुर्सानी खेतीमा आर्थिक तथा प्राविधिक सहयोग प्राप्त हुँदा आचार्यलाई थप सहज बन्यो ।
आचार्यले आफ्नो मात्रै नभई अन्य कृषकहरुको समेत उत्पादनलाई बजार पुर्याउन संकलन केन्द्र समेत सञ्चालन ल्याएका छन् । गतवर्ष मात्रै रिब्दीकोट गाउँपालिकाबाट ६५ टन खुर्सानी विक्री गरिएको उनी बताउँछन् । संकलन केन्द्रका लागि एउटा भाडाको गाडीसहित ड्राइभर र हिसाब किताबका लागि एक जना गरी दुई जनाले प्रत्येक्ष रोजगारी पाएका छन् । आचार्यको कृषि फर्म रेखदेखका लागि छुट्टै एक जना हेरालु रहेका छन् भने सिजन अनुसार खेतालाहरु प्रयोग गरेर खेतीमा सहयोग लिने गरेको उनी बताउँछन् । संकलन केन्द्रमा उत्पादन ल्याउने कृषकले न्यूनतम २२० देखि २५० रुपैयाँ प्रतिकेजीका दरले मुल्य पाउने गरेको आचार्यले बताए । रिब्दीकोटमा मात्रै हाल १२ सय रोपनी बढी क्षेत्रफलमा अकबरे खेती हुने गरेको उनी बताउँछन् ।
खुर्सानी खेतीमा पहिलो वर्ष लगानी केही बढी लागे पनि त्यसपछिका वर्षमा भने लगानी दर घट्दै जान्छ । एउटा बिरुवाले कम्तिमा २/३ वर्षसम्म उत्पादन दिने उनको अनुभव छ । पहिलो वर्ष प्रत्येक विरुवाबाट १ केजी तथा त्यसपछिका वर्षमा २ केजीसम्म उत्पादन हुने उनले बताए । यसरी उजाड बनेको गाउँलाई खुर्सानी खेतीले हराभरा बनाएका आचार्यले कृषिमा आत्मनिर्भर हुँदै गएपछि विद्यालयमा समेत विगत ४ वर्षदेखि बेतलबी सेवा प्रदान गर्दै आएका छन् । बुवा, आमा, श्रीमती र २ छोरासहित ६ जनाको उनको परिवार गाउँमै रमाएर बसेका छन् ।
खुर्सानी खेती मात्रै होइन आचार्यले यसअघि सुरु गरेको सुन्तला खेती पनि उस्तै रहर लाग्दो छ । गत वर्ष पनि १८ टन सुन्तला बँगैचामै आएर व्यापारीहरुले लगेको उनी बताउँछन् । २०७० सालदेखि व्यवसायिक रुपमा सुन्तला खेती थालेका उनीसँग हाल ४२८ वटा बोटले उत्पादन दिने गरेका छन् । ती बोटहरुबाट आकार अनुसार ४० देखि १५० केजीसम्म प्रत्येक वर्ष उत्पादन हुने गर्दछ । उनीसँग रहेका ३० वर्ष पूरानो बोटले समेत उत्पादन दिइरहेको उल्लेख गरे ।
आचार्यलाई लुम्बिनी प्रदेश सरकार कृषि विकास निर्देशनालयले समेत ४३ औं विश्व खाद्य दिवसको अवसरमा २०८० मा पुरस्कृत तथा सम्मान गरेको थियो ।
प्रतिक्रिया